चामलको मात्रै सुपथ मूल्य पसल

रुकुम पश्चिम — दसैं तिहारलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनको तयारी गरिएको छ । नेपाल खाद्य संस्थानको शाखा कार्यालयले सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरेको हो । 

झण्डै डेढ महिनासम्म उक्त पसल सञ्चालन गरिने जनाइएको छ । मुसीकोट नगरपालिका १, सल्लेस्थित शाखा कार्यालयमै सुपथ मूल्यको पसल सञ्चालन हुनेछ । केही दिनमै सुरु हुने सुपथ मूल्य पसल आगामी कात्तिक १७ गतेसम्म सञ्चालन हुनेछ । सुपथ मूल्य पसलबाट उपभोक्ताले चामल मात्रै पाउनेछन् । खाद्य संस्थानको शाखामा उपलब्ध चामलमा छुट दिइनेगरी पसल सञ्चालनको तयारी गरिएको हो ।


संस्थानका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले चामलमा मात्रै छुट दिनेगरी सुपथ मूल्य पसल सञ्चालनको तयारी भइरहेको बताए । उक्त पसलबाट चामल किन्ने उपभोक्ताले प्रतिकिलो ५ रुपैयाँ छुट पाउँनेछन् । प्रति क्विन्टल ५ सय रुपैयाँ छुट दिइने उनको भनाइ छ । संस्थानमा सोना मन्सुली र जिरा मसिना चामल उपलब्ध छ । अहिले सोना मन्सुली चामलको मूल्य प्रतिक्विन्टल ४ हजार ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । पसलबाट ४ हजार १ सयमा चामल बिक्री हुने जनाइएको छ । प्रतिक्विन्टल ५ हजार ७ सय मूल्य रहेको जिरा मसिनो चामल पसलमा ५ हजार २ सय रुपैयाँमा बिक्री हुनेछ ।


स्थानीयले चाडपर्वका लागि दाल, तेल, मासुका लागि खसीबोका भने पाउने छैनन् । संस्थानले यसअघि केही ठाउँमा सहकारीमार्फत सहुलियत दरमा चामल बिक्री गरिरहेको छ । सहकारीलाई निश्चित प्रतिशत कमिसन दिएर शाखा कार्यालयमा पाइने मूल्यमा विभिन्न ठाउँबाट खाद्यान्न बिक्री वितरण भइरहेको हो ।

प्रकाशित : आश्विन ३, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?