१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घाँसे मेलामा देउडा र नेउल्या

(टीकापुर) — वर्षायाम भएकाले जताततै हरियो छ । गाइगोरुलाई हरियो घाँसको समस्या हुँदैन । तर भदौ सकिएपछि हरियो हराउँदै जाने भएकाले हरियो घाँस पनि देखिन छाड्छ । गाइगोरुलाई मीठो खुवाउने पर्वका रुपमा अछामी समुदायमा घाँसे मेला मनाउने परम्परा छ । 

घाँसे मेलामा देउडा र नेउल्या

अघिपछि गोठालाले गाइगोरुलाई घाँस–पराल दिने भए पनि यो दिन घरका अन्य सदस्यले पनि गाइगोरुलाई मनपर्ने खालको घाँस खुवाउने चल रहेको स्थानीय एकिन्द्र तिमिल्सिनाले बताए । उनले भने, ‘अछामको गैरीटाँडमा ठूलो घाँसे मेला लाग्ने गरेको हो । बसाइसराइसँगै यहाँ पनि मेला लगाउने गरेका छन् ।’


हिन्दुले गाइलाई पुज्ने भएकाले धर्म कमाउन पनि वर्षको एक दिन घाँस हाल्नुपर्छ भन्ने मान्यताले घाँसे मेला मनाउने गरिएको तिमिल्सिनाले बताए । अछामबाट बसाइसराई गरेकाहरूको बाक्लो बस्ती रहेको टीकापुर नगरपालिका ८ मा पनि वर्षेनी घाँसे मेला लगाउने गरिएको छ । मेलामा स्थानीय जम्मा हुने र युवा युवतीले देउडा तथा नेउल्या खेल्ने गर्छन् । स्थानीय तहको निर्वाचन अघि गाउँले आफैले यो मेला लगाउँदै आएकोमा अहिले भने वडा नम्बर ८ ले मेलाको आयोजना गर्दै आएको छ । वडा अध्यक्ष दीर्घ ठकुल्लाले भने, ‘यो परम्परा हो । यसलाई जोगाउने राज्यको दायित्व सम्झेर औपचारिक रुपमा मेला आयोजना गर्दै आएका छौं ।’


मेलामा युवायुवती तथा बुढापाकाले आ–आफ्नो टिम बनाएर देउडा तथा नेउल्या खेल्ने भएकाले अर्को पुस्तामा यो गीत तथा संस्कृति हस्तान्तरणका लागि पनि वडाले वर्षेनी यो कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए । स्थानीय धनसिंह साउँदका अनुसार घाँसे मेला वर्षालाई विदाइ गर्ने पर्व जस्तै हो । उनले भने, ‘भदौपछि वर्षा सकिने भएकोले भदौको अन्तिम दिन यो मेला लाउने चलन छ । गाइगोरुले हरियो खान पाउछन् । युवायुवती देउडामा रमाउँछन् ।’

प्रकाशित : आश्विन २, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?