१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

फेसबुकले देखायो घर फर्किने बाटो

कञ्चनपुर — घर छाडेको १५ वर्ष भइसकेको थियो । कहिले पन्जाब, कहिले बरेली त कहिले दिल्ली । काम खोज्दै ठाउँ छोड्दै । यस्तैमा दिन बितिरहेका थिए । घर परिवार त उनले भुलिसकेका थिए । हुँदा–हुँदा घर फर्किन सक्ने अवस्था पनि रहेन । सानैमा घरबाट निस्केकाले उनमा घर फर्किन सक्ने आशा पनि थिएन । 

१२ वर्षमै घर छाडेर भारत हिँडेका कञ्चनपुरको वेदकोट नगरपालिका १, पिपलथलाका सन्तोष रोस्याराले एकदिन अचानक फेसबुकमा आफ्नै दाई हेमराजलाई भेटे । त्यही फेसबुकको भेटले उनलाई १५ वर्षपछि घर फर्किने बाटो देखायो । ‘मैले त घर फर्किने आशा मारिसकेको थिएँ, घर परिवारबारे सबैकुरा थाहा भए पनि एक्लै आउन सकिरहेको थिएन,’ सन्तोषले भने, ‘फेसबुकमा दाइसंग भेट नभएको भए सायद फर्किन सक्थेन होला ।’ घर आउने बाटो र तरिका थाहा नभएका कारण चाहेर पनि फर्किन नसकेको उनले सुनाए ।


सन्तोष ७ कक्षामा पढ्दै गर्दा स्कुल छाडेर घरबाट भागेका थिए । घर परिवारले सीमावर्ती क्षेत्रमा खोजी गरे पनि उनको पत्तो लाग्न सकेको थिएन । उसो त दिल्ली, मुम्बई र बेंगलोर जाने आफन्तहरूलाई पनि सन्तोषबारे सोधिराख्थे । तर कुनै जानकारी पाउन सकिएको थिएन । उनले नेपाली वा डोटेली भाषा पनि बिर्सिसकेका थिए । एक महिनाअघि घर फर्केका उनी अहिले पनि हिन्दीमै बोल्छन् ।


३ भाइमध्ये कान्छा सन्तोषका माइला दाई हेमराज वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्समा छन् । सन्तोषले फेसबुकमा हेमराजलाई आफ्नो तस्बिर र फोन नम्बर म्यासेज गरे । तर उक्त तस्बिर हेमराजले चिन्न सकेनन् । त्यसपछि उनले तस्बिर आफ्नी पत्नीलाई पठाए । पत्नीले सासू पार्वतीलाई देखाइन् । बेपत्ता छोराको तस्बिर देखेपछि पार्वती रुन थालिन् ।


‘उसको दायाँ गालामा दुई वटा कोठी छ, त्यही कोठीले मैले सन्तोषलाई चिनिहालें,’ पार्वतीले भनिन्, ‘तर मैले केही बोल्न सकेनँ, रुन मात्रै आयो ।’ त्यसपछि फेसबुकबाटै सन्तोषसँगै कुरा गरेको बताइन् । दसैं–तिहारमा घर फर्किन्छु भने पनि आफूलाई विश्वास नलागेपछि तुरुन्त आउन भनेको उनले बताइन् । सम्पर्क भएको ३ दिनपछि उनलाई घर ल्याएको उनले बताइन् । छोरा घर फर्केपछि रोस्यारा परिवार खुसी छ । गाउँले तथा आफन्तहरू पनि उनलाई भेट्न आइरहेका छन् ।


जब परिवारसँग सम्पर्क भयो त्यतिबेला सन्तोष कर्नाटकमा थिए । गोवामै उनका आफन्त पनि थिए । परिवारको सम्पर्कमा ती आफन्तले सन्तोषलाई प्लेनमार्फत दिल्ली पठाए । दिल्लीमा उनलाई ल्याउन जेठा दाइ दीर्घराज गएका थिए । ‘दिल्लीबाट हामी सिधै घर ल्याएर आयौं,’ दीर्घराजले भने, ‘अहिले उ यहीं रमाइरहेको छ, उताभन्दा खुसी पनि छ ।’ १२ वर्ष हुँदै भागेर गएका उनी सुरुमा दिल्ली गएका थिए । दिल्लीमा केही दिन होटेलमा काम गरेपछि उनी पन्जाब गए । त्यहाँ पनि उनले केही दिन काम गरे । त्यसपछि उनी बरेली आए । त्यहाँ एउटा कम्पनीमा काम गर्न थाले । त्यहाँबाट उनी कर्नाटक पुगे । ‘अब यहीँ केही गर्छु भारत जाने सोच छैन,’ हिन्दीमै सन्तोषले भने, ‘फेरि त्यहाँ जान मन छैन ।’


प्रकाशित : आश्विन २, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?