२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विशेषज्ञ नहुँदा उपचारमा समस्या

डोटी — जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टरहरू स्वयं विशेषज्ञ डाक्टर नभएकाले बिरामीको प्रभावकारी उपचार हुन सकेको छैन । २ विशेषज्ञको दरबन्दी भए पनि रिक्त छ । हाल निक साइमन नामक गैरसरकारी संस्थाले खटाएका एक एमजीडीपी डाक्टरले धानिरहेका छन् । उनको पनि समयाअवधि पनि सकिनै थालेकोले थप समस्या हुने यहाँका बासिन्दाको चिन्ता छ ।

गत शुक्रबारदेखि जिल्ला समन्वय समिति प्रमुख रामबहादुर ऐरको संयोजकत्वमा गठित नागरिक समाज र सञ्चारकर्मीसहितको अनुगमन टोलीले जिल्ला अस्पतालसहित यहाँका स्वास्थ्य केन्द्रहरूको अनुगमन गरिरहेको छ । अनुगमन टोलीसमक्ष स्वास्थ्यकर्मीहरूले विशेषज्ञ डाक्टरका लागि पहल गरिदिन अनुरोध गरेका थिए । ‘सरकारी नभई गैरसरकारी संस्थाको भएकाले कतिपय रोगको मैले उपचार गर्ने कानुनी मान्यता पाएको छैन,’ निक साइमनका डा. गिरिश अवस्थीले भने, ‘त्यसका लागि सरकारबाट खटाइएको तालिमप्राप्त विशेषज्ञ हुनुपर्छ । हालसम्म सरकारी सेवाका विशेषज्ञ डाक्टर नहुँदा यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्याता छ ।’


मेडिकल अधिकृतमा पनि २ जनाको दरबन्दी छन् । यसअघि मेडिकल अधिकृत डा. भुषण मिश्र मात्र कार्यरत रहेकामा अर्का मेडिकल अधिकृत ज्योति पाण्डेयलाई हालै पठाएको प्रशासन फाँटका नासु लोकेन्द्रबहादुर विष्टले जानकारी दिए । ‘उनीहरू समायोजनपछि डोटीबाट हिँड्ने भएपछि ठूलो समस्या आउँछ,’ विष्टले भने, ‘अहिलेदेखि नै जनप्रतिनिधि र नेताहरूले पहल गर्न जरुरी छ ।’ अस्पतालमा उपकरणहरू पनि बिग्रेका छन् ।


बिग्रिएका उपकरणहरू मर्मतका लागि जनशक्ति नहुँदा समस्या आइरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । निक साइमनले मर्मतका लागि प्राविधिक खटाए पनि उपकरणका कम्पनीहरूका विभिन्न सर्तका कारण मर्मत हुन नसकेको अस्पतालका कर्मचारीहरू बताउँछन् । एक महिनाअघि डिजिटल एक्सरे मेसिन ल्याइए पनि प्रदेश सरकारले जडान गर्ने व्यक्ति पठाउन नसक्दा उपयोगमा आउन सकेको छैन ।

प्रकाशित : आश्विन २, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?