१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पहाडसम्मै स्क्रब टाइफस

कैलालीमा मात्रै ३६ जनामा संक्रमण    
१० बिरामी उपचारपछि फर्किए
निर्मला खडायत

(धनगढी) — कैलालीमा स्क्रव टाइफसको प्रकोप बढ्दै गएको छ । बुधबारसम्म ३६ बिरामी फेला परेका स्वास्थ्य कार्यालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा हालसम्म १० बिरामी उपचारपछि सञ्चो भएर घर फर्किएका छन् ।
एक जनाको अझै आईसीयूमा उपचार भइरहेको छ ।

पहाडसम्मै स्क्रब टाइफस

धनगढी उपमहानगरपालिका १७ का ५० वर्षीया भोजन चौधरी चिन्ताजनक अवस्थामा उपचारका लागि बुधबार सेती अञ्चल अस्पतालमा भर्ना भएकी हुन् । अस्पतालका सूचना अधिकारी दिलीपसिंह श्रेष्ठले पछिल्लो केही दिनयता अस्पतालमा स्क्रब टाइफसका बिरामी आउने क्रम बढेको बताए ।


स्थानीय र प्रदेश सरकारले डेंगुको प्रकोप न्यूनीकरणका लागि अभियानै सञ्चालन गरिरहेका बेला स्क्रब टाइफसका बिरामीको संख्या बढी देखिएको हो । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा यो रोगको संक्रमण हुने गर्छ । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा हालसम्म १ सय ५ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । अछाम र बाजुराबाहेक सुदूरपश्चिमका ७ जिल्लामा यो रोगका बिरामी फेला पर्ने क्रम बढिरहेको हो ।


सामान्यत: लक्षण भाइरलका जस्ता देखिए पनि स्क्रब टाइफसको समयमा उपचार हुन नसके यसले मानिसको ज्यान पनि लिनसक्ने सेती अञ्चल अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए । डा. कमर भन्छन्, ‘प्रदेश र स्थानीय सरकार डेंगुमा मात्रै फोकस भएको छ । स्क्रब टाइफस डेंगुभन्दा खतरनाक रोग हो ।’


उनले झाडी र फोहोर भएको ठाउँमा भएको ‘माइट’ नामक मुसाका कारण यो रोग लाग्ने भएकोले किसान र गाउँतिरका व्यक्ति यसको जोखिममा धेरै रहेको बताए । ‘शरीरका विभिन्न अंगमा असर गर्ने स्क्रव टाइफस पहाड र तराईका ग्रामीण भेकमा सुसुप्त रूपमा देखिने गरेको छ । मिर्गौला, मस्तिष्क, फोक्सो, कलेजोमा संक्रमण हुने हुँदा समयमै उपचार नगरे विरामीलाई बचाउन पनि गाह्रो हुन्छ’ डा. कमरले भने ।


माइटले टोकेको ठाउँमा सानो घाउ र दाग रहने भएकोले बिरामीले कम ध्यान दिन्छन् । पहाडतिर समयमै उपचारमा पुग्ने सम्भावना पनि न्यून हुने गरेको डा. कमरले बताए । उनले माइट नामक मुसाले टोकेको २/३ दिनबाटै लक्षणहरू देखिन सुरु हुने गरेको बताए ।


संक्रमण भएपछि शरीरका विभिन्न भागमा बिमिरा देखिने, ज्वरो आउने, शरीरका विभिन्न भाग दुख्नेलगायतका लक्षणहरू देखिने गरेको डा. कमरले बताए । ‘सुरुमा ज्वरो आउँछ, केही बिरामीले परीक्षण नगरी भाइरल भनेर औषधि सेवन गर्ने गरेको पाइएको छ । त्यो गलत प्रवृत्ति हो । स्क्रब टाइफसको संक्रमण भए बिरामीको ज्यानै जोखिममा पर्न सक्छ,’ उनले भने, ‘ज्वरो आइहाले अस्पताल गएर रगत परीक्षण गराइहाल्नुपर्छ ।’ ज्वरोलाई सामान्य रुपमा नलिन उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले झाडी, खेतबारी, वनजंगलमा काम गर्दा शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्ने, सम्भव भए बुट लगाएर काम गर्ने, झाडी अथवा चौरमा बस्दा केही ओछ्याएर बस्नुपर्ने बताए ।

व्यक्तिगत सरसफाइसँगै घर वरपर सफा राख्नु तथा मुसा किर्ना नियन्त्रण गरे यस रोगबाट बच्न सकिने जिल्ला स्वास्थ्य कार्यालय कैलालीका किटरोग स्रोतव्यक्ति जयसिंह भण्डारीले बताए ।

प्रकाशित : आश्विन २, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?