२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

माथिल्लो कालंगागाडको सुरुङ निर्माण पूरा

बझाङ — कालंगागाड जलविद्युत आयोजना अन्तर्गत माथिल्लो कालंगागाडको सुरुङ निर्माण सम्पन्न (ब्रेक थ्रु) भएको छ । ७ ठाँउबाट एकै साथ सुरुङ निर्माण भैरहेको यस आयोजनाको पहिलो र दोस्रो मोहडा (फेस १ र फेस २) को २ किलोमिटर ८३ मिटर सुरुङ मंगलबार छिचोलिएको हो । 

माथिल्लो कालंगागाडको सुरुङ निर्माण पूरा

योसँगै माथिल्लो कालंगा गाड ३८.४६ मेगावाटको काम ८८ प्रतिशत सम्पन्न भएको आयोजनाका इन्जिनियर बखतबहादुर शाहीले जानकारी गराएका छन् । ३ अलग–अलग खोलाबाट करिब ६५ मेगावाट विद्युत उत्पादन गरी एकै ठाउंँबाट वितरण गर्ने गरी निर्माण थालिएको यो आयोजना सुदुरपश्चिम प्रदेशमा निमार्णाधीन सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको यो देशकै पहिलो ठूलो आयोजना पनि हो ।


सुरुङ ब्रेकथ्रुसँगै समग्र आयोजनाको करिब ७० प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । सुरुङ निर्माण कार्य ८८ प्रतिशत, इन्टेक, ड्याम साइट र बक्स कर्ल्भटलगायत बाहिरी संरचना निर्माणको कार्य ५० प्रतिशत र विद्युत् गृह निमार्णको कार्य ३५ प्रतिशतभन्दा बढी सम्पन्न भएको इन्जिनियर शाहीको भनाइ छ ।


यस आयोजनाले १५.३३ मेगावाट तल्लो कालंगागाड उत्पादन गर्ने छ भने ३८.४६ मेगावाट विद्युत माथिल्लो कालंगागाड बाट निकाल्ने लक्ष्य रहेको छ । यस्तै १० मेगावाट विद्युत कालंगागाडको मुख्य सहायक खोला सानीगाडबाट उत्पादन गरिने छ ।


२०६५ साल देखि सम्भाव्यता अध्ययन सुरु भएको यस जलविद्युत आयोजनाको निर्माणका लागी ३ वटा बैंकहरूसँंग ऋण लगानी सम्झौता भए पछि २०७४ सालबाट निर्माण कार्य सुरु गरिएको थियो । सन २०२० अर्थात २०७७ साल असोज ३ गते सम्म विद्युत उत्पादन गर्ने लक्ष्यसहित निर्माण थालिएको आयोजनाको लागत करिब १३ अर्व अनुमान गरिएको छ । आयोजनामा ५६ प्रतिशत बैंकहरूको क्रृण लगानी र २५ प्रतिशत विभिन्न निजी क्षेत्रका व्यवसायीहरूको लगानी रहेको छ । आयोजनाको १० प्रतिशत शेयर स्थानीयलाई वितरण गर्ने लक्ष्य रहेको छ ।


यो आयोजनाको ३ ठाउँमा संरचना निर्माण हुँदै छ । ३८.४६ मेगावाटको दहबगरमा इन्टेक बनेर खिरातडीको बिजगडमा पावर हाउस बन्ने छ । कालंगा हाईड्रो प्रालिले प्रवर्द्घन गर्न लागेको करिब १५.३३ मेगावाटको खिरातडीको पाउटामा इन्टेक निर्माण हुने र सुनकुडाको घोडादाउनमा पावर हाउस निर्माण गरिने छ ।


सानी गाड हाईड्रो प्रालि ले प्रवर्द्घन गर्न लागेको १०.०७ मेगावाट क्षमताको विद्युत कफलसेरीको जुनै बाट झारेर पिपलकोटको खौलाधारमा पावरहाउस निर्माण गरिने तयारी छ । अहिले यहाँ सुरुङ खन्ने काम तिब्र रुपमा चलिरहेको छ । ३ वटा आयोजना मध्ये कालंगा हाईडोमा ३.८ किलो मिटर, अपर कालंगामा ८.२ किलोमिटर र सानीगाडमा २ दशमलब १ किलोमिटर गरी करिब १४ किमि सुरुङ निर्माण गरिने आयोजनाका संस्थापक वीरेन्द्र मल्लले बताए ।


यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कालंगागाड जलविद्युत आयोजनाको निरीक्षण गरेका छन । बुधबार उनले आयोजना निर्माण स्थलमा पुगेर सुरुङ इन्टेकलगायत संरचनाको निरिक्षण गरेको आयोजना कार्यालयले जानकारी दिएको छ ।


निरिक्षणका क्रममा भट्टले आयोजनाको हाल सम्मको प्रगतीको बारेमा जानकारी लिनुका साथै समय मै काम सम्पन्न गर्नका लागि प्रदेश सरकारले सहयोग र सहजिकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।

प्रकाशित : आश्विन २, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?