कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘हेल्लो सीएम’मा फोन आउनै छाड्यो

(धनगढी) — सबैले आफ्ना समस्या र गुनासा सिधै मुख्यमन्त्रीसमक्ष राख्नसक्ने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरिएको हेल्लो सीएम कक्ष सुनसान हुन थालेको धेरै भइसक्यो । 

‘हेल्लो सीएम’मा फोन आउनै छाड्यो

अन्तिम फोन गत साउन ९ गते आएको हो । डोटी राजपुरबाट योगेन्द्र बलायरले कर्णाली एग्रिकल्चर योजना समूह गठन गरे पनि बन्द रहेको भन्दै गुनासो गरेयता करिब २ महिनामा एउटा फोन पनि आएको छैन । ‘साउनयता एउटा पनि फोन आएको छैन,’ मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी जगदिश जोशीले भने, ‘हेल्लो सीएममा आएका सबै गुनासाहरूको समाधानका लागि सम्बन्धित कार्यालयलाई पत्राचार गर्ने गरेका छौं ।’


सर्वसाधारणहरू भने हेल्लो सीएममा गरेका गुनासा सुनुवाइ नभएकाले भरोसा टुटेको बताउँछन् । धनगढी चटकपुरका आदित्य क्षत्रीले भने, ‘फोन गरेर गुनासो टिपाए पनि समस्या समाधान नहुने भएपछि किन फोन गरिराख्नु भन्ने लागेको छ धेरैलाई ।’ सरकारले सस्तो लोकप्रियताका लागि कार्यक्रम ल्याएको आरोप लगाउँदै उनले हेल्लो सीएम प्रभावकारी नभएको बताए ।


मुख्यमन्त्री त्रिलोचन भट्टले पदभार ग्रहण गरेको केहि महिनामै तामझामसाथ हेल्लो सीएम कक्षको उद्घाटन गरेका थिए ।


कार्यक्रम सुरु भएलगत्तै पहिलो फोन डोटीका करनसिंह धामीले गरेका थिए । उनले धनगढीमा ट्राफिक व्यवस्थापन अस्तब्यस्त रहेको गुनासो गर्दै समस्या समाधान गर्न आग्रह गरेका थिए । तर उनको गुनासोको सुनुवाइ अझै भएको छैन । समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइने बताए पनि ट्राफिक व्यवस्थापनमा भने सुधार आएन ।


सुरुको महिनामा अरु धेरैले समस्या राखेका थिए । तर अधिकांशको समस्या समाधान भएन । हालसम्म १ सय ८६ जनाले विभिन्न समस्या समाधान गरिदिन आग्रह गर्दै फोन आएको सूचना अधिकारी जोशी बताउँछन् । सामाजिक उपभोगका क्षेत्र (पानी, विजुली, यातायात) मा सबैभन्दा बढि उजुरी ५४ वटा परेको बताए । उनले सुशासनका क्षेत्र (नागरिक, मालपोत, भूमि, नापी, यातायात सेवा कार्यालय, सुचना, पारदर्शिता, अधिकार प्रत्यायोजन, प्रशासनिक, अर्ध न्यायिक) मा ५३ कल आएको बताए । यस्तै पूर्वाधार, सामाजिक सेवा क्षेत्र र आर्थिक क्षेत्रमा पनि थुप्रै गुनासा आएको उनी बताउँछन् । ‘गुनासो आएपछि तत्काल सम्बन्धित निकायलाई पत्राचार गर्छौं,’ जोशीले भने, ‘समस्या समाधान भए/नभएको हामी पनि थाहा पाउदैनौं र सम्बन्धित व्यक्तिले पनि पछि खबर गर्दैनन् ।’


हेल्लो सीएम कार्यक्रम सञ्चालन गर्न गत आव ०७५/७६ मा ७ लाख विनियोजन गरिएको थियो । त्यसमा २ लाख १२ खर्च भएको मुख्यमन्त्री कार्यालयका लेखा अधिकृत बलदेव कपाडीले बताए । ‘१ लाख ५२ हजार हेल्लो सीएम कक्षमा खटिएका कर्मचारीको खाजा खर्च भएको हो,’ लेखा अधिकृत कपाडीले भने, ‘६० हजार विभिन्न सञ्चार माध्यममा प्रचारका लागि खर्च भएको हो ।’


धनगढीका सर्वसाधारण भने उक्त कार्यक्रम अर्थहीन रहेको बताउँछन् । ‘प्रदेश सरकारले बजेट खाने बाटो मात्रै गरेको हो,’ धनगढी रामबहादुर खड्काले भने, ‘प्रदेश सरकारप्रति आमनागरिकको विश्वास भए त कार्यक्रमप्रति आकर्षण बढ्नुपर्ने हो ।’ धनगढीका श्याम महराले हेल्लो उद्घाटनका बेला आफ्ना समस्या बुझ्ने र तत्काल सम्बोधन हुने आशा लागेको भए पनि पूरा नभएको बताए । यस वर्ष पनि उक्त कार्यक्रमका लागि ७ लाख २० हजार विनियोजन गरिएको छ ।

प्रकाशित : आश्विन १, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?