७ वर्षपछि सारस

टीकापुर — कैलालीको भजनी क्षेत्रमा ७ वर्षपछि सारस देखिएको छ । आहारा पाइन थालेपछि पुन: यस क्षेत्रमा साारस आएको स्थानीयले बताएका छन् । 

सन् २०१२ बाट भजनी क्षेत्रमा सारस देखिन छाडेको थियो । वर्षौंपछि यतिबेला फेरि देखिएको चरा संरक्षण अभियानमा लागेका हिरूलाल डगौराले बताए । उनले भने, ‘भारतको उत्तर प्रदेशको लखिमपुर, सिगाहीलगायतका ठाउँमा यो चरा रहने गरेको छ । भजनी क्षेत्रमा ३ सारस देखिएका छन् ।’ 

सारसको जोडीसँगै हुने भएकोले २ वयस्क र एउटा बच्चा आएको हुनसक्ने डगौराले बताए । उनका अनुसार भजनी नगरपालिकाको वडा नम्बर ३ र ८ को मन्त्री फाँटा, झप्टी ताल, छर्लैया ताल क्षेत्रमा यो चरा देखिने गरेको छ । सिमसारमा रहने यो चरा सिमसार अतिक्रमणमा परेपछि पलायन भएको थियो । पहिला भजनी नगरपालिकामा रहेको पुरैना तालमा यो चरा वर्षैभरि बस्ने गरेको थियो । अहिले यो ताल सुकेर खेत बनाइएको छ । विश्वमा पाइने १५ प्रजातिका सारसहरूमध्ये नेपालमा कालो टाउके सारस, लक्ष्मण सारस, कर्याङ–कुरुङ सारस र सारस गरि ४ प्रजातिका सारस पाइने बताइएको छ । आइयुसीएनको रातो सूचीमा संवेदनशील प्रजातिमा राखिएको कालो टाउके सारस र सारस विश्वमै दुर्लभ पन्छी हुन् ।


सारस नेपालको पश्चिम तराईमा वर्षभरि पाइने रैथाने पन्छी हो । कालो टाउके सारस नेपालको अन्य क्षेत्रमा आक्कलझुक्कल देखिने गरेको चराविद्हरू बताउँछन् । यो हुम्लाको लिमी उपत्यकामा प्रजनन् हुने गरेको अभिलेख रहेको पन्छी हो । नेपाल पन्छी संरक्षण संघको विगत २ वर्षको अवधिमा मुस्ताङमा गरिएको अध्ययनअनुसार वर्षेनी करिब १५ हजार कर्याङ–कुरुङ सारस कालिगण्डकिको आकास हुँदै नेपाल भित्रिने गरेको देखाएको छ । सारसले सर्पहरूको संख्या नियन्त्रण गर्नुका साथै बालीनालीका लागि हानिकारक किरा र अन्य साना जीवहरूलाई खाएर अन्न उत्पादनमा सहयोग गरिरहेका हुन्छन् । त्यसैगरि सारसले बाघ, चितुवा जस्ता जनावरहरू नजिक आउन लागे कराएर जानकारी दिने हुँदा ती जनावरहरूको आक्रमणबाट बच्न सघाउने गरेको बताइन्छ । दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्धारा संरक्षित पन्छी सारस विश्वकै सबैभन्दा अग्लो उड्ने चरा हो । कुनै बेला नेपालको तराई क्षेत्रमा उल्लेख्य संख्यामा पाइने सारस हाल चितवन पश्चिमका जिल्लाहरू नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अति कम अभिलेख गरिएका छन् । करिब ५ फिट अग्लो हुने सारसको तौल १० किलोसम्म हुन्छ ।


प्रकाशित : आश्विन १, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?