नेताहरू भन्छन्, ‘मनपरी नगरौं श्राप लाग्ला’

बझाङ — तेस्रो जिल्ला सभा तथा समिक्षा कार्यक्रममा सत्ता पक्षका नेता तथा साँसदहरूले नै स्थानिय, प्रदेश र संघिय सरकारका कामको विरोध गरेका छन् । जिल्ला सभामा बोल्ने अधिकांश बक्ताले सरकारमा रहेका जनप्रतिनिधीहरू मनपरी गर्न थालेको र संघियता नै जोखिममा पर्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन । 

पहिलोपटक बझाङ आएका सुदुपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथी तथा सभामुख अर्जुनबहादुर थापा विशिष्ट अतिथि रहेको कार्यक्रमका बक्ताहरू अत्यन्तै निराशाजनक हिसावले प्रस्तुत भए । ‘अहिले स्थानिय तहमै करौडौं रकम आएको छ तर पनि जनताका आधारभुत समस्याहरू जस्ताका त्यस्तै छन्,’ नेकपाका केन्द्रिय सदस्य देवराज रेग्मीले भने, ‘पहिला केन्द्रले हामीलाई पछि पार्यो भनेर गुनासो गर्थ्यौ । अहिले विकास गर्न कसले रोकेको छ ? । यो प्रश्नको जवाफ तपाईहरू सँग छ ?’ उनले जनप्रतिनिधीहरूको परम्परावादी सोच परिर्वतन हुन नसके पापको भारी बोकेर गणतन्त्रको अवसान हुने बताए ।


सभामा बोल्ने प्रदेशका साँसदहरूले भने पनि स्थानिय तहले राम्रो काम गर्न नसकेको आरोप लगाए । ‘के स्थानिय सरकार डोजर चलाउन मात्र बनाएको हो । जनताका आधारभुत समस्या सम्बोधन गर्नुपर्छ कि पर्दैन,’ प्रदेशसभा सदस्य माया तामाङले भनिन्, ‘आफ्नो पार्टीभन्दा फरक विचार राख्नेलाई विकास र सुविधाबाट वञ्चित गर्ने, प्रदेशले राम्रो गर्न खोजेका योजनाको सिफारिस नदिने, भोली के विकास देखाउनु हुन्छ ?’


डोजरकै चिन्ता

जिल्ला सभामा बोल्ने अधिकांशले जथाभावी चलाएका डोजरका कारण जिल्ला नै विस्थापित हुने चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा अधिकांश बक्ताले असन्तुष्टी व्यक्त गरेपछि सभामुख र मुख्यमन्त्रीले भने यसको बचाउ गरे । हिजो जनप्रतिनिधी विहिन अवस्थाभन्दा अहिले धेरै नै विकास भएको सभामुख अर्जुन थापाले बताए । यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले पनि नेपालमा हावादारी विष्लेषण र विरोध गर्नेको कमी नभएको भन्दै सरकारले राम्रो काम गरिरहेको दावी गरे । उनले भने । ‘काम गर्ने क्रममा केही कमजोरी भएका होलान् । तर पनि केही भएन भनेर विरोधको नाममा विरोध गर्नु उचित होइन । परिर्वतित समय अनुसार सबैले आफ्नो सोच बदल्न जरुरी छ,’ उनले भने ।

प्रकाशित : आश्विन १, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?