कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सडकले फेरियो जीवनशैली

बेलखेत, विनायक, ठाटीखाँद, ठूलासैनलगायत विकट बस्तीमा अहिले बजार विस्तार
मेनुका ढुंगाना

(अछाम) — मंगलसेन नगरपालिका ५ का उदयराम सुवेदी ८१ वर्षका भए । महिना दिन हिँडेर राजापुरबाट नुन ल्याएको सम्झदै उनी अहिले आफ्नै घर आँगनको कालोपत्रे सडकबाट सरर गाडी गुडेको देखेर मख्ख पर्छन् ।

सडकले फेरियो जीवनशैली

‘उहिले हाम्रो पालामा भोक, निन्द्र, तिर्खा भनेर धर हुन्थेन । त्यो बेला यसरी गाउँमै गाडी पुग्ला भन्ने कल्पना हुन्नथ्यो’ उनले आफ्नो समयको अनुभव सुनाउँदै भने, ‘हाम्रो जस्तो दु:ख, अभाव अहिलेको पुस्ताबाट दुर भइसकेको छ । हामीले पनि ढिलै भएपनि यस्तो विकास देख्न र भोग्न पायौं । सरकारलाई धन्यवाद छ ।’


उनका अनुसार हाम्रो गाउँमा गाडी आउँछ भन्ने कुरा त कथा सुनाए जस्तो लाग्थ्यो । धेरैलाई यस्तो पहाडमा गाडी आउँछ होला भन्ने दिमागकै हुन्थेन । लुगा कपडा आफैं बुन्ने, एउटै घरमा ७/८ भैसी पाल्ने यहाँका स्थानीयको दैनिकी थियो । वर्खाको बेला लेकका भैसी खर्कमा बनाएर रमाउँथे उनीहरू ।


समय बदलिएसँगै पेशा पनि परिवर्तन भयो । ‘१५ किलोसम्म घ्यु बोकेर चिसापानी, बौनियाको बजारमा बेच्थ्यौं । त्यहि पैसाले नुन किनेर घरमा ल्याथ्यौं ।’ अर्की स्थानीय गोमा ढुंगानाले भनिन्, ‘नुन सकिन थालेपछि मुटु काप्थ्यो ।’ अहिले त भैसी पालेर जम्मा गरेको घ्यु बेचेर नुन ल्याउन दिन सकिएको उनले बताइन् । ‘अहिले त एक भैंसी पाल्नेहरू मुस्किलले भेटिन्छन्’ उनले भनिन् ।


राजापुरसम्म नुन ल्याउन जाने चलनलाई हाट जाने भन्ने चलन थियो त्यसबेला । घरबाट निस्केपछि कहाँ पुग्यो, अवस्था के छ भन्ने केही जानकारी परिवारमा हुँदैन थियो । ‘घरबाट निस्केको दिन बाटोमा केहि नभए फेरि भेट होला, चिन्ता नगुर्नु, भगवानले साथ दिए नुन ल्याएर घरमै फकिर्ने छु हाट जान्थ्यौं’ सुवेदीले भने, ‘महिना दिन लाग्थ्यो ओहोरदोहोर गर्न । घरका मान्छे चिन्तामा हुन्थे ।’ अहिले उनको उमेरका बृद्धबृद्धाहरू जति खुसी गाउँमा अरु सायदै होलान् । त्यसबेला हाट जाने तयारी भएपछि पुरुष नभएको घरका महिला जान्थे । चिसापानी, राजापुर, कटासे, तिकुनियासम्म सामान किन्न जाने पुरुष नै हौ । अहिले त सुखका दिन आए । काठमाण्डौको सामान एकै दिनमा गाउँ पुग्छ । यी सबैको एउटै कारण सडकको विकास भएको स्थानीयको बुझाई छ । बर्दियाको राजापुर पछिको दोस्रो ठुलो मानिने कैलालीको कटासेमा यहाँका स्थानीय सामान किन्न जान्थे ।


पञ्चदेवल बिनायक नगरपालिका ५ लयाटीका स्थानीय युद्धबहादुर शाही पनि ७५ वर्षका भए । उनलार्ई दुर्गम बस्तीमा सडक बन्ला र गाउँमा गाडी पुग्ला भन्ने लागेको थिएन । अहिले उनकै गाउँ भएर अगाडी गाडी कुद्छ । यो देखेर उनी दंग पर्छन् । ‘यही जुनीमा यहाँसम्म बाटो बन्छ र मोटर देख्न पाउँला भन्ने लागेकै थिएन, तर मेरो सपना पूरा भयो’ उनले खुसी साटे । उनको गाउँमा सडक पुगेको एक वर्ष मात्रै भयो ।


विनायकसम्म मध्यपहाडी लोकमार्ग बनेपछि त्यहिबाट ट्रयाक खोलेर गाउँमा सडक पुगेपछि पुगेपछि दशक पहिले पाएका दु:ख बिर्सेका छन् । जीवनशैली बदलिएको छ । पुरुषको तुलनामा महिलाका सुखका दिन फर्किएका छन् । पहिले सडक आयो, त्यसपछि स्वास्थ्य चौकी स्थापना भयो, विस्तारै गाउँमै मेडिकल खुल्न थाले । दाउरा बेच्न दैलेखको भेल्तडी, राकम पुग्ने महिलाहरू गाउँकै होटेलमा बेच्छन् । ‘दाउरा बेचे मात्रै पैसा देख्न मिल्थ्यो । त्यहि दाउरा बेचेको पैसाले गुजारा चलाउनु पर्ने बाध्यता थियो । अहिले त तरकारी लगाएर बेच्दा पनि पैसो, अरु काम गरे पनि पैसा कमाउन गाह्रो छैन । काम गर्न सक्नु पर्यो ।’ ४० वर्षीय स्थानीय कल्चु बिकले भनिन्, ‘५ हातको धोती लगाउन पाए के के न पायौं जस्तो लाग्थ्यो । अहिले त शहरबजारका लुगा आफ्नै आगनमा पुगे ।’


अहिले अछामका विभिन्न गाउँमा बजार विस्तार हुन थालेको छ । सामान्य सामान किनमेल गर्न मंगलसैन, साँफेबगर जस्ता बजारमा पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ । यहाँका स्थानीयले आफ्नै घर आँगनमा सामान खरिद बिक्री गर्न पाएको धेरै भएको छैन । ०६४ सालदेखि निर्माण शुरु भएपनि निर्माणको जिम्मा पाएका ठेकेदारको लापरवाहिले अस्तव्यस्त झैं बनेको मध्यपहाडी सडक खण्डको काम हाल तिव्र गतिमा अघि बढेको ३ वर्ष मात्रै भएको छ । यहि बेला देखि नै अछामका गाउँमा बजारको रौनकता छाएको हो । बयालपाटा–कैलाशखोला सडक खण्ड, मंगलसेन–ठूलासैन ठाटीखाँद सडक खण्ड, ठाटीखाँद–विनायक सडकखण्ड, विनायक–बेलखेत सडकखण्ड गरी ४ भागमा विभाजन भएको छ ।


सदरमुकामसम्म पुग्ने मुख्य सडक मध्यपहाडी लोकमार्गले काम सुरु गरेपछि कालोपत्रे भएको हो । सडक विस्तार भएपछि अछाममा शिक्षा, स्वास्थ्य, रोजगारी र जीवनशैली बदलिएको स्थानीय बताउँछन् । बेलखेत, बिनायक, ठाटीखाँद, ठुलासैन लगायतका विकट वस्तीहरूमा यतिबेला बजार विस्तार भएका छन् ।


मध्यपहाडी लोकमार्गले गाउँ सुगम

अछामका ग्रामिण भेगलाई सडकको पहुँचमा पुर्‍याउन मध्यपहाडी लोकमार्गले सहज बनाएको छ । यसले अछामका ९१ वडा मध्ये ८६ वडामा सडक पुगेको छ । विभिन्न वडा र टोलमा मध्यपहाडी लोकमार्गको विनायक खण्डबाट गएको पञ्चदेवल विनायक नगरपालिका ८ बारलाका वडा अध्यक्ष तारा खनाल बताउँछन् । हाल यस क्षेत्रमा जग्गा कारोबार बढेको छ । गाउँमा उत्पादित कृषिजन्य बस्तुलेसमेत बजार पाउन थालेका छन् । सवारी साधनसहित चहलपहल बढेपछि जग्गा किनबेचको कारोबार पनि बढेको स्थानीय तुलसी शाहीले बताए ।


‘पहिले अधिकांश खेतियोग्य जमिन बाँझो रहने यस स्थानमा सडक पुगेसँगै बस्ती विस्तार हुन थालेको छ ।’ उनले भने, ‘बाँझो खेतबारीमा सागसब्जी उत्पादन गरी अन्य स्थानमा निकासासमेत हुने गरेको छ ।’ पूर्वमा चिवा भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म प्रस्तावित करिब १ हजार ७ सय किलोमिटर लामो लोकमार्गले अछामका डेढ दर्जनभन्दा बढी गाउँलाई छोएको छ । सडकले छोएका छेउछाउका बस्तीको फेरिँदो मुहार र व्यावसायिक बन्ने तर्खरमा रहेका किसानले सडकले ल्याउँदै गरेको परिवर्तनको छनक दिन्छन् ।


ठाटीखाँद–विनायक खण्डमा काम सुस्त


सरकारले गौरवको आयोजनाको सूचीमा राखेको मध्यपहाडी लोकमार्गअन्तर्गत बयालपाटा–मंगलसैन, मंगलसैन–ठाटिखाँद र बिनायक–बेलखेत खण्डमा कालोपत्रेको काम सकिएको छ । बीचमा पर्ने बिनायक–ठाटीखाँद खण्डको ९ किमि काममा ढिलाइ भएको छ । अछाम खण्डको निर्माणका लागि आवश्यक मेशिन तथा उपकरण, क्रसर, टिपर, जेसिवी, स्काइभेटर, लोडर, ल्याबलगायत सामान तथा पुर्वाधार, दक्ष जनशक्ति अभावले निर्माण ढिलो भएको साइड इन्चार्ज तेजेन्द्र केसीले बताए ।


अहिले कालोपत्रेको लागि प्रक्रिया सुरु भएको छ । निर्माण कम्पनिले समयमै आवश्यक सामाग्री उपलब्ध नगराउँदा काम ढिलो भएको हो । उनले भने, ‘यहाँ काम गर्ने कर्मचारीको बिमा पनि भएको थिएन । उच्च जोखिममा काम गर्न चुनौती थियो । साइडको भुगोल र मौसमले पनि साथ दिएन ।’ निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाका प्रमुखको वेवास्ताकै कारण निर्माणमा ढिलाई भएको साइडमा कार्यरत एक कर्मचारीले बताए । ‘हामीलाई पनि अन्य ठाउँमा काम भइरहे जस्तै गरी उत्साहका साथ काम गर्न मन थियो । लापरवाही धेरै भयो । कर्मचारीलाई हौसला र उत्साह त कहाँ हो कहाँ सामाग्री पनि समयमा आएन ।’ कम्पनिका प्रमुख भीमबहादुर साउद परशुराम नगरपालिका डडेलधुराका नगरप्रमुख भएपछि काममा झन लापरवाही भएको गुनासो छ ।


०७३ मा सम्झौता भएर ३ वर्षसम्म कालोपत्रे सक्ने लक्ष्य रहेको यो आयोजनाको अछामको ३ खण्डमा काम सम्पन्न भए पनि बीचको खण्डमा काम सुस्त भएको आयोजनाको पश्चिम खण्ड दाङका इञ्जिनियर तुलाराम शर्माले बताए । ‘मंगलसैन ठाटीखाँद, बेलखेत–कैलाश खोला, बिनायक–बेलखेतको काम सम्पन्न भइसक्यो’ शर्माले भने, ‘बीचमा पर्ने यो खण्डमा काम सुस्त गतिमा भएको छ । समयमै काम सम्पन्न हुनुपर्छ भनेर हामीले पटकपटक चिठीसमेत पठाएका छौं ।’ अहिले नै काम सुचारु गरे तोकिएको समयभन्दा केहि ढिलो भएता पनि काम सम्पन्न हुन सक्ने उनी बताउँछन् ।

प्रकाशित : आश्विन १, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?