कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डेंगु संक्रमण : सुदूरका ८ जिल्ला प्रभावित

स्वास्थ्य संस्थामा पुगेका अधिकांश बिरामी उपचारपछि घर फर्किएका छन्, अछामका बिरामीलाई भने रेफर गरिएको छ

धनगढी/ अछाम — डेंगुबाट बाजुराबाहेक सुदूरपश्चिमका ८ जिल्ला प्रभावित भएका छन् । स्क्रब टाइफसको संक्रमण अछाम र बाजुराबाहेक ७ जिल्लामा देखिएको छ । आइतबार साँझसम्म डेंगुबाट संक्रमित बिरामीहरूको संख्या ४५ र स्क्रब टाइफसका ७४ जना बिरामी पहिचान भएको सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

डेंगु संक्रमण : सुदूरका ८ जिल्ला प्रभावित

रोग दिनदिनै फैलदैं गएको छ । यसअघि डोटीमा डेंगुबाट एक जनाको मृत्यु भइसकेको छ । उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका बिरामीहरू धेरैजसो उपचारपछि घर फर्केका छन् । अछाममा भेटिएका बिरामीलाई रिफर गरिएको छ ।


मन्त्रालयका अनुसार डेंगुबाट कैलाली सबैभन्दा बढी प्रभावित देखिएको छ । कैलालीमा २० जनामा डेंगु भेटिएको छ । स्क्रब टाइफसबाट भने डडेलधुरा सबैभन्दा बढी प्रभावित छ । डडेलधुरामा ३५ जनामा स्क्रब टाइफस भेटिएको जनाइएको छ ।

कैलालीपछि बैतडी र कञ्चनपुर डेंगुबाट बढि प्रभावित भएका छन् ।


यी दुई जिल्लामा ८/८ जना बिरामी भेटिएका मन्त्रालयका सूचनाअधिकारी हेमराज खड्काद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै डडेलधुरामा ३, डोटी र अछाममा २/२ जनमा डेंगु भेटिएको छ । बैतडी र बझाङमा पनि डेंगुको संक्रमण देखिएको पाइएको छ । यी जिल्लामा हालसम्म १/१ जना बिरामी फेला परेका छन् ।


यस्तै स्क्रब टाइफसबाट बाजुरा र अछाम बाहेक ७ वटै जिल्ला प्रभावित देखिएका छन् । कैलालीमा १९ र बैतडीमा ११ जना स्क्रब टाइफसका बिरामी पहिचान भएको मन्त्रालयले जनाएको छ । डोटीमा ३, बझाङ, दार्चुला र कञ्चनपुरमा २/२ जना स्क्रब टाइफसका बिरामी फेला परेको जनाइएको छ ।


कैलालीमा पछिल्लोपल्ट पहाडी जिल्ला अछाममा २ जना बालकमा डेंगु फेला परेको हो । रामारोशन गाउँपालिका ४ का १० महिनाका प्रविन परियार र मंगलसैन नगरपालिका ९ का ७ बर्षीय दीलिप वडमा डेगुंको संक्रमण देखिएको हो ।


उपचारको लागि बयलपाटा अस्पताल ल्याइएका परियार र वड दुबै जनामा डेंगुको संक्रमण देखिएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनले बताए । ‘औषधिको अभावका कारण यहाँ डेंगुको उपचार हुन नसक्ने भएपछि बिरामीलाई रिफर गरिएको छ’ गौचनले भने । एडिज जातको पोथी लामखुट्टेको टोकाइले लाग्ने रोग गाउँसम्म सरेको देखिएको बताउँदै डा. गौचनले सबैले सचेत हुनुपर्नेमा जोड दिए ।


'सर्च एन्ड डिस्ट्रोय’ अभियान

सामाजिक विकास मन्त्रालयले डेंगु नियन्त्रणका लागि प्रदेशभर लामखुट्टेको लार्भा नष्ट गर्न ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सुरु गर्न लागेको जनाएको छ । मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार सबै जिल्लामा रहेका स्वास्थ्य कार्यालयहरूमार्फत स्थानीय तहसँग सहकार्य गरेर अभियान सञ्चालन गरिने भएको छ ।


अछाममा लार्भा नष्ट

अछामका विभिन्न ठाउँमा डेंगुको प्रकोप देखिएपछि स्थानीय तहहरूले लार्भा नष्ट गर्ने अभियान सुरु गरेका छन् । सबै स्थानीय तहले लार्भा नष्ट गर्ने अभियान सुरु गरेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।


अभियान अर्न्तगत लार्भा हुनसक्ने सम्भावित सबै ठाउँहरूमा लार्भा खोज्दै नष्ट गर्ने, सरसफाइ गर्ने र डेंगु रोगबारे जानकारी र यसबाट बच्ने उपायबारे जानकारी दिने गरिएको छ । डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने गर्दछ ।


‘अभियानमा जनप्रतिनिधि, प्रहरी र स्थानीयले वडाका प्रत्येक टोलटोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्ने क्रियाकलापअघि बढाएका छन्’ उनले भने, ‘शहरमा देखिने रोग गाउँमा पनि देखिन थालेपछि टोलटोलसम्म अभियान गर्नुपर्ने देखिएको हो’ उनका अनुसार वडास्तरका सबै सरोकारवालालाई यसबारे सचेतना अभिमुखीकरण शुरु गरिएको छ ।

कार्यक्रममा जनप्रतिनिधी, वडास्तरका विद्यालय, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्थानीय अगुवाहरूबीच रोग नियन्त्रणका बारेमा छलफल गराइदै आएको ढुंगानाले बताए ।


अहिले मौसमी रुपमा देशैभरि फैलिएको भाइरल ज्वरोका बिरामी विभिन्न स्वास्थ्य संस्थामा बढेका छन् विभिन्न स्वास्थ्य संस्थाहरूमा दैनिक ३ सय ५० बढि बिरामी आउने गरेको जिल्ला अस्पताल मंगलसेनले जनाएको छ । यसरी अभियान शुरु भएपछि प्रयोगशालामा टाइफाइड, मलेरिया परीक्षण गराउने बिरामीहरूको संख्यासमेत बढ्दै गएको छ ।


डेंगुबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाव दिँदै आएका छन् । यो रोग लामखुट्टेको कारणले एक अर्कामा सर्ने भएकाले घरवरिपरीका खाल्डाखुल्डी पुर्ने, वातावरण सरसफाइ राख्ने, सुत्ने बेलामा झुलको प्रयोग गर्नेलगायतका सावधानी अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिँदै आएका छन् ।

प्रकाशित : भाद्र ३१, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?