१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मादल बनाउन भ्याइनभ्याई

गणेश चौधरी

टीकापुर — कैलालीको टीकापुर नगरपालिका ८ का सुरज बादी मादल बनाउने पेसा गरिरहेका गाउँका एक्ला हुन् । माग बढि र उत्पादन न्यून भएकाले उनलाई मादल बनाउने कामको चटारो छ । 

मादल बनाउन भ्याइनभ्याई

कैलालीका विभिन्न थारु गाउँबाट मादलको माग अत्याधिक रहेको र आफुले मादल पुर्‍याउन धौधौ पर्ने गरेको उनले सुनाए । सुरजले भने, ‘थारु समुदायमा आफनो नाचगान संस्कृति संरक्षणको लहर आएको छ । दशैमा उनीहरूलाई मादल नभई हुन्न । भजनी नगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न गाउँमै गएर आजभोलि मादल बनाउने गरेको छु ।’


पछिल्लो समय थारु समूदायको वसोवास रहेका गाउँवस्तीमा युवामा गीत संगीत र आफ्नो सस्कृतिमा आएको जागरुकताले मादलको माग निकै बढेको उनको बुझाई छ । सुरजले भने, ‘हाम्रो बादी समुदायमा पनि मादल बिक्दैन भनेर धेरैले पेसा छोडेर अरु नै काममा लागे । अहिले मादल बनाएर पनि राम्रो कमाइ भइरहेको छ ।’


दशैं नजिकिदैछ । थारु गाउँमा दशैमा नाचिनेसखिया नाचका लागि धेरैलाई मादल चाहिएको छ । तर मादल पाउन सजिलो छैन । बादी समुदायले मादल बनाउन छोडेपछि मादल पाउन मुस्किल हुन थालेको टीकापुर नगरपालिका ९ बनगाउँका दिलबहादुर चौधरीले बताए । उनले भने ‘हाम्रो गाउँमा सखिया नाच हुन्छ । सखिया नाचका लागि ठुलठुला मादल चाहिन्छन् । अब त सखिया नाचका लागि खोजे जस्तो मादल नि पाइन्न ।’


आम्दानी राम्रै भएपनि आफना ३ छोराहरू कामका लागि भारत गएका सुनाउँदै सुरज बादीले भने, ‘मादल बनाउन चाहिने छाला, किटलगायतका सामान पाउन मुस्किल छ । किट दाङबाट ल्याउनुपर्छ । छाला नि पाइन्न । पाए पनि निकै महंगो छ ।’ मादल बनाउन आवस्यक सामाग्री पनि नपाइने भएकोले यो पेसा नगरेर बादी समूदायका धेरैजसो युवाहरू भारततिर गएका अर्जुन बादीले बताए । उनले भने ‘सामुदायिक वनमा मादल बनाउन चाहिने काठ भएर पनि काट्न पाइँदैन ।’


बादी समुदायको पुरानो पुस्ताले मादल बनाएर घर घरमै पुर्‍याएर तिहाइ उठाउदै आएका थिए । अहिले भने नगदमै मादल बनाउने गरेको सुरज बादीले बताए । उनले भने, ‘मादल बनाउन ३ हजार जति खर्च लाग्छ ।’


नारायणपुरण गाविस ८ सत्तिका अर्जुन बादीले पुरानो पुस्ता सकिदै गएपछि मादल बनाउने कोही नभएको बताए । उनले भने ‘मेरा बुवाले थारुहरूको सखिया नाचको सिजनमा मात्र करिब एक सय जति मादल बनाउँथे । आजभोली मादल बनाउने मान्छे नै छैनन् ।’

उनका अनुसार गत वर्षसम्म धनसिंहपुर गाविस २ सुर्यपुरका रंगलाल बादीले मादल बनाएर बिक्रि गर्दै आएका थिए । उनको मृत्युपछि उनका छोरा नरेश बादीले बाबुको पेसा गरेनन् । उनी मजदुरी गर्न भारत गए ।


बादी समुदायमा मादल बनाउने पेसामा कमी हुदै गएपछि टीकापुर नगरपालिकाले मादल निर्माणलाई व्यवसायिक बनाउने योजना बनाएको जनाएको छ । टीकापुर नगरपालिका ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले भने ‘यस आर्थिक वर्षमा ८० हजार बजेट विनियोजन गरेका छौं ।’

प्रकाशित : भाद्र ३१, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?