हचुवामा छात्रवृत्ति वितरण

मोहन शाही

डोटी — लामो समयदेखि सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन प्रदान गर्दै आएको छात्रवृत्ति हचुवाका भरमा वितरण हुँदै आएको पाइएको छ । 

दिपायल सिलगढी नगरपालिका ४ स्थित कुमालीकोट माविमा नमुनाका रुपमा छात्रवृत्ति वितरणबारे गरिएको सार्वजनिक खर्चको सोधखोज अध्ययन सर्भेक्षणको प्रतिवेदनले यसको पुष्टि गरेको हो । प्रतिवेदनले छात्रवृत्ति वितरणमा विभिन्न कमी कमजोरी औंल्याएको छ । अध्ययन प्रतिवेदन शनिबार सार्वजनिक गरिएको थियो ।


दिपायल सिलगढी नगरपालिकासँगको समन्वयमा एफएमडिसी संस्थाको पारस्परिक जवाफदेहिता परियोजनाले सो प्रतिवेदन तयार पारेको थियो । सार्वजनिक गरिएको प्रतिवेदनले विद्यालयमा आएको अनुदानभन्दा थोरै विद्यार्थीले छात्रवृत्ति पाएको, विद्यार्थीहरूले पाएको छात्रवृत्ति रकम न्यून भएको, नगरपालिकाले अनुगमन गर्न नसकेको, छात्रवृत्तिसम्बन्धी तयार गरिएको कार्यविधि कार्यान्वयन हुन नसकेका जस्ता त्रुटि औंल्याएको छ ।


कुमालीकोट माविमा अध्यनरत २ सय ४४ विद्यार्थीमध्ये १ सय ६९ ले छात्रवृत्ति पाउनुपर्ने भए पनि १ सय १४ जनाले मात्र रकम पाएको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक विद्यालय ब्यवस्थापन समितिले छात्रवृत्ति पाउने विद्यार्थीहरूको आधार नखोली रकम वितरणका लागि निर्णय गरेको देखिएको छ ।


मौखिक जानकारीका भरमा नगरपालिकाले विद्यालयलाई रकम निकासा गर्ने गरेको नीतिगत कमजोरी पनि देखाएको एफएमडिसीका कार्यक्रम संयोजक ओम जोशीले जानकारी दिए । सर्भेक्षण अध्ययनले छात्रवृत्ति वितरणमा बजेट कार्यान्वयन प्रक्रिया, बजेटको सदुपयोग, नीतिगत कमीकमजोरी तथा पारदर्शिताबारे अध्यन गरेको जोशीले बताए ।


सरकारले कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने दलित विद्यार्थी तथा गैरदलित छात्राहरूलाई प्रतिविद्यार्थी ४ सय रुपैया बार्षिक उपलब्ध गराउँदै आएको छ । कक्षा ९ मा अध्यनरत दलित विद्यार्थीहरूलाई भने बार्षिक ५ सय दिने विद्यालय क्षेत्र विकास कार्यक्रमको कार्यान्वयन पुस्तिकामा उल्लेख छ । अघिल्लो शैक्षिक सत्रमा पढाई पुरा गरि नयाँ शैक्षिक सत्रमा भर्ना हुन आउने विद्यार्थीहरूलाई छात्रवृत्ति रकम दिने कार्यविधिमा उल्लेख छ । ६० विद्यालय रहेको दिपायल सिलगढी नगरपालिकामा ७ मवि छन् ।


छात्रवृत्ति रकम थोरै रहेको गुनासो पनि विद्यार्थीहरूले गरेका छन् । ‘बार्षिक ४ सय रुपैयाँले कापी कलम किन्न पनि पैसा पुग्दैन,’ कुमालीकोट माविकी मेघना नेपालीले भनिन्, ‘कक्षा १ मा पढ्दा पनि मैले ४ सय पाएकी थिए, कक्षा ९ को पढाइ सकिँदा पनि रकम उत्ति नै छ, अहिलेको महंगीका आधारमा छात्रवृत्ति थोरै हो ।’


अर्की प्रिया कठायतले कापीकलम किन्न अभिभावकसँंग माग्नुपर्ने बताइन् । ‘छात्रवृत्ति रकमकै लागि विद्यालयमा पढ्न खासै आर्थिक राहत मिलेको छैन, यो रकम बढाउन माग गर्छु,’ उनले भनिन् ।


प्रधानाध्यापक दिलबहादुर कठायतले छात्रवृत्ति सम्पूर्ण विद्यार्थीलाई वितरण गरे पनि कागजी प्रक्रियामा केही त्रुटि हुँदा थोरै विद्यार्थीलाई वितरण भएको देखिन गएको स्पष्टीकरण दिए ।


दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख भोजराज शर्माले थोरै जनशक्ति हुँदा अनुगमन गर्न नसकिएको बताए । नमुनाका रुपमा एफएमडीसीले गरेको अध्ययनले आफूहरूलाई ठूलो पाठ सिकाएको दिपायल सिलगढी नगरका उप–प्रमुख शिवराज खड्काले बताए । उनले आगामी दिनमा छात्रवृत्ति वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन आफू लाग्नुका साथै नियमित अनुगमन गर्ने प्रतिबद्धतासमेत गरे ।


छात्रवृत्ति रकम वितरणमा ठुलो घोटाला हुने गरेको दाबी जिल्ला समन्वय समिति डोटी प्रमुख रामबहादुर ऐरले गरेका छन् । उनले विद्यालयले उपलब्ध गराएको तथ्यांकका आधारमा रकम निकासा हुने गरेपनि त्यसको अनुगमन नहुँदा अनियमितता हुने गरेको बताए । ‘छानबिन गर्ने हो भने अधिकांश विद्यालयमा छात्रवृत्ति वितरण हचुवाको भरमा छ,’ ऐरले भने, ‘विद्यालयमा गइरहेको रकमको कुनै हिसाब किताबै नगर्ने परिपाटी छ, जसले विद्यालयहरूमा मनोमानी छ ।’

प्रकाशित : भाद्र ३०, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?