बढ्दै आत्महत्या

धनगढी — गत साता जिल्ला प्रहरी कार्यालय कैलालीमा एकै दिन २ जनाले आत्महत्या गरेको खबर आयो । गौरीगंगा ७ कैलाशपुरकी ४५ वर्षीया पशुपति पुनले आफ्नै घरको कोठाको पंखामा झुन्डिएर आत्महत्या गरिन् ।

कैलारी गाउँपालिका २ रामपुरका ५८ वर्षीय मोसु डगौरा थारूले पनि त्यही दिन आफ्नै घरको भान्साभित्र झुन्डिएर प्राण त्यागिन् । कैलालीमा आत्महत्याका घटना बर्सेनि बढिरहेका छन् ।


त्यसैको ३ दिनपछि बर्दगोरिया ३ की ४० वर्षीया ज्ञानीदेवी थापा मगरले पनि विष सेवन गरी आत्महत्या गरिन् । पछिल्लो समय सामान्य घरायसी समस्या र विवाद हुनेबित्तिकै पनि आत्महत्या गर्ने प्रवृत्ति भयावह हुँदै गएको तथ्यांकले देखाएको छ । पछिल्लो ३ वर्षयता मात्रै कैलालीमा ५ सय २५ जनाले आत्महत्या गरेका छन् । यस आवको डेढ महिनायता १७ जनाले आत्महत्या गरिसकेका छन् ।


परिवारिक कलह, डिप्रेसन, गरिबी, माया–प्रेममा धोका पाउँदा र व्यक्तिगत कारणले पनि आत्महत्या गर्ने देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेत बताउँछन् । बस्नेतले आत्महत्याका घटना न्यूनीकरण गर्न ऐन, कानुन निर्माण भए पनि न्यूनीकरण हुन नसकेको बताए ।


‘कानुनले आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिलाई सजायको व्यवस्था गरेको छ,’ बस्नेतले भने, ‘आत्महत्याका घटना कम हुनुको साटो हरेक वर्ष बढिरहेका छन् ।’ उनले अधिकांश मानिसमा महत्त्वाकांक्षी सपनाले पनि आत्महत्यासम्म पुग्ने गरेको बताए । ‘व्यक्ति आफ्नो क्षमताभन्दा ठुला सपना देख्ने गर्छन्, पूरा नभएपछि निराश भएर आत्महत्याको बाटो रोज्छन्,’ उनले भने ।


विवाह भइसकेपछि पनि बाह्य प्रेम र कतिपयमा सामाजिक सञ्जालको दुरुपयोग पनि आत्महत्याको कारण बन्ने गरेको उनी बताउँछन् । जिल्ला अदालत कैलालीमा आव ०७५/७६ मा आत्महत्या दुरुत्साहनसम्बन्धी ९ मुद्दा परेका छन् । तीमध्ये ३ मुद्दामा फैसला भइसकेको छ । यस आवको डेढ महिनाकै अवधिमा थप ५ मुद्दा दर्ता भएको स्रेस्तेदार भुवन गिरीले बताए ।


राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका मानव अधिकार अधिकृत धनराज शाही आत्महत्याका घटना न्य्नूीकरण गर्न शिक्षा र जनचेतनामा जोड दिनुपर्ने बताउँछन् । ‘पछिल्लो समय युवामा डिप्रेसनलगायत सानो समस्याले पनि आत्महत्याको निर्णयसम्म पुग्ने गरेको समस्या देखिएको छ,’ उनले भने । कैलालीमा मात्र होइन्, आत्महत्याको अवस्था सुदूरपश्चिम प्रदेशमै भयावह छ ।


पछिल्लो ३ वर्षयता प्रदेशमा १४ सय ३५ जनाले आत्महत्या गरेका छन् । संघीय प्रहरी एकाइ कार्यालय धनगढीका प्रहरी निरीक्षक कर्णबहादुर बमले एक महिनायता प्रदेशभर ३२ जनाले आत्महत्या गरेको बताए । कार्यालयका अनुसार प्रदेशमा आव ०७३/७४ मा ४ सय ३३ जनाले आत्महत्या गरेका छन् । आव ०७४/७५ मा ४ सय ४०, गत आव ०७५/७६ मा ५ सय ३० जनाले आत्महत्या गरेका छन् ।

प्रकाशित : भाद्र ३०, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?