कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डेढ वर्षमै भत्कियो पर्खाल

३० लाख लागतमा निर्मित संरचना यति छिट्टै भत्किएपछि काम गुणस्तरहीन भएको खोजी सुरु
मोहन शाही

डोटी — राजनीतिक कार्यकर्ता पोस्न वितरण गरिने योजना कति गुणस्तरहीन छन् भन्ने उदाहरण शनिबार डोटीमा देखिएको छ । सदरमुकाम सिलगढीको मूल बजारमा डेढ वर्षअघि निर्माण गरिएको सडकको पर्खाल भत्किएको छ । 

डेढ वर्षमै भत्कियो पर्खाल

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दिपायलले उपभोक्ता समितिमार्फत बनाएको ३० लाखको पर्खाल भत्केपछि यतिबेला चर्चाको विषय भएको छ । भत्किएको पर्खाल हटाउन प्रमुख जिल्ला अधिकारी र नगरप्रमुखसहित सेना, प्रहरी, सशस्त्र र स्थानीय दिनभरि खटिए पनि बाटो खोल्न सकेनन् ।

‘दुईवटा जेसीबी र ट्र्याक्टर लगाएर दिनभरि खटिए पनि सकिएन,’ प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने, ‘मुन्तिर पुरानो पर्खालको जग रहेछ, त्यसमाथि ठूलो अग्लो थपिएको पर्खालले धान्न नसक्दा गर्ल्याम्मै ढल्यो ।’ दिपायल सिलगढी नगरपालिका–६ टुँडिखेल छेउमा निर्माण गरिएको उक्त पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेश मलासी रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन डोटीले बनाएको छ । मलासी साबिक एमाले निकट युवा संघका केन्द्रीय सदस्य हुन् ।

पर्खाल भत्किँदा मूल बजारको आवतजावत नै अवरुद्ध भएको छ भने गणेश मौनको शौचालय भत्किएको छ । पहिले नै निर्माण गरिएको पर्खालमाथि नयाँ अग्लो पर्खाल बनाइएकाले गुणस्तरीय काम हुन नसकेको प्राविधिकहरूको दाबी छ । भवन निर्माण डिभिजनबाट सरुवा भएका एक प्राविधिकले प्राविधिकको सल्लाह नमानेर राजनीतिक रूपमा हावी भएर उपभोक्ता समितिले काम गरेको दाबी गरे ।

‘त्यो टेवा पर्खाल हो, पहिले नै पुरानो पर्खाल थियो । स्टिमेटमा लाइन जोडेर पर्खाल लगाउने थियो,’ उनले भने, ‘समितिको नियत बुझेर आफूलाई आक्षेप आउने डरले मैले त्यो योजना हेरिनँ । पुरानो पर्खालमा थपेर नयाँ टेवा पर्खाल दिनु नै प्राविधिक गल्ती भएको हो ।’

त्यो योजनाको अख्तियारमा समेत उजुरी परे पनि सफाइ पाएको थियो । अख्तियारमा कम काम गरेर बढी भुक्तानी लिएका विषयमा उजुरी परेको थियो तर अख्तियारले उक्त समितिलाई तोकिएको भन्दा बढी नै काम भएको भनेर सफाइ दिएको थियो ।

आर्थिक वर्ष ०७४/०७५ मा निर्माण गरिएको सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर मोहन बिकले ३० लाख लागतमा निर्माण गरिएको जानकारी दिएका छन् । अहिले दिपायलस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय प्रदेश सरकार मातहत रहे पनि आर्थिक वर्ष २०७४/७५ मा संघीय सरकार मातहत थियो ।

राजनीतिक पहुँचमा मलासीले उक्त योजना पारेका थिए । अहिले तिनै मलासीलाई उपभोक्ता समिति गठनमार्फत पुनः दिपायल सिलगढी नगरपालिकाले ८० लाख लगानीमा टुँडिखेलको मर्मतका लागि काम दिएको छ ।

प्रकाशित : भाद्र २९, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?