बाबुआमा बेपत्ता, सन्तानको बिजोग

डीआर पन्त

डडेलधुरा — काठले बारेको एउटा झुपडी । को छ घरमा भनेर बाहिर मान्छे बोलेको आवाज सुनेपछि राजेन्द्र बाहिर निस्किए । ‘बुबा बेपत्ता भएको १५ दिन भयो । दिदी उता खाना पकाउँदै छे, सानो भाइ यही हो,’ सानुलाई देखाउँदै उनले टाउको निहुराएर भने, ‘आमा हिँडेको धेरै वर्ष भयो ।’ 

भागेश्वर ४ बगरकोटका वीरभान सार्कीका अलपत्र छोराछोरी । तस्बिर : डीआर/कान्तिपुर 

भागेश्वर गाउँपालिकाको केन्द्र बगरकोट बजारनजिकै चार पुस्तादेखि मालिकको जग्गामा झुपडी बनाएर बस्दै आएका वीरभान सार्कीका छोरा हुन् राजेन्द्र । वीरभान पाँच परिवारको हलो जोत्छन् । मालिकले दिएको अन्नपातबाट गुजारा गर्छन् । कहिलेकाहीँ गरेको मजदुरीले घर खर्चको जोहो गर्छन् । ६ कक्षामा पढ्दै गरेकी छोरी पुष्पाले आर्थिक अभावले विद्यालय जान पाइनन् ।

१५ वर्षीया पुष्पाले भनिन्, ‘आमा केही वर्षअघि पोइल गइन् । बुवा पनि १५ दिनअघि कसैलाई केही नभनी कता हिँडे कता ।’ ६५ वर्ष पुगेकी बज्यै र दुई भाइसहित तीन जना पुष्पाको जिम्मामा छन् । घरमा दुई/तीन दिनलाई पनि पुग्ने अन्न बाँकी छैन, त्यसपछि के खाने हो पुष्पालाई पनि थाहा छैन । ९ वर्षीय सानुले भने, ‘हामीलाई खानेकुरा ल्याउन बज्यै गाउँतिर गएकी छन् ।’

कक्षा ४ मा पढ्ने सानु र कक्षा ६ का राजेन्द्र दुवै विद्यालयमा अब्बल विद्यार्थी भएको शिक्षक बताउँछन् । ‘बुवा फर्किएनन् भने मैले स्कुल छोड्नुपर्ने अवस्था हुन्छ,’ राजेन्द्रले भने, ‘बज्यै सक्दिनन्, दिदीले मात्र काम गरेर खान लाउन पुग्दैन । मैले काम नगरेर हुँदैन ।’ पुष्पाचाहिँ जसरी पनि दुवै भाइलाई पढाउने दृढता व्यक्त गर्दै भन्छिन्, ‘बज्यैको भत्ता आउँछ, म काम गरेर कमाउँछु । भाइहरूको पढाइ छुटाउँदिनँ ।’

हलिया मुक्तिका लागि सरकार र दातृ संस्थाले ३ अर्ब बढी खर्च गरिसक्दा पनि हलिया पुनःस्थापना कार्यक्रमले छुन नसकेका वीरभान जस्तै अवस्था भएका एक दर्जन बढी हलिया परिवार बगरकोट गाउँपालिका केन्द्र नजिकै छन् । गाउँमा धेरै टाठाबाठाले हलिया मुक्तिका लागि राज्यले दिएको सुविधाअन्तर्गत पक्की घर बनाइरहेका छन् ।

जीवनमा कहिल्यै हलो नसमातेका व्यक्ति ‘क’ वर्गको हलिया वर्गीकरणमा परेका छन् । डडेलधुरा सदरमुकामदेखि कैलाली कञ्चनपुरमा समेत घरघडेरी भएका व्यक्तिले जमिन खरिद गर्नेदेखि घर बनाउनेसम्मको रकम सरकारबाट बुझेका छन् तर ५/५ परिवारको हलेटी बसेका वीरभान जस्ता भने हलियाको सूचीमा समेत पर्न सकेनन् ।

बगरकोटका हलिया परिवार मात्र होइन । जिल्लाका विभिन्न ठाउँमा पुस्तौंदेखि हलो जोत्दै आएका सयौं वास्तविक हलिया परिवारको पनि वीरभानको जस्तै अवस्था छ । हलिया पुनःस्थापना कार्यक्रम सुरु भएपछि धेरैजसो हलिया परिवार गुजारा गर्न तराईतिर विस्थापित भइसकेका छन् । ‘हलियाका नाममा हुने खाने परिवारले सुविधा पाए भन्नै पनि लाजलाग्दो अवस्था छ,’ भागेश्वरका दलित अगुवा नन्दी टमटाले भने, ‘भूमिहीन हलिया परिवारमध्ये १० प्रतिशतले पनि राज्यको सुविधा पाउन सकेको देखिँदैन ।’

‘जसले दिनहुँ सदरमुकाम धाउन सके, हलिया मुक्ति कार्यक्रमका नेताहरूलाई रिझाउन सके, पाउने सुविधाबाट घूस दिन सके तिनीहरूले सहज रूपमा हलियाको नाममा आएको सुविधा पाए,’ उनले भने, ‘घरबार नभएका मालिकको निगाहमा बाँचेका हलेटी छुटेपछि गुजारा गर्न कामबाटै फुर्सद नपाएका वास्तविक हलिया सुविधा पाउनबाट वञ्चित छन् ।’

घरवारविहीन धेरैजसो मुक्त हलिया परिवारको अवस्था वीरभानको जस्तै छ । भूमि अधिकार मञ्च डडेलधुरा अध्यक्ष चक्र दमाई पनि वास्तविक हलिया परिवारको अवस्था दयनीय रहेको बताउँछन् । ‘वास्तविक हलिया परिवारमध्ये धेरैजना परिवारको गुजारा गर्न नसकेर पलायन भएका छन्,’ उनले भने ।

बगरकोटका वीरभान पनि गाउँमा बसेर छोराछोरी पाल्न मुस्किल भएकै कारण विस्थापित भएको उल्लेख गर्दै अध्यक्ष दमाई भन्छन्, ‘सिजनमा हलो जोत्ने र बाँकी समय रोजगारीका लागि भारत जाने परम्परा पहिलेदेखिकै हो । धेरैजसो हलिया परिवार गाउँ नै छाडेर विस्थापित हुन थालेका छन् ।’ पटकपटक सूचीकृत हुन सूचना जारी गर्दा पनि धेरै परिवार सूचीकृत हुन नसकेको उनले बताए । ‘कोही रोजगारीका लागि बाहिर थिए, कसैले जानकारी पाएर पनि दर्ता हुन सदरमुकाम धाउन सकेनन्,’ उनले भने, ‘केही सूचीमा परे पनि वर्गीकरणमा पर्न सकेनन् ।’

पछिल्लो समय हलिया पुनःस्थापना कार्यक्रम सरकारले स्थानीय तहलाई जिम्मा दिने निर्णय गरे पनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । मालपोत कार्यालयमार्फत चलिरहेको कार्यक्रमा पटकपटक आर्थिक अनियमितता हुन थालेपछि स्थानीय तहको जिम्मा दिन गरिएको निर्णय पनि कार्यान्वयनमा आउन सकेको छैन ।

‘वास्तविक हलिया पलायन मात्र भएका छैनन्, गाउँबाट निस्केपछि कहाँ गए भन्ने जानकारीसम्म कसैलाई छैन,’ कञ्चनपुर सिमानामा पर्ने भारतीय गाउँबाट फर्किएका भागेश्वर–४ का दलजित सार्कीले भने, ‘अधिकांश हलिया परिवार सीमा नजिकका भारतीय गाउँमा पलायन भएको देखिन्छ ।’ उखु काट्ने मौसममा काम खोज्न जाने र अरू बेला मजदुरी गरेर गुजारा चलाउन सहज हुने भएकाले सीमापारि पुग्न थालेको उनले बताए ।

यसरी गाउँ नै छाडेर पलायन भएका हलियाको तथ्यांक कति छ भन्ने जानकारी कुनै निकायसँग छैन । भूमि अधिकार मञ्चका अध्यक्ष दमाईले भने, ‘मुक्त हलिया पलायन हुन थालेको विषयमा कसैले सोधखोजसमेत गरेको पाइँदैन ।’ तथ्यांक नभए पनि विस्थापित हुनेको संख्या भने निकै ठूलो हुन सक्ने उनले बताए ।

प्रकाशित : भाद्र २९, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्

सैनडाँडामा धामी नाच

देउडाको घमासान प्रतियोगितामा हारजितले वैवाहिक सम्बन्ध कायम गराउने मेला पछिल्ला केही वर्षयता संस्कृति संरक्षणमा केन्द्रित
वसन्तप्रताप सिंह

बझाङ — साउनको अन्तिम सातादेखि बझाङ मेलामय छ । सुर्माको विरिजात, लेकगाउँको विर्सतीलगत्तै खप्तड छान्ना गाउँपालिकामा लाग्ने सैनडाँडाको जात (जात्रा) सुरु भएको छ । असोज शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुने यो मेला तीन दिनसम्म चल्छ । मेलाको मुख्य आकर्षण धामी नाच हो ।

बझाङको सैनडाँडा मेलामा नाच्दै गरेका छान्ना क्षेत्रका धामी ।तस्बिर : वसन्तप्रताप/कान्तिपुर

खप्तड दहमा रहेको मन्दिरबाट डोली ल्याएर पाटादेवलमा रहेको खापरमाडौं मन्दिरमा चढाएपछि यो मेलाको विधिवत् सुरुवात हुन्छ । मेला भर्नका लागि बझाङलगायत अछाम, बाजुरा र डोटीबाट दर्शनार्थीहरू आउने गर्छन् । छान्ना क्षेत्रमा रहेका विभिन्न मठमन्दिरका धामीहरूको सामूहिक धामी नाच यो मेलाको मुख्य आकर्षण हो ।

सैनडाँडा मेला देउडाका लागि पनि सुदूरपश्चिम प्रदेशमै चर्चित छ । छिमेकी जिल्लाहरूबाट आएका महिला र पुरुषबीच घमासान देउडा खेलहरू चल्छन् । केही वर्ष अघिसम्म यही मेलामा देउडा दोहोरी खेलेर जितहार भएपछि उसैसँग विवाह गर्ने चलन पनि थियो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्याक्रमको समेत आयोजना गरिएको मेलास्थल रहेको वडा ६ का अध्यक्ष तिलक खड्काले बताए ।

महाभारत कालमा पाण्डवका पुरोहित धौम्य ऋषिले कुरु क्षेत्रमा भएको गोत्र हत्याको पापमोचन गर्नका लागि खप्तडमा गएर शिव दर्शन गर्न सुझाएको किंवदन्ती छ । पापमोचनका लागि खप्तड आएका बेला पाण्डवले खप्तडछान्ना गाउँपालिकाको पाटादेवलमा रहेको खापरमाडौं आई खापर देवताको पूजा गरेको किंवदन्ती छ । पाण्डवहरूले यहाँ यज्ञमा प्रयोग भएका सामानहरू खप्तडमा रहेको त्रिवेणीमा सेलाएको र पाण्डवहरूले नै यो मेलाको सुरुवात गरेको स्थानीयको विश्वास छ ।

अर्को किंवदन्तीअनुसार पाटादेवलमा रहेको खापरदेवको स्थापना भएपछि १२८० मा जुम्ली महाराज नागराजको छोरा महाराज क्रश्चल र तिनका छोरा अशोक चल्लले राज्य विस्तार गर्न कुमाउ गढवालतिर आक्रमण गर्ने सिलसिलामा खापर देवताको ढुकुटीसमेत लुटेर लगेका रहेछन् ।

पछि खापर देवताले आफ्नो ढुकुटी लुटेको भन्दै जुम्ली राजाका परिवारलाई दुःख दिन थालेपछि सिजापति राजाले पछुतो गर्दै माफी मागेर लुटेको धनको दोब्बर सम्पत्ति बुझाएको भन्ने कथा पनि यो मेलासँग जोडिएको छ । त्यसपछि सिजापति राजा कालीगढसहितको फौजमा खापरमाडौं आएर स्थानीय बासिन्दा भेला गराई लुटेको दोब्बर सम्पत्ति फिर्ता गराएपछि उत्सवमय माहोलमा पूजा गरेका थिए ।

त्यही बेलादेखि मेलाको सुरुवात भएको भन्ने भनाइ रहेको पाटादेवलका सूर्य थापाले बताए । त्यसबेला सिजापति महाराज जितारी मल्लका भाइले खापरमाडौंमा राखेका शिलालेख, ढुंगामा कुँदिएका मूर्तिहरू हालसम्म पनि यथावत् छन् ।

सैनडाँडा मेला बान्नी चैलती, लेकगाउँको विर्सती र चैनपुरको सिलदेवीपछिको चौथो ठूलो मेलाका रूपमा लिइन्छ । पछिल्लो समय यो मेलाले देउडा संस्कृतिको जगेर्ना गर्नका लागि भूमिका खेलेको बझाङको इतिहास तथा संस्कृतिका अध्येता विष्णुभक्त शास्त्री बताउँछन् ।

प्रकाशित : भाद्र २९, २०७६ १०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्