आयातित बीउ रोगी

कञ्चनपुर — धानमा रोग लागेको भन्दै भीमदत्त–१८ का एक कृषक धानको बोटसहित कृषि ज्ञान केन्द्रको कार्यालयमा पुगे । उनले बोकेको बोट हेर्दा मरुवा रोग लागेको जानकारी गराउँदै प्राविधिकहरूले उपचार प्रक्रिया बताए । रोग लागेको उक्त धान ‘सर्जु ब्राउन’ जातको हो । भारतबाट अवैध रूपमा आयात गरिएको उक्त बीउ नेपालमा सूचीकृत पनि छैन । 

आयातित बीउ रोगी

बाली संरक्षण प्रयोगशाला सुन्दरपुरले जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चालन गरेको बाली शिविरमा पनि अधिकांश भारतबाट ल्याएर लगाइएका बीउमै रोग बढी देखिएको प्राविधिकले बताएका छन् । उक्त क्षेत्रमा पनि सर्जु ब्राउनसँगै शंकरलगायतका जातमा रोग देखिएको हो ।


‘बाली शिविरमा आधाभन्दा बढी रोग भारतबाट आयात गरिएको बीउमा देखियो,’ प्राविधिक सहायक अम्बादत्त विष्टले भने, ‘धेरैजसो रोग भारतीय बीउबाटै भित्रिएको हुन सक्छ ।’ उनका अनुसार बाली शिविरमा उपचारका लागि नमुना ल्याइएका धानमध्ये आधा बढी भारतीय नै थिए । नयाँ बीउ ल्याएर लगाउनुअघि प्राविधिकसँग सल्लाह नगर्ने किसानको बानीले आफैंलाई मर्का परेको उनले बताए ।


यहाँको अन्न बाली हुने क्षेत्रमा परम्परागत रूपमा पुरानै जातको धान लगाउने चलन छ । कतिपय किसान भारतबाट ल्याइएकै बीउ पनि लगाउँछन् । कृषि प्राविधिकले नेपालमा सूचीकृत नभएका जात नलगाउन सल्लाह दिने गरे पनि किसानहरू समस्या आएपछि मात्रै शिविर र प्रयोगशाला पुग्ने गरेका छन् ।


‘सर्जु ब्राउनमा भएको ढुसीले महामारीको रूप लिएमा झापादेखि कञ्चनपुरसम्मको धान एकैपटक सखाप हुन सक्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने, ‘यसको ढुसी एकपटक माटोमा बस्यो भने वर्षौंसम्म रहिरहन्छ र विभिन्न माध्यमबाट अन्यत्र सर्दै जान्छ ।’ यसमा ब्लास्ट रोगको संक्रमण पनि बढी हुने गरेको उनले बताए ।


भात मीठो हुने र मौसमअनुकूल भए धेरै फल्नुका साथै पराल राम्रो हुने भएकाले उक्त भारतीय जात किसानको रोजाइमा छ । बोट छोटो भएका कारण हावाहुरीले नढल्ने भएकाले पनि कृषकको रोजाइमा पर्ने गरेको हो । यसमा बर्सेनि रोग लागेर कृषकहरू आउने गरे पनि लगाउन नछाड्ने प्राविधिकहरू बताउँछन् ।


सर्जु ब्राउनका गुण, अवगुणबारे कृषि प्राविधिका मत पनि फरकफरक छन् । कतिपय यो जात कृषकको रोजाइमा पर्ने भएकाले यसलाई सूचीकृत गरेर रोगको निदानतर्फ लाग्नुपर्ने बताउँछन् भने कतिपय यसले धानबालीमा ठूलो असर गर्न सक्ने भएकाले प्रतिबन्ध नै लगाउनुपर्ने बताउँछन् ।


यस क्षेत्रमा भारतबाट आयात गरिएका सर्जु ब्राउनसँगै शंकर, शिल्की र वर्णशंकर जातका धानहरू लगाइने गरिन्छ । यी जातका धान नेपालमा सूचीकृत छैनन् । कञ्चनपुरका विभिन्न क्षेत्रमा रहेका एग्रोभेटहरूले अवैध रूपमा भारतीय बीउ बिक्री गर्दा पनि कृषकहरूले सजिलै पाइने भन्दै रुचाउने गरेका छन् ।


कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनले अनुगमन गर्दा पनि महेन्द्रनगर तथा आसपासका क्षेत्रमा अवैध धानको बीउ बिक्री भइरहेको भेटिएको थियो । अनुगमन टोलीले कतिपय एग्रोभेट सिल पनि गरेको थियो ।

प्रकाशित : भाद्र २९, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?