३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

डेंगु रोकथाममा ढिलाइ

निर्मला खडायत

धनगढी — कैलालीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै गएको पाइएको छ । रोकथामका उपायबारे सम्बन्धित निकायले कार्यक्रम सञ्चालन नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । धनगढी उपमहानगरपालिका र प्रदेश सरकारले हालसम्म कुनै कार्यक्रम सञ्चालन गरेका छैनन् । 

डेंगु रोकथाममा ढिलाइ

उपमहानगरका स्वास्थ्य शाखा स्वास्थ्य सहसंयोजक कुम्भ शर्माले केही दिनमै नगरका स्वास्थ्य स्वयंसेविकाको सहयोगमा लार्भा नष्ट गर्ने अभियान सुरु गर्ने बताए । ‘अबको २/४ दिनमा स्वयंसेविकाहरू घरघरमा परिचालन गरेर लामखुट्टेका लार्भा नष्ट गर्छौं,’ उनले भने ।


कैलालीमा हालसम्म १७ जनामा डेंगुको संक्रमण देखिएको छ । उपमहानगर प्रमुख नृपबहादुर वडले भने जिल्लामा डेंगुका संक्रमित फेला परेको भए पनि आफ्नो नगरमा अहिलेसम्म संक्रमित फेला नपरेकाले त्यति डराउनुपर्ने अवस्था नरहेको बताए । ‘डेंगु नियन्त्रणको अभियान र कार्यक्रम अबको केही दिनमै घरदैलोबाट थाल्छौं,’ उनले भने ।


जिल्लामा डेंगुको संक्रमणको दर बढेको खबर आइरहँदा उपमहानगरपालिकाले रोकथामका लागि कार्यक्रम नगरेकामा नगरवासीले चिन्ता व्यक्त गरेका छन् । नगरमा केही समस्या देखिँदा स्थानीय सरकार त्यसको न्यूनीकरण र समाधान गर्न अग्रसर देखिनुपर्नेमा त्यसो हुन नसकेको धनगढी–१ का केशव विष्टले बताए ।


‘सामाजिक संघसंस्थाले थालेको अभियानमा स्थानीय सरकारले अगुवाइ गर्नुपर्छ,’ उनले भने । डेंगुविरुद्ध जनचेतनाका कार्यक्रम ल्याउने विषयमा प्रदेश सरकारले पनि ढिलाइ गरेको छ । ‘समस्या बल्झिसकेपछि हतारो गर्नुभन्दा नगरपालिका र प्रदेश सरकारले समस्या सुरु हुनेबित्तिकै चनाखो हुन जरुरी छ,’ धनगढीको हसनपुरका आदित्य क्षेत्रीले भने, ‘कैलालीमा डेंगु संक्रमण बढ्दै गएको छ । सम्बन्धित निकायहरू थाहा नपाएजस्ता देखिन्छन् ।’ नगरपालिकाले घरदैलो अभियान गरेर जनतालाई डेंगुबारे जनचेतना फैलाउन जरुरी रहेको उनले बताए । समयमै रोग नियन्त्रण गर्न सकिएन भने डेंगुको महामारी हुन सक्ने उनले औंल्याए ।


रोटरी क्लब अफ धनगढीले जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ । क्लबले डेंगुसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरेको हो । चिकित्सकसहितको टोली लिएर डेंगु सर्ने कारण र नसर्न अपनाइने उपायबारे क्लबले ८ विद्यालयका छात्रछात्रालाई जानकारी दिइसकेको क्लब अध्यक्ष हरिशंकर ठाकुरले बताए । धनगढीका १५ विद्यालयमा सचेतनात्मक कार्यक्रम गर्ने योजना छ ।

प्रकाशित : भाद्र २९, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?