१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

संस्कृति जोगाउन मेला

मेलाका लागि वडाले सुरक्षा प्रबन्ध, मदिरा निषेधित क्षेत्र घोषणासँगै विभिन्न क्षेत्रबाट आउने पाहुनालाई मेलाबारे जानकारी दिने काम गरेको छ
तृप्ति शाही

बैतडी — देहिमाण्डौंको निङलाशैनी मन्दिर क्षेत्रमा मंगलबारदेखि चललपहल बेग्लै थियो । जिल्लाभरबाट आएका दर्शक तथा दर्शनार्थीको घुइँचो, मन्दिरमा पूजा गर्नेहरू, मन्दिर क्षेत्रको चौरमा महिला/पुरुषले बेग्लाबेग्लै घन्काएका देउडा गीतका भारी खेल ।

संस्कृति जोगाउन मेला

देउडामार्फत आफ्ना दुःखसुख साटासाट हुने भएकाले वरिपरि बाक्लो उपस्थिति थियो । धेरैसजो बुढापाका खेलको बीचमै पसेर आनन्द लिइरहेका थिए । आफन्त, नातागोता र साथीभाइसँग लामोसमयपछि भेटघाट भएकाले कतिपय हँसिला देखिन्थे ।


बैतडीको दशरथचन्द नगरपालिका २ को देहिमाण्डौं बजारमा मंगलबारदेखि जाँत (मेला) चलेको छ । परापूर्वकालदेखि चल्दै आएको यो मेला वर्षको ४ पटक लाग्ने गरेको बुढापाकाहरू बताउँछन् । मेला भर्न सुदूरपश्चिमका विभिन्न जिल्लाहरूका साथै भारतको झुलाघाट, पिथौरागढलगायतका स्थानबाट दर्शनार्थी आउने गरेका छन् । रातदिन मन्दिरमै बसेर पूजा र नाचगान गर्ने चलन छ ।


जाँतको पहिलो दिनलाई तृतीया, दिनको मेलालाइ नानी र अर्को दिनलाई ठूली जात भन्ने गरिएको र अन्तिम समापनको दिनलाई पुनिउ भन्ने गरिएको स्थानीय अनीता बोहराले बताइन् । मेलाको तेस्रो दिन ठूली जाँत हुने र २ स्थानका चन्द ठकुरीहरूले जात भनेर बाजागाजासहित मेलामा आउने पूजापाठसँगै देउडा खेल्ने र रमाइलो गर्ने गर्छन् ।


सदरमुकाम क्षेत्रका बासिन्दालाई ‘बैतडा’ भन्ने चलन छ भने ‘स्वराडी’ को नामबाट तल्लोस्वराड क्षेत्रका चन्दहरूले जाँत ल्याउने गर्छन् । धूमधामसाथ मन्दिर परिक्रमा गर्ने चलन रहेको दशरथचन्द नगरपालिकाकी सुशीला चन्दले बताइन् । दुबै क्षेत्रबाट आएकाहरूले प्रतिस्पर्धाको आधारमा बाजागाजासहित रमाइलो गर्ने गरेका उनले बताइन् ।


भगवती मन्दिर भएकाले यो मेला अनन्त चर्तुदर्शीको अवसरका लाग्ने गरेको निङलाशैनी धार्मिक सेवा समितिको देउडा समिति संयोजक प्रेमसिंह बोहराले बताए । स्थानीय बासिन्दाले संस्कृति जोगाउन मेलालाई भव्य बनाउँदै आएको उनले बताए ।


देउडालाई बढी महत्त्व दिने यस मेलामा जिल्ला बाहिरबाट पनि देउडिया र हेरालुहरू आउने गरेका बोहराले बताए । साथै पूजाका लागि पनि धेरै टाढाबाट दर्शनार्थी आउने गरेका उनले बताए । जिल्लावासीसँगै पुरानो घर यहि भएर हाल विभिन्न जिल्लामा बसेकाहरू पनि कुल पूजा गर्न मेलामा निङलाशैनी आउने गरेको उनी बताउँछन् । उनले भने, ‘धेरै ठूला देउडाका खेलहरू हुने मेलामा विभिन्न समूहहरूको प्रतिस्पर्धा पनि हुने गरेको छ । निङलाशैनी धार्मिक सेवा समितिले प्रतियोगिताको आयोजना गर्ने गरेको छ । बर्सेनि हुने मेलामा धेरै समूहले सहभागीता जनाउने गरेका छन् । ‘यसपाली पनि ६ समूह आएका थिए ।’


पुरापूर्व कालदेखि हुँदै आएका मेला पर्वहरूमा रितिरिवाज र मौलिक संस्कृति जोगाउन निरन्तरता दिइँदै आएको दशरथचन्द नगरपालिका २ का वडाध्यक्ष रनबहादुर बोहरा बताउँछन् । पछिल्ला दिनमा स्थानीय तहले पनि सहयोग गर्ने गरेको बताउँदै उनले मन्दिर व्यवस्थापन समितिले वडालाई नै जिम्मा दिएको बताए ।


वडाले सुरक्षाको प्रबन्ध मिलाउनेदेखि मेला अवधिभर मदिरा निषेधित क्षेत्र घोषणा गर्ने, विभिन्न क्षेत्र, कार्यालयबाट आउने पाहुनाहरूलाई मेलाबारे जानकारी गराउनेलगायत काम गर्ने गरेको उनले बताए । आफ्नो संस्कृति भएकाले हेर्न र जर्गेना गर्न मेलामा पुगेको प्रदेशसभा सदस्य लीलाधर भट्टले बताए ।

प्रकाशित : भाद्र २८, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?