कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चमेलिया तटीय क्षेत्रमा बाटाकै समस्या

दार्चुला — चमेलिया जलविद्युत् आयोजनाको बाँधस्थलनजिक तारबार नहुँदा जोखिम बढाएको छ । त्यही कारण आसपासका स्थानीय र बिटुले–लटिनाथ खण्डका यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । 

आयोजनाको बाँध भरिँदा तटीय क्षेत्रमा कटान गरिरहेको छ । नदी आसपासको खेतीयोग्य जमिन र पुराना बाटा कटान भइसकेका छन् । बाँधछेउमै पैदल बाटो रहेकाले दिनहुँजसो जोखिम मोलेर हिँड्नु परेको सेरीका गगने धामीले बताए । ‘हिउँदमा पनि बाँधमा पानी जम्मा गरिने हुँदा जोखिम मोलेर हिड्नुपर्ने अवस्था छ,’ उनले भने, ‘ज्यानकै बाजी थापेर सधै बाँध किनारको हिँड्नुपर्ने बाध्यता छ । यसअघि १५ मिनेट लाग्ने बाटो २ घण्टामा बढी समय लाग्ने गरेको छ ।


बाँधले मार्मा र अपीहिमाल गाउँपालिका जाने सडकमासमेत जोखिम बढाएको छ । बिटुले–लटिनाथ सडक चमेलिया आयोजनाको बाँधस्थलको किनारै–किनार छ । सुरुदेखि चमेलिया नदी किनारमा रहेको उक्त बाँध बनेपछि केहि ठाउँमा भत्केको छ । सडकको ट्र्याक केही माथि खोल्नुपर्दा भत्केको ठाउँमा सडकको ग्रेड मिलान नहुँदा जोखिम बढाएको स्थानीय रामसिंह धामीले बताए ।


गत वर्ष सेरीका बासिन्दा तथा नौगाड गाउँपालिकाका केही स्थानीयले प्रयोग गर्दै आएको बिटुले र सेरी जोड्ने झोलुंगे पुल चमेलिया जलविद्युत् आयोजनाको ड्यामका कारण डुबानमा परेको थियो । मार्मा गाउँपालिका ३ र ६ वडा जोड्ने चमेलिया नदीमाथि झोलुंगे पुल डुबानमा परेपछि नयाँ पुल निर्माण गरिएको हो । पुरानो झोलुंगे पुल डुबान र पुरानो बाटो ड्याम साइटका कारण विस्थापित भएपछि नयाँ बाटो र पुल निर्माण गरिएको थियो । पुरानो पुल ड्यामका कारण डुबानमा परेपनि नदीबाट निकालिएको छैन ।


बाँध स्थलको भिरालो बाटोमा रेलिङसमेत निर्माण गरिएको छैन । पैदल यात्रुदेखि यातायातका साधनसमेत यही बाटो भएर आवतजावत गर्ने हुँदा जोखिम बढाएको छ । त्यस क्षेत्रमा झन्डै डेढ फिटको फराकिलो बाटो निर्माण गरिएकोमा स्थानीय आक्रोशित छन् । स्थानीय बासिन्दालाई झुक्याइएकाले उक्त बाटोमा कुनै घटना भए त्यसको जिम्मेवारी आयोजनाले लिनुपर्ने स्थानीयको भनाइ छ ।


आफूहरूले आँगनको डिलमै निर्माण भएको आयोजनाको बत्ती बाल्न नपाएकोमासमेत स्थानीय बासिन्दा आक्रोशित छन् । आयोजना निर्माणपूर्व नै स्थानीयलाई बिजुली उपभोग गराएपछि जिल्ला बाहिर पठाउने सहमति थियो । तर कार्यान्वयन भने भएन । उत्पादन हुन थालेको महिनामै स्थानीयको घरघरमा बत्ती बाल्ने आश्वासन दिए पनि अहिलेसम्म लाइनसमेत विस्तार हुन नसकेको सेरीका रामदत्त पन्तले बताए । ‘आँगनमै विद्युतको ड्याम भएर पनि बत्ती बाल्न पाएका छैनौं,’ उनले भने, ‘विद्युत् बाल्न नपाएको समस्या एकातिर छ । जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अर्कोतिर छ ।’

प्रकाशित : भाद्र २८, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?