बादी बस्तीमा खानेपानी

वसन्तप्रताप सिंह

बझाङ — वर्षौंदेखि सेती नदी र बाउलीगाडको दूषित पानी पिउन बाध्य सदरमुकाम चैनपुरका बादी परिवारहरूले शुद्ध पिउने पानी पाएका छन् । जयपृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्ट र तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको पहलमा बादी बस्तीमा चौविसै घण्टा निःशुल्क पिउने पानीको सुविधा उपलब्ध भएको हो । 

बादी बस्तीमा खानेपानी

चैनपुरको दक्षिणी कुनामा रहेका १५ परिवार बादीले पिउने पानीको अभावमा सेती नदी, बाहुलीगाड र चैनपुर वजार भएर बग्ने खुला नहरको पानी प्रयोग गर्दै आएका थिए ।


उनीहरूको खानेपानीको समस्या देखेपछि तत्कालीन प्रजिअ सुनारले व्यक्तिगत रूपमा आवश्यक पाइप उपलब्ध गराएका थिए । साथै वडाध्यक्ष विष्टले आफ्नो निजी मुहानबाट बादी बस्तीमा चौबीसै घण्टा उपलब्ध हुने गरी पानीको स्रोतमा पहुँच दिनुका साथै आफ्नो व्यक्तिगत खर्चमा धारा र ट्यांकीसमेत जडान गरिदिएका हुन् ।


दिसा, पिसाब र बजारभरिको फोहोर बगेको देख्दा सेती नदी र बाउलीगाड खोलाको पानी पिउँदै आएका बादी समुदाय आफ्नै घरमा चौबीसघण्टे शुद्ध पानी पाएपछि दंग परेका छन् । ‘दिसा पिसाब मात्र हैन, मरेका पशुचौपया बगेको देख्दादेख्दै पनि हामीले फोहोर पानी पिउनुपर्ने बाध्यता थियो,’ चैनपुरकी लक्ष्मी बादीले भनिन् ‘यसरी घरको ढोका मै चौबिस घण्टा चल्ने धारा आउलान भनेर सपनामा पनि चिताएका थिएनौं । अहिले घरमै पानी ल्याइदिनुभयो । उहाँहरूको जय होस् ।’ योजना पूरा गर्न करिब ५० हजार रुपैयाँ खर्च भएको हो ।


बस्तीमा १५ परिवारको बसोबास छ । ‘आँगनमै चौबीस घण्टा पानी देख्दा सपना जस्तो लागेको छ,’ राधा बादीले भनिन्, ‘दूषित पानी पिउनु पर्दा रोगले सताएको थियो ।’ यअसघि खानेपानीको माग गर्दै पटकपटक जयपृथ्वी नगरपालिका, चैनपुर खानेपानी उपभोक्ता समिति धाए पनि कसैले पनि चासो नदिएको बम्म बादीले सुनाए ।


जिल्ला अस्पतालका प्रमुख डा. सन्दीप ओखेडाका अनुसार सदरमुकाम चैनपुरमा बसोवास गर्ने अन्य समुदायभन्दा पानीजन्य रोगको संक्रमण बादी समुदायमा बढी देखिने गरेको थियो । ‘फोहोर पानीका कारण बादीका समुदाय दैनिक जस्तो विरामी भएर अस्पताल आउने गरेका थिए । यहाँ शुद्ध पानीको व्यवस्था भएछ, राम्रो भयो,’ उनले भने । फोहोर पानीकै कारण उनीहरूमा झाडापखाला, आउँ, रुघाखोजी जस्ता संक्रमणबाट ग्रसित हुने गरेका थिए । कतिपयले त ज्यानसमेत गुमाएको उनले बताए ।


सेती नदी र बाहुलीगाड खोलामा पानी लिन जाँदा केही दिनअघि आफ्नो छोरी नदीमा खसेको र सँगैका साथीहरूले उद्धार गरेको सम्झँदै हरिना बादीले भनिन्, ‘पानीकै कारण झन्डै छोरी गुमाइसकेकी थिएँ । संयोगले बाँची ।’ पानी लिन जाँदा चिप्लो अफ्ठ्यारो बाटोमा लडेर धेरै घाइते भएको र केटाकेटीहरूले पानी बोक्ने भाँडाकुँडा पनि बगाउने गरेको सम्झँदै उनले अब पानीको दुःखका दिन अन्त्य भएको बताइन् ।


वडाध्यक्ष विष्टले बादीको खानेपानीका दुःख देखेर आफुले व्यक्तिगत लगानीमा बनाइदिएको बताए । बझाङ सदरमुकाम चैनपुरमा भने वर्षौंदेखि खानेपानीको अभाव यथावत छ । खर्च गर्न सक्ने व्यक्ति र व्यापारीहरूले निजी मुहान किनेर आफ्नै निजी लगानीमा खानेपानीको व्यवस्था गरेका छन् ।

प्रकाशित : भाद्र २८, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?