३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

महिनावारी हुँदा पढाइ ठप्प

मेनुका ढुंगाना

अछाम — अछामका कतिपय विद्यालयका शौचालय प्रयोग गर्न नमिल्ने अवस्थामा छन् । शौचालयमा पानी नभएर फोहोरले भित्र पस्नै मुस्किल हुन्छ । त्यसैमा छात्रामैत्री नहुँदा महिनावारी भएका बेला छात्राहरू विद्यालय जाँदैनन् ।

महिनावारी हुँदा पढाइ ठप्प

‘विद्यालयमै महिनावारी हुँदा प्याड पाइने भए पनि प्रयोगपछि फ्याँक्ने ठाउँ छैन । रगत धेरै बगे समस्या आउन सक्छ भनेर २ वटा सुतीको प्याडसँगै प्रयोग गर्छु,’ शोड्षा माविमा कक्षा १० का छात्रा शर्मिला बोगटीले भनिन्, ‘प्याड बदल्न घरै जानुपर्छ । महिनावारी भएका बेला पढाइतिर ध्यानै जाँदैन ।’


चाहेर पनि विद्यालय जान नसक्ने र गए पनि बीचमै पढाइ छोड्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुनेगर्छ । विद्यालय जान नपाएपछि महिनावारीका बेला तनाव हुने छात्राहरू बताउँछन् । ‘महिनावारीका बेला पुरै विषय अहिलेसम्म पढ्न पाएको छैन । चर्पी फोहोर छ, झारीमा प्याड फ्याँक्नुपर्छ । त्यहाँभित्र पनि जताततै प्रयोग भएका प्याड छन् । यसले रोग निम्त्याउँछ कि भन्ने डर लाग्छ,’ कक्षा ८ मा अध्ययनरत शारदा भाटले भनिन्, ‘स्कुलमा शौचालयको समस्या छ ।’


महिनावारीको अवधिमा एकातिर पढाइ छुट्ने र अर्कोतिर छाउगोठमा बस्नुपर्ने भएकाले पढाइ बिग्रने गरेको छाात्रा आइशा ढुंगाना बताउँछिन् । ‘महिनाको ६ दिनसम्म छाउगोठमा बस्नाले पढाइ छुट्छ । मानसिक तनाव हुन्छ नै ।’


जनप्रतिनिधि, शिक्षक अभिभावकसँग पटकपटक आफ्नो समस्या राख्दा पनि वेवास्ता गरेको उनीहरू बताउँछन् । ‘शिक्षकहरूको प्रयोग गर्ने छुट्टै शौचालय छ । तर विद्यार्थीले प्रयोग गर्ने शौचालयको अवस्था ठिक छैन । हामीलाई पनि समस्या छ । तर धेरै समस्या छात्राहरूलाई छ । यसबारे कसैले चासो लिएको देखिँदैन,’ कक्षा १० का छात्र टंक तिमिल्सेनाले भने ।


विद्यालयमा शौचालयको समस्या पानीकै कारण निम्तिएको शोडषा माविका प्रधानाध्यापक देवेन्द्र दुबेले बताए । ‘विद्यालयमा पानी भयो भने समस्या समाधान हुन्छ,’ उनले भने, ‘छात्राहरूलाई निकै समस्या छ । पानीको बन्दोवस्त गर्ने प्रयास गरिरहेका छौं । जनप्रतिनिधि, समुदाय र अभिभावकको साथ भयो भने चाँडै समस्या समाधान गर्छौं ।’


सरसफाइ महत्त्वपूर्ण

लामो समयसम्म एउटै प्याड प्रयोग गर्ने र महिनावारी भएका बेला सरसफाइमा ध्यान नदिए विभिन्न रोगहरूले संक्रमण हुनसक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । महिनावारीका बेला प्रयोग गरिने प्याड, लुगा वा न्यापकिन कस्तो प्रकारको छ र कति समयको अन्तरालमा परिवर्तन गर्ने गरिन्छ यी सब कुरा सीधै स्वास्थ्यसँग जोडिने सिनियर अनमी मीरा साउँद बताउँछिन् ।


स्वास्थ्यकर्मीहरूका अनुसार महिनावारीका बेला प्रत्येक ४ घण्टामा प्याड बदल्नुपर्छ । घरेलु कपडाको टुक्रा प्रयोग गर्नुपर्ने अवस्थामा प्रत्येक २ घण्टामा बदल्नुपर्छ ।

प्रकाशित : भाद्र २७, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?