ओझेलमा बारिल छडा झरना

वसन्तप्रताप सिंह

बझाङ — बझाङमा पर्यटकहरूलाई आकर्षित गर्नसक्ने हिमाल, ताल तलैया, झरनालगायत अनेकौं प्राकृतिक सुन्दर गन्तव्य छन् । तर आवश्यक प्रचार र प्रवर्द्धन अभावले प्रायः सबैे गन्तव्य गुमनाम छन् । यसैमध्येको एक सदरमुकामनजिकै रहेको बारिल छडा झरना पनि हो ।

ओझेलमा बारिल छडा झरना

जिल्लाको केन्द्र भागमा रहेको सदरमुकाम चैनपुरबाट १५ मिनेटको दूरीमा रहेको यो झरना निकै आर्कषक छ । तर यसबारे कतिपय सदरमुकामका बासिन्दालाई पनि जानकारी छैन । जयपृथ्वी नगरपालिका ९, बारिलमा पर्ने यस झरनाको प्राकृतिक सौन्दर्यको प्रचार नहुँदा पर्यटकिय सम्भावना भएर पनि ओझेलमै छ ।


संघ, प्रदेश र स्थानीय सरकारहरूले पर्यटन विकासको नाममा करोडौं रकम खर्चिएका छन् । उनीहरूले निश्चित समुदाय र परिवारले पूजा गर्ने मन्दिरमा समेत बजेट खन्याए पनि यो रमणीयस्थल प्रवर्द्धनमा भने कसैको ध्यान पुगेको छैन । बाहिरी जिल्लाबाट आउने र छोटो अवधिका लागि बस्नेलाई पनि नजिकै घुम्ने ठाउँ अभाव छ ।


‘प्रदेश र केन्द्रमा हाम्रो पहुँच छैन । नगरपालिकाका तर्फबाट यसलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न धेरैपटक गुहार गरिसक्यौं । कसैले सुन्दैन,’ स्थानीय शंकर बोहोराले भने, ‘कुनै काम विशेषले यहाँ आउनेहरू सदरमुकामनजिकै यस्तो रमणीय ठाउँ भएर पनि हामीलाई त थाहै थिएन । प्रचार किन नगरेको भनेर धेरैले सोध्छन् । हामी त नाजवाफ हुन्छौं ।’


बाहिरबाट झरना हेर्न आक्कलझुक्कल मानिस आए पनि उनीहरूलाई पनि समस्या हुने गरेको स्थानीय पुरन गिरी बताउँछन् । ‘झरनासम्म पुग्ने बाटो देखाउने साइन बोर्डसम्म छैन । पूर्वाधार नभएकाले अवलोकनमा आउनेहरूले पनि दुःख पाउने गरेका छन्,’ उनले भने । सजिलो गरी पुग्ने बाटो बनाएर बाटो देखाउने संकेत चिह्नहरू मात्र राख्न सके पनि झरना हेर्न आउनेलाई सहज हुने उनले सुनाए । स्थानीय तहले यस झरनाको प्रवर्द्धनको योजना अघि बढाए यहाँका बासिन्दालाई पनि रोजगारी मिल्ने सम्भावना रहेको उनको भनाइ छ ।


‘गाउँलेहरू पनि झरनाको संरक्षणमा उदासीन छन्,’ स्थानीय दामोदर बोहोराले भने, ‘सरकारले पनि हेरेन, यहाँका मान्छेले पनि हेला गर्न थाले ।’ गाउँभरिको फोहोर पनि यसैमा फाल्ने गरेका छन् । यसको संरक्षणमा कसैको पनि चासो नभएको उनको गुनासो छ । उनले झरना भन्दामाथि रहेको बस्तीका बासिन्दाले मरेका पशु र अन्य फोहोर फाल्ने भएकाले पानी फोहोर र दुर्गन्धित हुन थालेको बताए ।


‘५/७ वर्ष पहिला यहाँको पानी खान मिल्ने थियो,’ झरनाको झंकारसँगै आफूले त्यहाँनजिक गाईवस्तु चराएको र देउडा सुसेल्ने गरेको सम्झँदै खेइराका जयलाल कुँवरले भने, ‘अहिले नजिक गए पनि गन्हाउने भएको छ । कस्तो कञ्चन झरना हेर्दाहेदै यस्तो कुरुप हुने अवस्था आयो ।’ बारिल छडा झरनाको मुहान क्षेत्र र वरिपरिका रुखविरुवा काट्ने क्रम बढेकाले स्थानीय बासिन्दा बताउँछन् । सुक्खायाममा झरनाको पानी पनि पहिलाभन्दा धेरै घटेको उनको अनुभव छ ।


यता जयपृथ्वी नगरपालिका ९ का वडाध्यक्ष नवराज कोइरालाले भने नगरपालिकाले झरना संरक्षणको लागि सोच बनाइरहेको बताए । उनले बारिल झरनाको संरक्षणका लागि वृक्षरोपण गर्ने र सामुदायिक वनका रूपमा विकास गर्नेबारे नीतिगत छलफलमा जोड दिएको बताए । उनले आफुले झरना क्षेत्रलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न नगरसभामा प्रस्ताव पेस गरे पनि नगरपालिकाले महत्त्वका साथ नहेरेको बताए ।

प्रकाशित : भाद्र २६, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?