कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

क्रसर उद्योगले सिँचाइ ठप्प

कृषकहरु भन्छन्, ‘उद्योगकै कारण असार अन्तिम साता रोपाइँ सकिने खेतमा साउन अन्तिम साता मात्र रोपाइँ भयो’
विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिका–३, पिमखोलामा सञ्चालन गरिएको बगेश्वरी एग्रिगेट उद्योगका कारण आसपासका गाउँमा सिँचाइ असुविधा भएको छ  । उद्योगले बालुवा सफा गर्ने प्रयोजनका लागि खोलाको मुहानबाटै ड्याम बाँधेर पानी लिएपछि किसान सिँचाइ सुविधाबाट वञ्चित भएका हुन्  ।

क्रसर उद्योगले सिँचाइ ठप्प

बालुवा सफा र ग्रेडिङ गर्न भन्दै दुई वर्षअघि उद्योग स्थापना गरिएको हो । वर्षौदेखि खोलाको पानी सिँचाइका लागि प्रयोग गर्दै आएका किसान उद्योगले पानी एकलौटी प्रयोग गर्न थालेपछि समस्यामा परेका हुन् । उद्योगले आफूहरूसँग सल्लाह नै नगरी ड्याम बाँधेर पाइपमार्फत पानी लिएको कृषकको गुनासो छ । स्थानीय कृषक गिता खड्काले उद्योगकै कारण हिउँदको समयमा गाउँमा सिँचाइ असुविधा हुने गरेको बताइन् । ‘अब त आकासेपानी पनि करिवकरिव पर्न छाड्यो,’ उनले भने, ‘मुहानबाटै पानी उद्योगमा लिइएकाले अब कसरी खेतमा सिँचाइ गर्ने भन्ने समस्या भएको छ ।’ उनले सिँचाइ समस्याका कारण केही कृषकले यस वर्ष धानखेती नगरेको गुनासो गरिन् । बालुवा उद्योगका कारण दुई दर्जन बढी किसान परिवार समस्यामा परेको उनको गुनासो छ । उनले उद्योगका कारण करिब सय रोपनी खेतमा सिँचाइ असुविधा पुगेको जानकारी दिइन् । उनको १३ रोपनी खेतमा धानखेती भइरहेको छ ।


उद्योगकै कारण असार अन्तिम साता रोपाइँ सकिने खेतमा साउन अन्तिम साता मात्र रोपाइँ भएको कृषकको गुनासो छ । ‘वर्षायाममै आकासे पानी पर्न ढिलाइ हुँदा रोपाइँमा समस्या भयो,’ स्थानीय धनसरी ओलीले भनिन्, ‘हिउँदमा गहुँबाली लगाउन झन सास्ती खेप्नुपर्ने भयो ।’ उनले तीन रोपनी खेतमा धानखेती गरिरहेकी छिन् । उनका अनुसार गाउँका अधिकांश कृषकले परम्परागत अन्नबाली लगाउँदै आइरहेका छन् । सिँचाइ असुविधाका कारण वर्सेनि उब्जनी घटिरहेको उनको दुःखेसो छ । उनले वर्षभरि खान पुग्ने घरधुरीसमेत उव्जनी घटेपछि समस्यामा परेको जनाइन् । यस्तै अवस्था रहे केही वर्षभित्र गाउँको अधिकांश जमिन बाँझो हुने उनको दुःखेसो छ ।


उद्योग सञ्चालकले किसानलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ । उद्योगकै कारण खेतीपातीमा समस्या देखिएको भन्दै स्थानीयबासीले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । उजुरीउपर कुनै सुनुवाइ नभएको स्थानीय पूर्णबहादुर ओलीले बताए । उद्योगका कारण वातावरणीय र ध्वनी प्रदुषणको समस्या बढाएको उनी बताउँछन् । उनका अनुसार गाउँ र उद्योगको दूरी मुस्किलले दुई सय मिटर मात्र छ । ‘उद्योगकै कारण गाउँमा धेरै समस्या निम्तिएको छ,’ उनले भने, ‘तर स्थानीय प्रशासन र स्थानीय सरकार लामो समयदेखि मौन छन् ।’


उद्योग सञ्चालक कमानसिं डाँगीले शारदा खोलाको किनारमा रहेको दर्तावाला जग्गाबाट बालुवा किनेर ल्याइ चाल्ने र धुने काम गरिरहेको बताए । उनले वातावरणीय प्रभाव मुल्यांकन (आईइई) गरी मापदण्ड अनुसार उद्योग सञ्चालन गरिरहेको दाबी गरे । ‘प्रभावित किसानलाई यसअघि नै क्षतिपूर्ति दिइसकेको छु, अन्यलाई उद्योगले केही हानी पुर्‍याएको छैन,’ उनले भने, ‘केही व्यक्तिले पोलिटिकल इश्यु बनाएर उद्योग सञ्चालन गर्न नदिने योजना बनाएका हुन्, उनीहरूले नै किसानलाई उचालिरहेका छन् ।’ किसानलाई सिँचाइका लागि पानी आवश्यक परे छोडिने उनको दाबी छ । उनले केही समस्या आए समाधान गर्न आफू तयार रहेको जानकारी दिए ।


सम्बन्धित निकायमा दर्ता गरिए पनि केही मापदण्ड पूरा नगरेकाले उद्योगलाई कैफियत सुधार्न निर्देशन दिइएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले बताए । ‘उद्योग सञ्चालकले केही मापदण्ड पूरा नगर्दा किसानलाई समस्या भएकै छ,’ उनले भने, ‘समयमै मापदण्ड पूरा नगरे आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’ उनले किसानको समस्या समाधानका लागि स्थानीय सरकार तयार रहेको जनाए ।

प्रकाशित : भाद्र २५, २०७६ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?