बैतडी अस्पतालमा छैनन् डाक्टर

बैतडी — एउटा जिल्ला अस्पताल र २ प्राथमिक स्वास्थ्य केन्द्र रहेको बैतडीमा दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामीहरू उपचार पाउनबाट वञ्चित छन्  । जिल्ला अस्पतालमा ३ डाक्टरको दरबन्दी रहेकामा एउटाले मात्रै धानेका छन्  ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले हालसम्म काम चलाउँदै आए पनि संघमा समायोजन भएकाले उनी पनि हिँड्ने तयारीमा छन् । २ प्राथमिक स्वास्थ्य केन्द्रमा २ डाक्टरको दरबन्दी भए पनि रित्तै छन् ।


जिल्ला अस्पतालमा ४ स्टाफ नर्सको दरबन्दी भए पनि सबै पद खाली छन् । सोहि ठाउँमा पनि करारका कर्मचारी भर्ना गरी सेवा प्रवाह गरिरहेका विष्टले बताए । उनले भने, ‘एक ल्याबका कर्मचारीको पद पनि खाली छ ।’ जिल्ला अस्पतालमा अन्य २ करार सेवाका डाक्टर पनि कार्यरत छन् । उनीहरूको म्याद असारदेखि थप भएको छैन । म्याद थप हुने आशाले काम गरिरहेको उनीहरू बताउँछन् । १५ शय्याको जिल्ला अस्पताल स्थापना भएको २८ वर्षमा कहिल्यै पनि दरबन्दीअनुसार डाक्टर र अन्य कर्मचारी पूर्ति भएनन् ।


विकटमा पर्ने तल्लो स्वराड क्षेत्रमा रहेको एकमात्र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पनि डाक्टरविहीन छ । त्यहाँ कार्यरत डा. जीवन कार्की गत फागुनमा अध्ययन बिदामा गएपछि अहिले हेल्थ असिस्टेन्टका भरमा अस्पताल चलिरहेको छ । निमित्त भएर काम गरिरहेको हेल्थ असिस्टेन्ट मुकेश दयाल बताउँछन् । मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका बासिन्दाले सेवा लिने एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र पनि डाक्टरविहीन हुँदा स्थानीय बासिन्दा सेवाबाट वञ्चित भएका हुन् । यस्तै पाटन नगरपालिकामा रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पनि करारका एक डाक्टरकै भरमा चलिरहेको छ । डा. नवीन्द्र ढकाल अध्ययन बिदामा गएपछि करार सेवाका डाक्टरले सेवा दिइरहेका छन् । स्टाफ नर्सको पद पनि रिक्त छ । पालिकामै प्राथमिक स्वास्थ्य केन्द्र भए पनि उपचारका लागि जिल्ला अस्पताल, डडेल्धुरा अस्पताल जानुपर्ने बाध्यता रहेको मेलौली १ का धीरेन्द्र नेगी बताउँछन् ।

प्रकाशित : भाद्र २५, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?