२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पहाडमा औंलोका बिरामी

बैतडी — मुलुकका विभिन्न जिल्लामा डेंगुको प्रकोप फैलिरहेका बेला बैतडीमा भने औंलोका बिरामीहरू भेटिन थालेका छन्  । दशरथचन्द नगरपालिका ९, जोशीबुंगाकी लक्ष्मी ओडलाई सोमबार औंलो देखिएको हो  ।

३० वर्षीया उनी लगातार ७ दिनभन्दा बढी ज्वरो आएपछि बेहोस भएकी थिइन् । त्यसपछि उपचारका लागि आफन्तले जोशीबुंगा स्वास्थ्य चौकी पुर्‍याउँदा उनलाई औंलोको संक्रमण देखा परेको हो ।

रगत जाँच गर्दा उनमा औंलो देखिएको स्वास्थ्य चौकी इन्चार्ज शिवकुमार कठरियाले बताए । हाल बिरामीलाई आफुहरूले निगरानीमा राखेर उपचार गरिरहेको उनले बताए । स्वास्थ्य संस्थामा औषधीहरू उपलब्ध भएकोले बाहिर पठाउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । तल्लो स्वराड क्षेत्रमा विगत ४ वर्षयता देखिन थालेको औलौ पछिल्लो समय अन्य स्थानमा पनि सर्दै गएको देखिएको छ ।

मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पनि औंलोका बिरामी भेटिन थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी भुवन जोशीले बताए । पहिले तराईमा मात्र देखिने औंलो पहाडमा पनि देखिन थालेको भन्दै उनले जिल्लामा बर्सेनि यसका बिरामी देखापर्ने गरेका बताए । बैतडी पहाडी जिल्ला भए पनि औंलोको जोखिम भएको स्थानमा राखिएको उनले बताए । आव ०७५/७६ मा ३१ जनामा औंलो देखिएको उनले बताए । यसमा २ गर्भवती महिला पनि छन् । लामखुट्टेको टोकाइबाट हुने यो रोगबाट बच्न स्वास्थ्य कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको उनी बताउँछन् । साथै तल्लो स्वराड क्षेत्रका औंलो जोखिमयूक्त स्थानमा वर्षेनी झुल वितरणलगायत कार्यक्रम पनि गर्दै आइरहेका उनले बताए ।

बैतडीमा हालसम्म डेंगुका बिरामीहरू भने नभेटिएको स्वास्थ्यका कर्मचारीहरूले भने सर्तकता अपनाएको बताउँदै उनले १० वटै पालिकामा स्वास्थ्य संयोजकको नेतृत्वमा द्रुत प्रतिकार्य टोली गठन गरिएको बताए । डेंगु, औंलोलगाएतका कुनै पनि रोगको महामारी फैलिएमा तत्काल समाधान गर्न टोली बनाइएको जोशी बताए । महामारी फैलिएको अवस्थामा तत्काल नियन्त्रण गर्न टोलीले समन्वय गर्ने, सुचना संकलन गर्ने र औषधोपचार गर्ने लगाएतका काम गर्ने जोशी बताउँछन् ।

जिल्ला अस्पतालसँगैं अन्य स्वास्थ्य संस्थाहरूमा लगातार हप्ता दिन भन्दा बढि ज्वरो आउने, टाउको दुख्ने, रिँगाटा लाग्ने, वान्ता हुनेलगायत बिरामीहरूको संख्या असारयता बढेपनि डेंगु देखा नपरेको उनले बताए । जोखिममा रहेको पालिका भएकोले जनचेतनामुलक कार्यक्रमहरू, झुल वितरण लगाएतका कार्यहरू गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनले भने, ‘पालिकामा केहि वर्षबाट लगातार बिरामीहरू भेटिरहेका छन् । हामी आफ्नो ठाउँबाट लागिरहेका छौं । ’

प्रकाशित : भाद्र २५, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?