कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गाउँगाउँमा वित्तीय संस्था : ऋणले जेथा गुम्यो, छोराछोरीको बिचल्ली

मेनुका ढुंगाना

अछाम — सदरमुकाम आसपासका बजार क्षेत्रमा मात्र क्रियाशील लघुवित्त संस्थाहरू पछिल्लो समय ग्रामीण क्षेत्रमा विस्तार हुन थालेका छन् । वित्तीय संस्थाहरूले गाउँगाउँमा पुगेर महिलाहरूको समूह निर्माण गरेर लगानी गर्न थालेका छन् । 

गाउँगाउँमा वित्तीय संस्था : ऋणले जेथा गुम्यो, छोराछोरीको बिचल्ली

गाउँतिर भर्खरै मात्र वित्तीय संस्था प्रवेश गर्न थालेपछि गृहणीहरूको आकर्षण पनि बढेको देखिन्छ । यसअघि बजार क्षेत्रमा सक्रिय संस्थामा आबद्ध कतिपय महिला भने ऋण चुक्ता गर्न नसकेर समस्यामा पनि परेका छन् ।

मंगलसैनमा होटल गर्दै आएकी निर्मला खवास वित्तीय संस्थाका समूहमा आबद्ध भइन् । आफ्नै वरिपरिका १५ महिलाको समूह बनाएरपछि वित्तीय संस्थाहरूले लगानी गर्न थाले । बिनाधितो कर्जा पाइन थालेपछि निर्मलाले धमाधम ऋण निकाल्न सुरु गरिन् । सुरुमा २५ हजार ऋण निकालेर किस्ताबाट चुक्ता गरेकी निर्मलाले पछि अरू संस्थाबाट झिकिन् ।

तर ऋण चुक्ता गर्न नसकेपछि हाल उनी फरार छिन् । उनको घरबार मात्रै बिग्रिएको छैन, मंगलसैनमा सञ्चालन भएको होटल पनि बन्द भएको छ । भएको जायजेथा गुम्यो । छोराछोरीको बिचल्ली भयो । ‘निर्मलाले हामी सबैलाई विश्वासमा पारेर विभिन्न संस्थाहरूबाट ऋण निकाल्न अनुरोध गरिन् । ऋण दिने नदिने भन्ने अधिकार समूहलाई नै हुने भएकाले हामीले पनि विश्वासमा परेर अरूको नामबाटसमेत उनका लागि ऋण झिकिदियौं,’ मंगलसेन ५ की नमिता नगार्जीले भनिन्, ‘सुरुमा गीत रेकर्ड गर्न त्यसपछि घरघडेरी किन्न निकालिन् । हामी भने विश्वासमा परिरह्यौं ।

अहिले उनी सम्पर्कमा नभएपछि ऋण तिर्ने तनाव हामीलाई छ ।’ न्यून आयआर्जन भएका तथा बैंकहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूलाई लक्षित गरी वित्तीय सेवा दिने उद्देश्यले ती संस्थाहरू सञ्चालित छन् । लघुवित्त संस्थाहरूले गरिब तथा विपन्न वर्गहरूलाई विनाधितो कर्जा प्रवाह गरी जीवनस्तरमा थप सहजता ल्याएको दाबी गर्छन् ।

‘लघुवित्त संस्थाले न्यून आय भएका परिवारहरूलाई गाउँघरमै वित्तीय सेवा प्रदान गर्दै आएका छन्,’ निर्धन उत्थान लघुवित्त संस्थाका शाखा प्रवन्धक उमनाथ तिमिल्सेनाले भने, ‘बजार क्षेत्रमा केहि व्यक्तिका कारण समस्या देखिए पनि ग्रामीण क्षेत्रका महिलाहरूमा त्यस्तो समस्या छैन ।’ यस्ता संस्थाहरू अछामका विभिन्न ठाउँमा ८४ समूह गठन भएका छन् ।

प्रकाशित : भाद्र २४, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?