१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाढीले सिंगो बस्ती जोखिम

संगीता तिमिल्सेना 

बाजुरा — बाउली र खारगाड खोलाको कटानले बडिमालिका ८ को गडखेत गाउँ पहिरोको उच्च जोखिममा छ । खोलाको कटान गाउँनजिकै पुगेपछि यहाँका ५० परिवार जोखिममा परेको वडासदस्य नरबहादुर अयडीले बताए ।

‘ठूलो वर्षा सुरु हुनेबित्तिकै पारिबाट खारगाड खोलो सुसाएर आउँछ । बीचमा त बाउली खोलाको गड्गडाहटले झनै रातभर सुत्नसक्ने अवस्था हुन्न,’ उनले भने, ‘दुवै खोला कटान गर्दै नजिकै पुगिसके । उठिबास हुने भयो ।’


वर्षौंअघि पनि बाउली गाडको बाढी गढखेतमा पसेर पुरै घरखेत बगाएको बुढापाकाहरू बताउँछन् । माथि सिरानतिरबाट बाहुली बग्छ, तल बस्ती र खेतीयोग्य जमिन छ । ‘धार परिवर्तन गरेपछि बस्ती नामेट हुने अवस्था छ,’ मार्तडीका गगन रावलले भने, ‘२ वर्षअघि पनि धन्नधन्न जोगिएको हो ।’ गडखेतमा बडिमालिका वडा ८ र ९ का बासिन्दाको खेतीयोग्य जमिन छ । बर्सेनि जमिन कटान हुँदै गएपछि खाद्यान्न उत्पादन पनि घट्दै गएको स्थानीयको भनाइ छ ।


नदीले कटान बढाउँदै गए पनि हालसम्म कतैबाट पनि तटबन्ध निर्माण गरी बस्ती जोगाउन सहयोग नभएको गाउँलेहरू बताउँछन् । नदी नियन्त्रणको पहल नहुँदासम्म बस्ती सुरक्षित नहुने स्थानीय प्रकाश अयडी बताउँछन् । उनले नगरपालिकालगायत अन्य निकायमा पहल गर्दा पनि कतैबाट पनि पीडाको सुनुवाइ नभएको बताए ।


पुल नहुँदा समस्या

बडीमालिका ८ मा रहेको खारगाडमा झोलुंगे पुल नहुँदा स्थानीयलाई आउजाउमा समस्या भएको छ । ‘माथितिर पहिरोले हलुका वर्षा हुनेबित्तिकै बाढी आइहाल्छ,’ चोयाकोट माविकी प्रध्यानाध्यापक दिमा सुब्बाले भनिन्, ‘बाढी आउनेबित्तिकै वारिका वारि पारिका पारि हुने अवस्था छ ।’ घाँस दाउराका लागि जंगल आउजाउ गर्न त झन् समस्या छ ।


रजाली तरकारीको पकेट क्षेत्र मानिन्छ । रजालीबाट मार्तडीमा दैनिक सयौं किसान नियमित तरकारी, दूध, दाउरा बिक्रीका लागि आउँछन् । खारगाडा नदीमा पुल नहुँदा स्थानीय कृषकहरू कहिलेकाहीं बाटोबाटै फर्कने अवस्था रहेको वडाध्यक्ष वीरबहादुर रावल बताउँछन् । उनले पुलका लागि पहल भइरहेको बताए ।


बडीमालिका नगरपालिकाले भने नदी नियन्त्रण र झोलुंगे पुल निर्माणका लागि प्रयास गरिरहेको जनाएको छ । नगर उपप्रमुख कविता बिष्टले समस्या समाधानका लागि प्रदेश र संघ सरकारसँग समन्वय भइरहेको बताइन् ।

प्रकाशित : भाद्र २४, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?