कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गानो कुहिने रोगले अदुवा सखाप

भवानी भट्ट

कञ्चनपुर — कैलालीको सहजपुर क्षेत्रमा गानो कुहिने रोगले अदुवा खेतीमा ठूलो क्षति पुर्‍याएको छ । रोगले ७५ प्रतिशत अदुवा नोक्सान हुने कृषि ज्ञान केन्द्र कैलाली कञ्चनपुरले जनाएको छ । 

गानो कुहिने रोगले अदुवा सखाप

चुरे गाउँपालिका ३ को सहजपुर क्षेत्रमा लगाइएको अुदुवामा यो रोग देखिएको हो । करिब २५ हेक्टरमा लगाइएको अदुवामा रोग देखिएको कृषि ज्ञान केन्द्र प्रमुख रामचन्द्र भट्टले बताए ।


केन्द्रको टोली यसै साता सहजपुर क्षेत्रमा पुगेर रोग लागेको अदुवा अनुगमन गरी फर्किएको हो । ‘यस वर्षको फसल जोगाउन सकिने अवस्था छैन,’ केन्द्र प्रमुख भट्टले भने, ‘गानो कुहिने रोगले अदुवाका बोट सुक्न थालेका छन् ।’ उनका अनुसार सहजपुर क्षेत्रमा अदुवा उत्पादनमा ७५ प्रतिशत ह्रास आउने देखिन्छ । सुदूरपश्चिममा अदुवा उत्पादनका लागि सहजपुर प्रमुख क्षेत्र मानिन्छ ।


गानो कुहिने रोग ढुसीजन्य कारणले बीउ तथा माटोबाट लाग्ने गर्छ । लामो समयदेखि एकै ठाउँमा खेती गर्दा ढुसी जम्मा भई त्यसबाट समेत यो रोग लाग्न सक्ने भट्टको भनाइ छ । माटो र बीउमा ढुसी नाशक उपचार गरी रोग लाग्नबाट जोगाउन सकिने उनले बताए । रोग लागेपछि अदुवाले गाँज हाल्दैन ।


एउटा मात्रै बोट हुन्छ । गानो पनि लगाएको बीउ मात्रै हुन्छ । थप गानो बढ्दैन । रोग लागेर रोपेको गानो समेत कुहिने र बिस्तारै बोटपनि पहेँलो भई सुक्ने गर्छ । यसलाई ‘राइजोमरट’ पनि भनिन्छ । सहजपुरमा अदुवाको बिउ आफै उत्पादन नगरी बाहिरबाट ल्याउने गरेको पाइन्छ । यहांँका कृषकले अहिलेको बिउ कपुरकोटबाट ल्याएको बताएका छन् ।


अदुवा खेती प्राय फागुनमा लगाएर असोज /कात्तिकमा खन्ने गरिन्छ । तर सहजपुर क्षेत्रमा असारमा लगाएर असोज/कात्तिकमै खन्ने गरेको पाइन्छ छ ।

प्रकाशित : भाद्र २४, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?