१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वृद्धावस्थामा सहाराको चिन्ता

भारत जानेहरूलाई साँफेबगर बसपार्कसम्म पुर्‍याउन डाँडागाउँ पुगेको जिपमा बिदाइका क्रममा सबैका आँखामा आँसु
मेनुका ढुंगाना

अछाम — यसअघि महिला, बालबालिका र वृद्धवृद्धा मात्र गाउँमा रहने अछाममा पछिल्लो समयमा यहाँका महिलाहरू पनि रोजगारीका लागि भारततर्फ जान थालेपछि बालबालिका र वृद्धवृद्धा मात्रै गाउँमा भेटिन्छन् । आफ्नो परिवार र छरछिमेकमा पनि तन्नेरीहरू नभएपछि वृद्धवृद्धा सहाराविहीन देखिन्छन् ।

वृद्धावस्थामा सहाराको चिन्ता

खेतीपातीको उत्पादनले नधान्ने र गाउँमा अन्य रोजगारीका अवसर पाउन मुस्किल हुन थालेपछि पुरुषसँगै महिलाहरू पनि काम खोज्न भारततर्फ जाने चलन सुरु भएको छ ।


छोरीको सहारामा बस्दै आएकी साँफेबगर नगरपालिका ११, डाँडागाउँकी ७६ वर्षीया धनी बिक अब एक्लो कसरी बस्ने भन्ने चिन्तामा छन् । एकमात्र छोरी खिमा पनि कामको खोजीमा भारत हिँडेकी छिन् । उनका छोराछोरी गत पुसमै गइसके । ‘अब म एक्लो घरमा भएँ,’ गहभरी आँशु निकाल्दै धनीले भनिन्, ‘सन्तानको सुखसयलमा रमाउने मेरो मेरो अधुरै रह्यो ।’ रातो रंगमा चामल मुछ्दै छोरीको विदाइका लागि अक्षता बनाउँदासम्म उनका आँखाबाट आँशु बगिरहे । भारत जानेहरूलाई साँफेबगर बसपार्कसम्म पुर्‍याउन डाँडागाउँमा पुगेको जिपमा बिदाइ गर्दा आमा छोरी मात्र होइन अन्य यात्रुका आँखाबाट आँशु बग्दै थियो ।


त्यही गाउँकी रम्बा बिकका छोरा, बुहारी, नातिनातिना सबै भारत गएका छन् । उमेरको उत्तरार्द्धमा छोराछोरी भारत हिँडेपछि उनले सहाराविहीन कष्टकर जीवन बिताउनु परेको छ । दुई–तीन वर्ष अघिसम्म खेतीपाती लगाउन घर आउने उनका छोराबुहारी नफर्केको धेरै भयो । ‘जग्गा जमिन बाँझै छ,’ उनले भनिन् ‘आफू त आज हो कि भोली, स्याहारसुसारको भर पर्नुपर्ने उमेरमा एक्लै छु ।’


परम्परागत रुपमा चलिआएका र वर्षका एक पटक मात्र आउने चाडपर्वहरूको समयमासमेत घरमा एक्लै बस्नुपर्दा मन बिरक्त हुने गरेको उनले सुनाइन् । गाउँमा रोजगारीका अवसर नभएकाले घर गुजारा चल्नै नसक्ने भएपनि महिलाहरू पनि श्रीमानसँगै भारत जाने चलन बढेको हो ।


गाउँमा बिजुली पुगेको छ । कच्ची भएपनि मोटरबाटोको सुविधा छ । घरघरमा पानीका धारा छन् । तर पजि गाउँमै बस्ने इच्छा धेरैको देखिन्न । लटरम्म अन्न फल्ने उर्बर जमिन बाँझै छ, तर अछामका धेरैजसो गाउँ जहिले सुनसान देखिन्छन् ।


खेतीपाती लगाउने सिजन बाहेकका महिनामा कतिपय पुरुषहरू गाउँ फर्किने भएपनि अघिपछि गाउँघरमा पुरुष भेटाउन मुस्किल पर्छ घर बसेर गुजारा नचल्ने भएपछि कामको खोजीमा भारत जानुको विकल्प नहुने स्थानीय प्रेम सार्कीले बताए ।


‘भारतमा काम गरेर कमाएको पैसाले तराईमा घरजग्गा किन्नेहरू यो गाउँमा धेरै छन् । उतै बसाइसराई गर्छन्, गाउँ दिनप्रतिदिन सुनसान हुँदैछ ।’ प्रेमले भने, ‘खेतबारीमा उत्पादन छैन, अन्य रोजगारीका अवसर पनि गाउँमा पाउन मुस्किल छ । भारत नगएर त परिवार पाल्न सकिदैन ।’


अछामका अधिकांश युवा भारतको सुरत, पुना, मुम्बईलगायतका ठाउँमा जाने गरेको उनले बताए । आर्थिक अवस्था कमजोर भएपछि बीचमै पढाई छोडेर भारतमा रोजगार गर्दै आएका साँफेबगरकै भरत बिकले पहुँचवालाले मात्रै रोजगार पाउने भएकाले आफू भारत गएर काम गर्दै आएको बताए ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?