कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लाखौंका भवन र उपकरण कबाडी

वसन्तप्रताप सिंह

बझाङ — आल्मुनियमका झ्याल ढोकाहरू तोडिएका छन् । घर पछाडिबाट बगेर आएको ढुंगा माटोसहितको लेदोले कोठा भरिएको छ । कोठाभित्र जताततै शौच गरिएकाले बाहिरैसम्म ह्वास्स गन्धआउँछ ।

लाखौंका भवन र उपकरण कबाडी

कोठाको बीचमा एक दिन पनि प्रयोग नगरिएको जस्तो देखिने एग्रोस्व कम्पनीको बीउँ छान्ने बढेमानको मेसिन लडेको छ । कुनामा रहेको ठडिएको बीउ भेन्डिङ मेसिन खियाले काम नलाग्ने भएको छ । दुवै मेसिनका पाटपुर्जा जबरजस्ती उप्काइएका जस्ता देखिन्छन् ।


यो दृष्य जयपृथ्वी नगरपालिका ९ मा रहेको बीउ गोदामको हो । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको अनुरोध र लागत साझेदारीमा जिल्ला विकास समितिअन्तर्गतको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले ५ वर्षअघि बनाएको भवनको वर्णन यतिले मात्र पुग्दैन ।


स्थानीय भवानी बीउ उत्पादन कृषक समूहले व्यवस्थापन गर्ने गरी बनाइएका यहाँका २ भवनको निर्माण ३० लाखमा भएको थियो । बीउ केलाउने २ लाख ५० हजार, बीउ ग्रेडिङ मेसिन ९ लाख, बीउको उपचार गर्ने यन्त्रको २ लाख र बीउका बोरा सिलाउने मेसिन ५० हजार तथा अन्य फर्निचर फिक्स्चर्स तथा तालिमसहित गरी यो गोदाम निर्माणमा ५० लाख रुपैयाँभन्दा बढी लगानी भएको थियो ।


तत्कालीन रिठापाटा गाविसका कृषकहरूले उत्पादन गरेको विभिन्न अन्न, दाल तथा तरकारीबालीको बीउलाई शुद्धीकरण गरी जिल्लाबाहिर व्यावसायिक निकासी गर्ने उद्देश्यले योजना सुरु गरिएको थियो । विडम्बना राज्य र गैरसरकारी संस्थाको आधा करोड बढी लगानीमा तयार भएको यो गोदाम एक दिन पनि प्रयोगमा आएन ।


हेर्दा हेर्दै भवनहरू संरक्षणको अभावमा भत्किने अवस्थामा पुगे । लाखौं मूल्यका यन्त्र उपकरणहरूमध्ये केही तोडफोड भएर कबाडी बनेका छन् । केही त्यहाँबाट चोरी भइसकेको स्थानीय प्रदीप खड्काले बताए । समूहका पदाधिकारीको लापरबाहीको कारण यहाँ बनेको लाखौंको संरचना खेर गएको भवानी बीउ उत्पादन कृषक समूहकी अध्यक्ष सुनीता धामी बताउँछिन् ।


आफू एक महिनाअघि मात्र समूहको अध्यक्ष भएको बताउँदै उनले भनिन्, ‘समूहको हिसाब–किताब पनि स्पष्ट छैन । अनुदानमा बनेका लाखौंका संरचना त्यसै खतम भएका छन् । यो सबै समूहकै लापरबाही र निष्क्रियताले गर्दा भएको हो ।’ उनले यहाँको संरचना र यन्त्र उपकरणहरूलाई प्रयोगमा ल्याउन नयाँ समितिले काम गरिरहेको पनि बताइन् ।


रिठापाटाको यो बीउ गोदाम बझाङमा कृषि क्षेत्रमा गरिएको लगानी कसरी खेर गइरहेको छ भनेर देखाउने प्रतिनिधि योजना मात्र हो । तत्कालीन जिल्ला कृषि विकास कार्यालयले निर्माण गरेका यस्तै ३ वटा बीउ गोदामका भवन एक दिन पनि प्रयोग नभएर भत्किने अवस्थामा पुगिसकेका छन् ।


निर्माण भएदेखि नै देउलेकको बीउ गोदाम भवन, यन्त्र र उपकरणहरू प्रयोगविहीन भएकाले त्यसलाई पुनः सञ्चालन गर्न गाउँपालिकाले सोच बनाइरहेको वित्थड चिर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बोहरा बताउँछन् । उनले भने, ‘अहिले कृषक समूहको जिम्मामा रहेकोले भवन र मेसिन अलपत्र छन् । यसलाई गाउँपालिकाअन्तर्गत ल्याएर पुनः सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’

प्रकाशित : भाद्र २३, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?