चौलानी तटको बस्तीमा त्रास

मनोज बडू

दार्चुला — काम र सुगम बसोबासको खोजीमा नदी किनारमा थातबास ल्याएकाहरू चौलानीको भेल हेर्छन् । नउर्लिएका रातमात्रै उनीहरू राम्ररी निदाउँछन् । चौलानी भनिने चमेलिया नदी वर्षासँगै उर्लिएर आउँछ, पानी पर्न रोकिएपछि शान्त हुन्छ । केही दिनदेखि यतिबेला भेल उर्लिएको छ । स्थानीय डराएका छन् । 

चौलानी तटको बस्तीमा त्रास

‘खोलो कहिलेकाहीं आँगनको डिल डिल आइपुग्छ,’ शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका रामसिंह राना भन्छन्, ‘घरसँगै हामीलाई बगाई लैजाला भन्ने पीर परिहन्छ । राति भेल कस्तो छ भनेर नहेरेसम्म सुत्दैनौं ।’


नदी किनारमा बादी समुदायको बसोबास छ । नदीले यतिबेला ढुंगा बगाएर ल्याउँछ । ढुंगा बगेर आउँदा पहिरो खसेजस्तै आवाज आउँछ । भेल उर्लिएका रातको आवाजले तटीय क्षेत्रको बस्ती निदाउँदैन । चौलानी किनारमा घर बनाई बसेका बैतडी डिलासैनी–१ धौकुच्चेका रामलाल बोहरा भन्छन् ‘त्यस्ता रात हाम्रो जागै बित्छ ।’ पारि दार्चुलापट्टि रहेको कडा चट्टानले नदीको बहाव वारितर्फ फर्केको अवस्थामा बाढीको जोखिम धेरै हुने उनले बताए । जलविद्युत्को बाँधबाट छाडिने निकासले जलस्तर वृद्ध हुँदाको अवस्था पनि जोखिमको हुने उनको भनाइ छ ।


चौलानीको तटीय क्षेत्रमा दार्चुला र बैतडीका दर्जनौं बस्ती छन् । बर्सेनि बाढीको जोखिम झेल्दै बसेकाहरूको धेरै रात अनिदो कट्छ । हिउँदमा अढाइ मिटर बहाव रहने चमेलिया नदी बर्खामा त्योभन्दा धेरै माथि पुग्छ । बर्खामा ६ मिटरसम्म गहिरो हुने गरेको वर्षा मापन केन्द्रको तथ्यांकमा छ । नदीको वारिपारि दुवैतर्फ तटबन्ध छैन ।


चमेलियाले दार्चुलाका लटिनाथ, शेरी, परपडा, लामबगड, चिउरानी, नलबगड, बिटुले, बारिलबवगड, बलाच, दहखाली, छोला, मकन्ना, देथला, कुकुडेपानी, लुइटा, ओसल, नाईल, गाजरी, कड्पते, गोकुलेश्वर, जगतपुरी र बसकोट बस्तीलाई बाढीको जोखिममा पार्दै आएको छ ।


शैल्यशिखर नगरपालिका–१ बलाचका करनसिंह बोहरा वर्षा भएको दिन नदीमा पानीको सतह बढ्ने भएकाले छेउछाउमा बसोबास भएका परिवारहरूलाई समस्या रहेको बताउँछन् । बस्ती पुरानै हो । जोखिम देख्तादेख्तै पनि बस्ती विस्तारको क्रम भने थामिएको छैन । तटीय क्षेत्रमा बर्सेनि घर थपिएका छन् ।


२०५० सालमा महाकाली राजमार्गले दार्चुला जोडिएसँगै बगरमै घर बन्ने क्रम बढेको स्थानीय प्रकाशसिंह विष्टले बताए । ‘यहाँ सडक पुगेपछि गोकुलेश्वर बजारमा जिल्लाबाहिरका मान्छे आएर बस्ने क्रम बढेको हो,’ उनले भने, ‘बजार विस्तार र जनसंख्या वृद्धि हुँदै गएपछि समस्या छ । बलियो तटबन्धको व्यवस्था नभएसम्म किनारमा सधैं जोखिम हुन्छ ।’


योसँगै पारि बैतडीको डिलासैनी गाउँपालिका–५ हरिनगर क्षेत्रको बादी बस्ती पनि बाढीको जोखिममा छ । नदी किनारमै घरहरू भएकाले बाढीको जोखिम बढ्न थालेपछि स्थानीय त्रसित हुने गरेका छन् । दुई/तीन दिनयता निरन्तर बर्षा भइरहँदा नदीमा पानीको सतह बढ्दा बाढीको जोखिम बढाएको स्थानीय रञ्जित गिरीले बताए । ‘सरेर अन्त जाउँ आफ्नो माटो छैन । तीन दर्जन बादी परिवारमध्ये २ परिवारको नाममा जमिन छ,’ उनले भने, ‘कहीँ कतै सानो छाप्रो राख्ने ठाउँ नाम भइदिएको भए उतै सर्थ्यौ ।’


त्यस्तै बैतडीका नांलाबगड, श्रीसानी, पौसेरा, डडिया, देउझाडी, शेरा, चौसेरा, करकले, गिरीबगड, बगडी, धौकुच्चे, सिमार, छेपट्टा र गन्ना लगायतका बस्तीहरू चमेलिया नदीको जोखिममा छन् । यी मध्ये दार्चुला र बैतडीका करिब एक दर्जन बस्तीहरू उच्च जोखिममा रहेको हुनाले यहाँका स्थानीयलाई बर्षातमा बाढीको त्रास सधैं भइरहने बलाचका स्थानीय धनबहादुर खडायतले बताए । खोलाले पटक पटक गरेर करिब २ सय रोपनी खेत बगरमा परिणत गरेको छ । खहरे खोलामा आएको बाढीले खानेपानीका मुहान, पाइप तथा धारासमेत बगाई दिदा खानेपानीको समस्या छ ।


पहाडी क्षेत्र भएकाले माथिल्लो क्षेत्रमा बाढीको पूर्वसूचना संयन्त्र स्थापना गर्न सकिएको छैन । बाढी आउनुपूर्व स्थानीयलाई सूचना प्रवाह गर्न सके बाढीको जोखिमबाट बच्न सकिने स्थानीय व्यापारी देवदत्त बिष्टको भनाई छ । स्थानीय तहले पनि जोखिमयुक्त ठाउँमा घर नबनाउने सल्लाह दिनुपर्ने भएपनि बर्सेनि घर बनाउने क्रम रोकिएको छैन । जोखिमयुक्त ठाउँको बस्ती अन्यत्र सार्न पहलसमेत नगरेको स्थानीयको गुनासो छ ।

प्रकाशित : भाद्र २२, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?