कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डाक्टर नहुँदा उपचारमा सास्ती

ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा उपचार नभएपछि आएका बिरामीलाई चिकित्सक नभएकै कारण रेफर गर्नुपर्ने बाध्यता

कञ्चनपुर र अछाम — केही दिनयता महाकाली अस्पतालमा बिरामीको चाप बढेको छ । बर्खा सकिँनै लाग्दा र मौसम परिवर्तनका बेला भाइरल ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढेको हो । महाकाली अस्पतालका अनुसार दैनिक डेढ/दुई सय भाइरलका बिरामी आउने गरेका छन् । उता अछाममा भने डाक्टर अभावले बिरामीहरू स्वास्थ्य सेवाबाट वञ्चित छन् ।

डाक्टर नहुँदा उपचारमा सास्ती

कञ्चनपुरको भीमदत्त नगरपालिका १ का कल्याणसिंह बोहरा आफ्नो स्वास्थ्य जाँचका लागि बिहानैदेखि महाकाली अस्पतालमा नाम दर्ता गराउन लाइन लागेका थिए । उनले ११ बजे मात्रै नाम दर्ता गराउने पालो पाए । त्यसपछि उनलाई डाक्टरबाट स्वास्थ्य जाँच गराउन थप १ घण्टा लाग्यो । पिसाब र रगत जाँचका लागि फेरि लाइन लाग्नुपर्ने भएपछि उनी त्यतिकै घर फर्किए ।


‘यत्रो भीडमा कसरी लाइन लाग्नु,’ उनले भने, ‘बरु भोलि बिहानै आएर लाइन लागेर बिल काटनुपर्ला ।’ उनी ६/७ दिनदेखि ज्वरो आउने र रुघाखोकी लाग्ने समस्याले पीडित छन् । बिरामीको चाप भएपछि नाम दर्ता गराउनेदेखि डाक्टरबाट स्वास्थ्य जाँच गराउने तथा विभिन्न परीक्षण गराउनसमेत धेरै समय लाइन लाग्नुपर्ने बाध्यता छ । अझ बिल काट्ने तथा लाइन लाग्ने ठाउँ व्यवस्थित नहुँदा वृद्धवृद्धा र बालबालिकालाई झनै समस्या भएको छ ।


‘बिहान ९ बजेदेखि लाइनमा लागेका हौं, डेढ घण्टा भयो अझै नाम दर्ता गर्न सकेका छैनौं,’ भाइरल ज्वरोले थलिएकी आमाको उपचार गराउन महाकाली अस्पताल पुगेका वेदकोट नगरपालिका ८ का राजेन्द्र ठगुन्नाले भने, ‘अझै कति समय लाग्ने हो, घुइँचोले अगाडि जानै गाह्रो भइरहेको छ ।’ उनकी आमा हीरादेवी एक सातादेखि ज्वरोले थलिएकी छिन् ।


ओपीडीमा मात्रै होइन अस्पतालको आकस्मिक कक्षमा पनि भाइरलका बिरामीको चाप बढेको छ । दैनिक ५०/६० भन्दा बढी बिरामी आकस्मिक कक्षमा आउने गरेका छन् । तीमध्ये अधिकांश भाइरलकै हुने गरेको आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरू बताउँछन् । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीको चाप बढेको छ ।


स्वास्थ्यकर्मी अभावका कारण महाकाली अस्पतालझैं ग्रामीण भेकका स्वास्थ्य संस्थामा पनि बिरामीले घण्टौ कुर्नुपर्ने बाध्यता छ । मौसम परिवर्तनका बेला भाइरलको संक्रमण हुने भएकाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । चिसोबाट बच्ने, खानपिनमा विशेष ध्यान दिने र ताजा कुरा मात्रै खानुपर्ने उनीहरू बताउँछन् । ‘भाइरल भएका बिरामीसँग हात नमिलाउने, उसका कपडाहरू अरूले प्रयोग नगर्ने र तुरुन्त स्वास्थ्य संस्थामा पुर्‍याई उपचार गराउँनुपर्छ,’ महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले भने, ‘चिसो खानेकुरा पनि बन्द गर्नुपर्छ ।’


'घरनजिकै अस्पताल, पाइँदैन उपचार’

अछाम जिल्ला अस्पताल अछाममा अहिले बिरामीको चाप दोब्बर भएको छ । मौसम परिवर्तनसँगै यहाँ रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । तर अस्पतालमा डाक्टर अभाव छ । अस्पतालमा गत मंसिरदेखि डाक्टर अभाव भएको हो ।


जिल्ला अस्पतालमा ९ जना डाक्टरको स्थायी दरबन्दी भए पनि सबै रिक्त छ । करार सेवाका २ डाक्टरकै भरमा अस्पताल चलिरहेको छ । दैनिक सय बढी बिरामी उपचारका लागि पुग्छन् । ‘सामान्य चेकजाँचपछि भिडियो एक्सरे गर्न जानुस् भनेर पठाए । २ घण्टा कुर्दा पनि एक्सरे कक्ष खुलेको देखिएन,’ गर्भजाँच गर्न आएकी मंगलसैन ५ की ललिता भाटले भनिन्, ‘यस्तो अवस्थामा पनि अस्पतालमै जाँच गर्न नपाएर दुःख पाइन्छ । डाक्टरै छैन ।’ स्त्रीरोग विशेषज्ञ डाक्टर अतुल भारद्वाज बिहीबार गाउँतिर गएका थिए ।


डा. मनोज विष्टले हाल बिरामीको उपचार गर्नेदेखि प्रशासनिक काम गरिरहेका छन् । डाक्टर अभावमा अस्पतालको सेवा प्रभावकारी हुन नसकेपछि अस्पतालमा उपचार गराउन आउनेहरू फर्केर निजी मेडिकलमा जान बाध्य छन् । पछिल्लो समयमा अस्पतालले दिने सेवा खस्कँदै गएको स्थानीय बताउँछन् । ‘अस्पतालमा डाक्टर अभाव भएपछि बिरामीलाई निजी क्लिनिकमा महँगो खर्चमा उपचार गर्न बाध्य छौं,’ स्थानीय सीता विकले भनिन्, ‘घर आँगनमा अस्पताल छ, तर सुविधा छैन ।’


२८ शय्याको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित कन्सल्टेन्ट पेडियाटिसियन, स्त्रीरोग, परामर्श शल्यचिकित्सक, हाडजोर्नी, मनोरोग, एनेस्थेसियन, जनरल फिजिसिएन, रेडियोजोलिस्ट गरी ९ विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि सबै रिक्त छन् । ‘दरबन्दीका डाक्टर नहुँदा आफूले नै अस्पतालको प्रशासनिकदेखि आर्थिक कार्य गर्नुपरेको छ,’ स्वास्थ्य विभागबाट करार सेवामा कार्यरत डा. मनोज विष्टले भने, ‘सीएमए, एचए र एक स्टाफ नर्स स्थायी थिए । ती पनि समायोजनमा जाने भएकाले समस्या बढ्ने भो ।’ आफ्नो पनि करार म्याद असोज सुरुमै सकिन थालेको उनले बताए ।


डाक्टरबाहेक अन्य स्वास्थ्यकर्मीको अभाव पनि उस्तै छ । ४ स्टाफ नर्स हुपर्नेमा एकजना मात्रै छन् । ल्याबमा पनि १ कर्मचारी मात्र छन् । त्यसैगरी ल्याब टेक्निसियन, एनेसथेसिया, एक्सरेका लागि रेडियोग्राफरलगायत अति आवश्यक क्षेत्रका १० कर्मचारी नहुँदा अस्पतालले प्रदान गर्ने सेवामा अप्ठ्यारो परेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचार गराउन आउने बिरामीलाई चिकित्सक नभएकै कारण रिफर गर्नुपर्ने बाध्यता रहेको अस्तालले बताएको छ ।

प्रकाशित : भाद्र २१, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?