१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुक्त हलियाका लागि बनेका घर सबै रित्ता

भवानी भट्ट

कञ्चनपुर — दुई लहरमा जस्ता पाता लगाएका एकै प्रकारका घर । आकार पनि उस्तै । कञ्चनपुरको वेदकोट नगरपालिका ८, गाउजीमा ६ वर्षअघि मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएका १९ घरमध्ये अधिकांश खाली छन् । केहीमा मुक्त हलिया बस्छन् भने अधिकांशमा ताला लगाइएको छ । कतिपयमा गाई गोरु पनि बाँंधिएको छ । 

मुक्त हलियाका लागि बनेका घर सबै रित्ता

‘यहाँ घर बनेदेखि कोही पनि बस्न आएनन्,’ पुनःस्थापना कार्यक्रमअन्तर्गत निर्माण गरिएका घरमा बसिहेका मुक्त हलिया करवीर लुहारले भने, ‘हामी ४ परिवार सुरुदेखि बसेका हौं, अहिले पनि त्यति नै छौं ।’ उनका अनुसार अन्य परिवार मजदुरी गर्न महेन्द्रनगर बजारमै घर छाप्रा बनाएर बसोबास गरिरहेका छन् । गाउँमा रोजगारी नपाइने भएकाले पनि उनीहरू बजारतिरै बस्न थालेका हुन् । खेतीपातीको बेला दैनिक ज्यालादारीमा काम पाइने भए पनि अन्य समय खाली बस्नुपर्ने उनीहरू बताउँछन् ।


‘यहाँ काम केही छैन, खान लाउन पनि समस्या हुन थाल्यो’ करवीरले भने । अहिले गाउजीमा मोहन दमाइ, वीर ओड र लोकेश दमाईंको परिवार बसिरहेको छ । अन्य घरमा उनीहरूले नै गाई गोरु बांँधेका छन् । सरकारले घर र जमिन नभएका मुक्त हलिया परिवारलाई ‘क’ वर्गमा राखेर तिनको पुनःस्थापनका लागि घर जमिन खरिद गरी घर निर्माणका लागि प्रतिपरिवार २ लाख २५ हजार उपलब्ध गराएको हो । मुक्त हलिया परिवारले घर निर्माण गरे पनि आफू भने त्यहाँ बसेनन् ।


‘अन्यत्र घर भएकालाई पनि यहाँ जग्गा दिइयो,’ मीना ओडले भनिन्, ‘हामी अन्त कहीं नभएकाहरू यहाँ बसेका छौं ।’ उनका पति वीर पनि रोजगारीकै सिलसिलामा घर बाहिरै बस्छन् । मुक्त हलिया परिवारलाई घरवासका नाममा जंगलका छेउमा र खोला किनारमा बसाइएका कारण पनि रोजगारीको समस्या भएको उनीहरूको बुझाइ छ ।


ऋणमा डुबे मुक्त हलिया

मुक्त हलिया दीपु दमाईंले भीमदत्त नगरपालिका १, बारकुन्डामा सरकारले उपलब्ध गराएको जमिनमा घर बनाएका छन् । उनले घर निर्माणका लागि पाएको २ लाख २५ हजार खर्च गरी थप ३ लाख ऋण काढेर घर बनाए । सरकारी स्टिमेटअनुसार २ कोठा र १ बरान्डामा जस्ता पाताले छाउनुपर्ने भए पनि उनले ढलान गरेका छन् । त्यही कारण उनलाई अतिरिक्त ऋण लागेको हो । ‘सरकारले दिएर भएपनि पहिलो पटक घर बनाउँदा राम्रै बनाउँ भन्ने लाग्यो,’ दिपुले भने, ‘तर सरकारबाट पाएको रकमले त आधा पनि घर बनेन ।’ उनले अब ऋण तिर्नकै लागि धौ–धौ भइरहेको बताए ।


बारकुण्डाकै रञ्जित तिरुवाले पनि सरकारी स्टिमेटअनुसारै घर बनाए । तर उनलाई पनि १ लाख ऋण लाग्यो । घर छेउमै शौचालय पनि निर्माण गरेकाले ऋण लागेको उनले बताए । बारकुन्डामा ३७ परिवारका लागि जमिन खरिद गरिएको हो । तर ७ परिवारको जमिन खोलामा परेकाले उनीहरू घर बनाउन तयार भएनन् ।


३० परिवारले भने घर बनाएर बस्न थालेका छन् । यहाँ पनि केही परिवारले घर बनाउन बाँकी छ भने केही घर बनाएर पनि बस्न आएका छैनन् । मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहार पनि रोजगारीकै समस्याका कारण समस्या परेको बताउँछन् ।

प्रकाशित : भाद्र २१, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?