कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुर्गाथलीमा बिर्सती मेला

वसन्तप्रताप सिंह

बझाङ — यतिबेला जिल्लामा बिर्सती मेलाको रौनक छ । छविस पाथिभेरा र दुर्गाथली गाउँपालिकाको बिसौनामा लाग्ने मेला भर्न दर्शनार्थीको घुइँचो छ । 

दुर्गाथलीमा बिर्सती मेला

मेलाबारे परापूर्वकालमा महादेव र पार्वती वनविहारमा रहेको बेला घुम्दै मधेसबाट थलिसैनमा आएको र त्यहाँको एक गरिब रोकाया जातकी महिलालाई खाना खुवाउन अनुरोध गरेको किंवदन्ती छ । मेला यस क्षेत्रमा लाग्ने चैतलीपछिको दोस्रो ठूलो मानिन्छ ।


रोकाया महिलाले आफू गरिब भएको र आतिथ्य सत्कार गर्न केही नभएको भनेर महादेवलाई बिन्ती गरिन् । महादेवले उनको भण्डारमा विभिन्न अन्नलगायत गोठमा भएको थारो गाईलाई पनि दुहुनो बनाइदिएको कथा मेलासँग जोडिएको स्थानीय शिक्षक कुम्भराज दौल्याल बताउँछन् ।


‘त्यसपछि रोकाया महिलाले खाना बनाएर खुवाउने बेलामा महादेवले उनलाई आफूहरूले खाएको नहेर्नु भनेका थिए । तर महिलाले लुकेर महादेव दम्पतीले खाना खाएको हेरेको र त्यो कुरा थाहा पाएपछि महादेव पार्वती खाना नखाई त्यहाँबाट हिँडेका थिए भन्ने कथा छ,’ दौल्यालले भने, ‘महादेव भागेपछि वृद्ध महिलाले च्वच्व (पछुतो व्यक्त गर्ने शब्द) गर्दै उनीहरूको पछि दौडिएको भन्ने कथा छ ।’ त्यही बेलादेखि प्रत्येक वर्ष मेला लाग्न थालेको उनले बताए । अहिले पनि मेलाको अघिल्लो दिन यहाँका बासिन्दा च्वच्व भन्दै गाउँबाट च्याकोटसम्म दौडिने गर्छन् ।


प्रत्येक भदौ १९ बाट सुरु हुने यो मेला ५ दिनसम्म लाग्छ । मेला अवधिभर विभिन्न प्रतियोगितात्मक खेलकुद र सांस्कृतिक कार्यक्रम पनि हुने गर्छन् । परम्परागत पहिरनमा सजिएका महिलाले खेलेको चाभाइँ खेल मेलाको प्रमुख आकर्षण हुन्छ । मेलाको अर्को आकर्षण भनेको राँगा जुधाउने प्रतिस्पर्धा रहेको छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले बताए ।

प्रकाशित : भाद्र २१, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?