कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मेलापात गर्न जाँदा हँसिया र डोरीसँगै औषधि

डडेलधुरा — दुब्लो शरीर, कम्मरमा डोरी, हातमा हँसिया र झोलामा महिला तथा बालबालिकालाई आवश्यक पर्ने औषधि, भिटामिन, परिवार नियोजनका साधन । कलुदेवी खड्का घरबाट निस्कँदा जहिले पनि मेलापात गर्न हसिँया र डोरीसँगै झोलामा औषधि बोक्न छुटाउदिनन् ।

मेलापात गर्न जाँदा हँसिया र डोरीसँगै औषधि

घाँसपात गर्दा होस या खेतबारीमा काम गर्दा, मेला, जात्रा, जुनसुकै ठाउँमा पनि उनी महिलालाई आफ्नो र बालबालिकाको स्वास्थ्यका विषयमा सचेत गराउँदै गरेको अवस्थामा भेटिन्छिन् । उनै कलुदेवी खड्का देशकै सर्वोत्कृष्ट स्वयंसेविकामा छनोट भएको समाचार रेडियोमा सुनेपछि गाउँले सबै दंग परेका छन् । ‘आफ्नो कार्य क्षेत्रमा उनले बालमृत्युदर, मातृमृत्युदर, घरमा सुत्केरी हुने, कुपोषणलगायत समस्यालाई शून्यमा झारेकी थिइन्,’ अजयमेरु गाउँपालिका प्रमुख उमेश भट्टले भने, ‘उनको सेवा साँच्चिकै उत्कृष्ट थियो ।’


गाउँमा गर्भवती, सुत्केरी महिला, कुपोषित बालबालिका, हिंसाबाट पीडितका विषयमा जानकारी पाउनेबित्तिकै कलुदेवी त्यहाँ पुग्ने गरेको स्थानीय शिक्षक कृष्णदत्त पन्त बताउँछन् । ‘साक्षर पनि हुन नसकेकी ग्रामीण वृद्धको सेवाभाव र लगाव वास्तवमै सम्झनयोग्य छ ।’ उनले आफू जहाज चढेर काठमाडौं पुगी सम्मान थाप्न पाइएला भन्ने नसोचेको बताइन् ।


सेवा गर्दागर्दै वृद्ध भइसकेकी कलुदेवीले अगाडी भनिन्, ‘आफ्नो धर्म सम्झेर सेवा गरें । सम्मानले यो उमेरमा सेवा गर्ने उत्साह र प्रेरणा झन् थपिएको छ ।’ आफ्ना पतिको सहयोगले आफूले यसरी सेवा गर्न पाएको उनले बताइन् । काठमाडौंमा गत मंगलबार आयोजित कार्यक्रममा सरकारका तर्फबाट शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले खड्कालाई देशकै उत्कृष्ट स्वयंसेविकाका रूपमा दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

प्रकाशित : भाद्र २१, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?