कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालीले धानेको भारतीय बजार

मोहन बुढाऐर

धनगढी — चाडपर्व नजिकिएपछि सीमापारिका भारतीय बजारमा चहलपहल बढेको छ । यहाँका बासिन्दा पनि सस्तो खोज्दै सीमावर्ती भारतीय बजार पुग्ने गर्छन् । यही कारण नेपाली उपभोक्ताको घुँइचो स्थानीय बजारभन्दा पनि पारितर्फै बढी हुन्छ । 

नेपालीले धानेको भारतीय बजार

कैलालीका लागि भारतको सीमावर्ती ठ्लूो बजार पलिया, वनगाउँ, तिकुनिया, चन्दनचौकीलगायत हुन् । चाडबाडमा चाहिने सामग्री खरिद गर्न स्थानीय उपभोक्ता त्यहाँ पुग्छन् । ती बजारमा दैनिक १० लाख बढी नेपाली रुपैयाँको कारोबार हुने गरेको व्यापारीहरू बताउँछन् । जबकि सुदूरपश्चिमको प्रमुख व्यापारिक सहर धनगढीमा पारिका बजारको तुलनामा न्यून व्यापार हुन्छ ।


पलियाका पन्नालाल गुप्ताले भदौदेखि कात्तिकसम्म नेपाली ग्राहकको घुँइचो लाग्ने गरेको बताए । उनी यतिबेला बजारको ४० प्रतिशत सामान नेपाली उपभोक्ताबाटै खपत हुने बताउँछन् ।


धनगढीको तुलनामा सीमा बजारमा समान सस्तो पाइने धनगढीकी वसन्ती चौधरी बताउँछिन् । ‘चाडपर्वका बेला धनगढी बजारमा मालसमान तथा खाद्यान्न महँगो हुन्छ,’ उनले भनिन्, ‘त्यसैले ३५ किमि टाढाको पलिया बजार जान ठीक लाग्छ ।’


धनगढीको त्रिनगर भन्सार नाकाबाट भारतको पलिया र वनकट्टी बजारमा औषधोपचार र मालसामानका लागि दैनिक २/३ सय नेपाली जाने गरेको भन्सारमा कार्यरत एक सुरक्षाकर्मी बताउँछन् । त्यस्तै कैलालीको हसुलिया क्षेत्रबाट भारतको चन्दनचौकी, भजनीबाट खक्रौलापारिको भारतीय बजार र तिकुनियामा नेपालीहरू सामान किनमेल गर्न जाने गरेका छन् ।


पहिला धनगढीको त्रिनगर भन्सारबाट करिब १ किमिको दूरीमा रहेको गौरीफन्टा बजारमा नेपालीको किनमेल हुन्थ्यो । दुदुवा नेसनल पार्कभित्र परेपछि गौराफन्टा बजार अहिले हटेको छ । ‘गौरीफन्टा बजार हटेपछि नेपाली व्यापारीहरू खुसी भएका थिए,’ धनगढीका व्यवसायी ऋषि पौडेलले भने, ‘तर सीमावर्ती जिल्लाका बासिन्दाको पारि जाने प्रवृत्ति घटेन ।’


धनगढीको बजार सुदूरका पहाडी जिल्लामा निर्भर भएको अर्का व्यापारी पुष्पराज कुँवर बताउँछन् । ‘धनगढी पहाडी जिल्लाको भरमा चलेको छ,’ उनले भने, ‘स्थानीय उपभोक्ता आफूप्रति आकर्षित छैनन् ।’ उनले बरु भारतीय ग्राहक र भारतमा काम गरी दसैं–तिहारमा घर फर्कने नेपालीले बालबच्चाका लागि लत्ताकपडा र अन्य उपभोग्यवस्तु किनेर लैजाने गरेको बताए ।


धनगढीकै निर्मला साहुले आफू पनि नेपाली बजारमा चाडपर्वका बेला महँगी धेरै हुने भएकाले सस्तोकै लागि भारतीय बजार पुग्ने गरेको सुनाउँछिन् । ‘पलियामा हजार रुपैयाँमा पाइने सुटको कपडा धनगढीमा दोब्बर पर्छ,’ उनले भनिन्, ‘१० हजार रुपैयाँमा घरका सबै परिवारलाई एक जोर लुगा हाल्न सकिन्छ ।’ चाडपर्वमा उपभोक्तालाई मारमा नपर्नेगरी स्थानीय व्यापारीले दररेट कायम गर्ने हो भने स्थानीय उपभोक्ता भारतीय बजारमा नधाउने भारतमा किनमेल गर्न गएका अधिकांश उपभोक्ताको भनाइ छ ।


घरायसी उपभोगका लागि धेरै समान ल्याउनु पनि नपर्ने भएकाले भन्सार नलाग्ने भएकाले बस भाडा मात्रै तिरे सस्तोमा समान ल्याउन पाइने यहाँका उपभोक्ता बताउँछन् । साथै पछिल्लो समयमा भन्सारमा खटिएका सुरक्षकर्मीले पैसा माग्ने र दुःख दिने गरेको साहुको भनाइ छ ।

प्रकाशित : भाद्र २०, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?