३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

समूहमै रमाउँछन् थारू समुदाय 

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३, पिपलाडीमा एउटा घरको आँगनमा महिलाहरूको भीड लागेको छ । कतिपय महिला टाउकोमा विभिन्न वस्तु बोकेर आइरहेका छन् ।

समूहमै रमाउँछन् थारू समुदाय 

उक्त घरमा बाँसको तामा बिक्री गर्ने व्यक्ति आएकाले सबै महिला एकै ठाउँमा किन्न भेला भएका हुन् । किनबेचका लागि एउटैले मोल तोल गर्ने र सबैले त्यही मूल्यमा खरिद गर्न सजिलो हुने भएकाले उनीहरू एकै ठाउँमा भेला भएका हुन् ।


‘गाउँभरिका सबै भेला भएर यसैगरि सामान खरिद गर्छौ,’ स्थानीय सरिता चौधरीले भनिन्, ‘बिक्री गर्नेलाई पनि घर घरै डुल्न गाह्रो, हामीहरूलाई पनि मोलतोल गर्न सजिलो ।’ उनले सबैजना एकै ठाउँमा खरिद गर्ने हुँदा मोलतोल गर्न सजिलो र सामान पनि सस्तो पाइने बताइन् । सडक किनारमा लहरै जोडिएर बनेका घर । १०/१२ घरसम्म एउटै परिवार । कतिपय गाउँभरिमा समेत एउटै परिवारसमेत भेटिने थारू समुदाय सामुहिकतामै रमाइरहेको छ । चाहे खेतीपातीको काम होस वा मनोरञ्जन र विवाह व्रतबन्धका र चाडपर्व मनाउने कुरा सबै समुहमै रमाएर गरिन्छन् ।


किनबेच मात्रै होइन थारू समुदायमा अहिले पनि अधिकांश काम सामूहिक रूपमा गरिन्छन् । खेतीपाती लगाउँदादेखि गोडमेल र भित्र्याउदा सम्म सबै काम पालै पालो सामूहिक रुपमै गरिन्छ । ‘थारू समुदायमा अहिले पनि सामुहिकता बाचेको छ, जे काम पनि एक्लै गरिदैन’ सरिताले भनिन्, ‘यसले एकतासँंगै काम गर्न पनि सहज बनाउछ ।’ विवाह र व्रतबन्धको काममा पनि गाउँका सबैजना एकजुट भई सहयोग गर्छन् । दाउरा चिर्नेदेखि पात खोज्ने तथा निमन्त्रणा बाँड्नेसम्म सबै काम गाउँलेहरूले नै गर्छन् ।


विगतमा निमन्त्रणामा बेसार वा सुपारी बाँड्ने चलन थियो । त्यो घरघरै पुर्‍याउनुपर्थ्यो । अहिले कार्ड सिस्टम आएपछि घरघरै नपुगे पनि हुन्छ । ‘थारू समुदायमा राम्रो नराम्रो सबै काम समूहमै हुन्छ,’ अगुवा धनबहादुर कुश्मीले भने, ‘विवाह व्रतबन्ध मात्रै होइन कुनै व्यक्तिको मृत्यु हुँदा पनि त्यो परिवारलाई गाउँभरिका सबैले सहयोग गर्छन् ।’ अन्नबाली लगाउने वा भित्र्याउने बेला भए सबै गाउँले आएर काम गरिदिन्छन् । अन्न तथा आर्थिक रुपमा पनि सबैले सहयोग गर्ने गरेको उनले बताए ।


खेतीपाती, विवाह ब्रतबन्ध र मृत्यु आदि कार्यमा मात्रै होइन माछा मार्न पनि समूहमै जाने गर्छन थारू महिलाहरू । सामूहिक रुपमा निर्णय गरेर उनीहरू एकै ठाउँमा माछा मार्न जान्छन् । गाउँमा हुने मनोरञ्जनात्मक कार्यक्रम तथा पूजापाठको काम अहिले पनि समुहमै हुन्छ । थारू समुदायको अटवारी पर्व यसै साता मनाइयो । यसैगरि हरेरी तथा निकासीलगायत पर्व पनि वर्षायाममै पर्छन् । यी सबै सामूहिक रुपमै मनाइन्छ ।


‘यो थारूको मौलिकता र पहिचान हो’ शुक्लाफाँटा नगरपालिका ३ का अध्यक्ष नरेन्द्र चौधरीले भने, ‘हामी समूहमै रमाउछौं, समुहमै दुख सुख बाडछौं ।’ उनले परापूर्वकालदेखि नै सामूहिक क्रियाकलाप अझै चलिरहेको बताए । उनले काम मात्रै नभई अन्नको किनबेच समेतसंँगै गर्ने गरेको बताए । ‘पछिल्लो समय प्रविधिको प्रयोगले थारू समुदायमा पनि सामुहिक कामको चलन कम भएको महशुस भएको छ’ कुश्मीले भने, ‘विवाह ब्रतबन्धका काममा पनि आधुनिक चलनले परम्परा हराउँदै गयो ।’

प्रकाशित : भाद्र २०, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?