१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पहिरोले आउजाउमै जोखिम

ढुवानीको समस्या देखाएर स्थानीय व्यापारीहरूले महँगोमा सामान बेचिरहे पनि नियमन गर्ने निकाय मौन
मनोज बडू

दार्चुला — पहिरोले अहिले जिल्लाका विभिन्न क्षेत्रमा सडक अवरुद्ध भएका छन् । दार्चुला–तिंकर खण्डको पनि विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात ठप्प भएका छन् । यातायात सेवा अवरुद्ध भए पनि दुहु र व्यास गाउँपालिकाका बासिन्दा सदरमुकाम आवतजावत गर्ने वैकल्पिक बाटो नभएकाले पहिरोको जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ । 

पहिरोले आउजाउमै जोखिम

यहाँका बासिन्दा तिंकर सडकमै पैदल हिँडेर खलंगा पुग्नुपर्ने बाध्यता विगतदेखिकै हो । दुहुका सबै ठाउँका बासिन्दा तिंकर सडक भएरै खलंगा जानुपर्छ । ‘विभिन्न कामले सदरमुकाम नगई हुन्न । तर जोखिम छ,’ दुहु ५ गरमोराका उमेशसिंह महरले भने, ‘गाउँदेखि सदरमुकाम पुग्न भीरको बाटो छ । तिंकर सडकको ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले धेरै जोखिम छ ।’


माथिबाट ढुंगा खस्ने र हतारले हिँड्दा चिप्लिएर लड्ने डर उत्तिकै रहेको सर्वसाधारण बताउँछन् । स्थानीय उत्पादनले नधान्ने भएकाले दैनिक उपभोग्य वस्तु सदरमुकामबाटै नै ल्याएर पूर्ति गर्नुपर्छ । तर सदरमुकाम आउजाउ गर्न सर्वसाधारणलाई सकस परेको दुहु गाउँपालिका ३ का रमेशबहादुर बम बताउँछन् ।


सडक पुगेपछि दुहु र व्यासका बासिन्दा मौसमी मात्रै भए पनि राहत पाएका थिए । ‘अहिले विभिन्न ठाउँमा अवरुद्ध हुँदा ढुवानीमा समस्या भएको छ,’ उनले भने, ‘सुरुमा स्थानीय बासिन्दा आफैंले भारी बोकेर काम चलाउँदै आएका थिए । सडक पुगेपछि बानी छुट्यो । अहिले पुनः भारी बोक्नुपर्ने भएपछि समस्या भयो ।’ दुहु गाउँपालिकाको हिकिला, पीपलचौरी क्षेत्रमा ट्र्याक्टरसमेत नचल्दा चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने गरेको स्थानीय व्यापारीहरू बताउँछन् ।


चाडै सडक सञ्चालन नभए केहि दिनमै खाद्यान्न अभा चुलिने हिकिलाका शिवदत्त जोशीले बताए । ढुवानी समस्याले चिनी, साबुन, तेल सकिनै थालेको छ । ढुवानीको समस्या देखाएर स्थानीय व्यापारीहरूले महँगोमा सामान बेचिरहेका छन् । त्यस्तै यस क्षेत्रमा स्वास्थ्य सेवा नहुँदा जोखिम मोलेर उपचारका लागि सदरमुकाम जानुपर्छ । बिरामीलाई उपचार गर्न बाटोको जोखिम मोलेर जिल्ला अस्पताल पुर्‍याउनुपर्ने अवस्था रहेको दुहु गाउँपालिका १, पीपलचौरीका चक्रदत्त भट्टले बताए ।


विद्यार्थीहरूलाई विद्यालय पुग्न कठिनाइ

सडकमा पहिरो खस्ने भएकाले सबैभन्दा बढी प्रभावित विद्यार्थी छन् । सुन्सेरा, डोकट, नाजी, स्याकु, चुक्पानी, तिग्रमबाट हिमालय माध्यमिक विद्यालय हुती आउने गर्छन् । डोकट, नाजी, चुक्पानी र चन्दाकोटबाट दुर्गास्थान माध्यमिक विद्यालय स्याकुमा पढ्न आउने विद्यार्थीलाई आउजाउमा जोखिम रहेको हिमालय मावि हुतिमा कक्षा १२ अध्ययनरत सौरभसिंह विष्ट बताउँछन् ।


दार्चुला–तिंकर खण्डको दुहु गाउँपालिका १, पीपलचौरी, व्यास गाउँपालिकाको सुन्सेरासम्म विभिन्न ठाउँमा पहिरो खस्दा जोखिम मोलेर आवतजावत गर्न स्थानीय बाध्य छन् । व्यास गाउँपालिका ६ हुती, चन्दाकोट, स्याकु, धौलाकोट, नाजी, डोकट र सुन्सेरासम्मको सडकको विभिन्न ठाउँमा पहिरो खसेपछि आवतजावतमा समस्या रहेको दुर्गास्थान माविका शिक्षक नारददत्त भट्ट बताउँछन् ।


व्यास गाउँपालिकाको सुन्सेरासम्म तिंकर सडकको ट्र्याक खोलिए पनि दुहु गाउँपालिका ४, चल्त्यागाडासम्म मात्र अहिले सवारीसाधन चल्ने गरेका छन् । यो सडकको त्यहाँभन्दा माथिल्लो खण्डमा सवारी आवागमन पूर्णतः बन्द छ । चल्त्यागाडासम्म जिप र ट्र्याक्टर मात्र चल्छन् । जिप र ट्र्याक्टर यहाँसम्म चल्दा स्थानीयलाई सदरमुकाम आउजाउ र ढुवानीमा थोरै भए पनि राहत पुगेको दुहु गाउँपालिका ४, पोक्स्याका चन्द्रसिंह कार्कीको भनाइ छ ।


कतिपय विद्यार्थी पहिरोको जोखिमका कारण विद्यालय नआउने शिक्षक भट्ट बताउँछन् । राति बर्षाको भएको दिन नजिकका विद्यार्थी मात्र आउने गरेका छन् । व्यास गाउँपालिकाको केही भागमा सडक पुगे पनि बर्खामा पूर्ण बन्द भएको छ ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?