आन्तरिक विवादमै अल्झिए जनप्रतिनिधि, हुँदैन समन्वय

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले गत आवको खर्च र सम्पन्न भएका योजना सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्‍यो । नगर प्रमुख, उपप्रमुखदेखि केहि वडाध्यक्ष हलमा बसेका थिए । जब पत्रकार सम्मेलन सुरु भयो । वडाध्यक्षहरू उठेर बाहिरिए ।

आन्तरिक विवादमै अल्झिए जनप्रतिनिधि, हुँदैन समन्वय

उपस्थित भएकामध्ये आधा मात्रै हलमा रहे । ‘हामीसँग कुनै सल्लाहै नगरी कार्यक्रम आयोजना गरियो, कस्तो कार्यक्रम हो, के सार्वजनिक हुने हो केही थाहा छैन,’ नगरपालिकाका प्रवक्ता समेत रहेका वडा ७ का अध्यक्ष जगतबहादुर सिंहले भने, ‘त्यही भएर हामीहरू कार्यक्रमबाट बाहिरएका हौं ।’ उनले पछिल्लो समय नगर प्रमुखले वडाध्यक्षहरूलाई कुनै जानकारी नै नदिई कार्यक्रम गर्ने तथा योजनाहरू बनाउने गरेको आरोप लगाए ।


कार्यक्रमको सुरुमै उपप्रमुख तुलसी हमालले आफ्नो असन्तुष्टि पोख्न थालिन् । ‘यस वर्ष लक्षित वर्गको सबै वजेट कटौती भएको छ, त्यसमा मेरो असहमति भएको कुरा सुनवाइ नै भएन,’ हमालले भनिन्, ‘कार्यपालिका बैठकमा समेत मेरो सुनवाइ भएन, नगर प्रमुखले एकलौटी ढंगले लक्षित वर्गको योजना कटौती गरे ।’ उनले नगरसभामा समेत उक्त कुरा उठाउँदासमेत सुनवाइ नभएको बताइन् ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले सबै वडाध्यक्षलाई कार्यक्रममा बोलाइए पनि नआएको बताए । उनले कार्यक्रमबारे पनि सबैसँग सल्लाह गरिएको बताए । उनले योजना बाँडफाँड वा अन्य कार्यक्रममा कहीँ पनि कसैलाई पनि नछुटाएको बताए ।


लालझाडी गाउँपालिकामा त अध्यक्ष र उपाध्यक्षबिच एकपटक बोलचालै बन्द भयो । अध्यक्ष मदनसेन बडायकले उपाध्यक्ष हुँदा हुँदै पनि वडाध्यक्षलाई कार्यवाहक दिएपछि उक्त समस्या आएको हो । तर अहिले भने अवस्था विगतको तुलनामा सुधारोन्मुख छ । ‘सानोतिनो विवाद र समस्या त अहिले पनि छ, तर पहिले जस्तो बोलचालै बन्द भने छैन,’ लालझाडी गाउँपालिका उपप्रमुख सत्यदेवी महराले भनिन्, ‘अहिले सबै जनप्रतिनिधिबिचको सम्बन्ध राम्रो छ ।’


कार्यपालिकाको बैठकका विषयमा जानकारी नै नदिने । प्रमुखले उपप्रमुखलाई होच्याएर बोल्ने तथा कार्यपालिकामा प्रस्तुत हुने एजेन्डाबारे समेत जानकारी नै नहुने जिल्लाका केहि स्थानीय तहमा अहिले पनि जारी छ । खासगरि सवारी साधनको प्रयोग, योजना छनोट र बजेट बाँडफाँडमा प्रमुख र उपप्रमुख तथा वडाध्यक्षहरूबीच विवाद रहेको पाइन्छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख पुरुष छन् । उपप्रमुख महिला । महिला भएका कारण पनि बढी हेपिएको उपप्रमुखहरूको अनुभव छ ।


‘उपप्रमुखहरू भेट भएपछि सबैले आ–आफ्नो गुनासो पोख्नुहुन्छ,’ एक उपप्रमुखले भनिन्, ‘होच्याएर बोल्ने, कार्यक्रम तथा योजनाबारे जानकारी नदिने समस्या सबै ठाउँमा छ ।’ उनले प्रमुख र उपप्रमुखबीच मात्रै नभई अन्य जनप्रतिनिधिबिचको सम्बन्ध पनि बिग्रेको बताए ।


एउटै राजनीतिक दलबाट निर्वाचित प्रमुख तथा उपप्रमुख र वडाध्यक्षबीचको सम्बन्ध पनि ठीक नभएको उनले बताइन् ।

एक वर्षअघि जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख सहभागी एउटा कार्यक्रममा उपप्रमुखहरूले आफ्नो गुनासो नै पोखेका थिए । उनीहरूले अनुगमनका लागि सवारीसाधन नपाएको, प्रमुखबाट राम्रो व्यवहार नभएको र बोलीचालीमा समेत होच्याइने गरेको सार्वजनिक कार्यक्रममै भनेका थिए ।


जनप्रतिनिधिबीच मात्रै होइन कतिपय स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच पनि समन्वय अभाव देखिन्छ । खास गरी प्रमुख प्रशासकीय अधिकृतहरू नै नटिक्ने तथा जनप्रतिनिधिसँगको विवादका कारण तुरुन्तै सरुवा मिलाएर जाने प्रवृत्ति पनि बढदो छ । २ वर्षको अवधिमा ४/५ सम्म प्रमुख प्रशासकीय अधिकृत फेरिनु पनि यसको उदाहरण हो । कतै समायोजनका नाममा त कतै कर्मचारी र जनप्रतिनिधिबिच कुरा नमिल्दा सरुवा वा काज मिलाएर जाने क्रम अहिले पनि जारी छ ।


‘स्थानीय सरकार सञ्चालन ऐनमा सबैका अधिकारहरू उल्लेख छन्, त्यसो भएकाले जनप्रतिनिधिहरूबीच ठूलो विवाद हुनुनपर्ने हो,’ स्थानीय शासनका जानकार बिसनदेव जोशीले भने, ‘यहाँ योजना बाँडफाँड र नीतिगत भन्दा पनि स्रोत साधनको प्रयोगमा बढी विवाद देखिन्छ ।’ उनले आन्तरिक रुपमा विवाद हुँदा सुशासन र पारदर्शितामा असर पर्ने भएर सेवा प्रवाहसमेत प्रभावित हुने बताए ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?