कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ वर्षमा पनि बनेन पुल

मेनुका ढुंगाना

अछाम — बुढीगंगा नदीमा निर्माणाधीन चित्रे पुल ६ वर्ष पुग्दा पनि बनेको छैन । ०७० भदौमा सम्झौता भई ०७२ असारमा पुल बनाइसक्ने भनिए पनि अझै अलपत्रै छ । 

६ वर्षमा पनि बनेन पुल

सय मिटर लामो पुलका २ पिल्लर अझै अधुरै छन् । ठेकेदारको अनुरोधमा सुरुको सम्झौताअवधि असार मसान्तसम्म थप गरिएको थियो । सम्झौतापश्चात् पहिलो किस्ता रकम निकासा लिएर काम सुरु गरेको ठेकेदारले त्यसपछि काम रोकेको थिए । असार मसान्त आउनै लाग्दा पुलको छेउमा माटो कटानको काम हतारहतारमा गरी दोस्रो किस्ता रकम भुक्तानी लिएर पुनः काम ठप्प बनेको थियो ।


अनक/नन्देगडा र तुल्सी दुर्गा गरी ३ निर्माण कम्पनीले संयुक्त रुपमा सम्झौता गरिएको पुलको लागत स्टमेट भ्याटसहित ६ करोड ३६ लाख हो । स्थानीय स्तरमा कामको जिम्मा नन्देगडा कन्ट्रक्सनका सञ्चालक रामबहादुर बुढा हुन् । सय मिटर लम्बाइको उक्त पुलमा ५० प्रतिशत जति मात्र काम भए पनि ठेकेदारले २ चरणमा गरी १ करोड ८८ लाख ५५ हजार भुक्तानी लिइसकेको जिल्ला समन्वय समितिको लेखा शाखाले जनाएको छ । पुल निर्माण कछुवा गतिमा अघि बढ्दा स्थानीय सरोकारवाला आक्रोशित छन् ।


पुल निर्माणको काममा भइरहेको ढिलासुस्तीको आलोचना हुँदै आएको छ । जिल्लामा भएका छलफलमा सरोकारवालाले लापरवाही गर्ने ठेकेदारलाई कारवाहीका लागि पहल गर्नुपर्ने आवाज उठ्ने गरेको छ । तर, निर्माणको ठेक्का लिएर बेवास्ता गर्ने ठेकेदारलाई कानुनबमोजिम कारबाही गर्नेतर्फ सम्बन्धित निकायले आँट गरेको छैन ।


स्थानीय स्तरका सडक पुल कार्यक्रमअन्तर्गत निर्माण थालिएको उक्त पुल निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई कानुनबमोजिम कारबाही गर्न पहल गर्ने जनप्रतिनिधिहरूले बोल्ने गरेका भए पनि उनीहरूकै संरक्षणमा ठेकेदारले ढिलासुस्ती गरिरहेको आरोप स्थानीयस्तरमा लाग्ने गरेको छ ।


कार्यालयले पटकपटक ताकेता गर्दा पनि ठेकदारको चरम लापरबाही र गैरजिम्मेवारीपनका कारण पुल निर्माण अधुरै रहेको जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुँवरले बताए । ‘अहिले वर्षामा कामै भएको छैन । दसैंपछि मात्रै काम सुरु हुने देखिन्छ,’ उनले भने, ‘अहिले जिससको जिम्मेवारी पूर्वाधार विकास कार्यालयलाई गएको छ ।’

प्रकाशित : भाद्र १९, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?