सुदूरका पहाडमा स्क्रब टाइफस फैलिँदै

डीआर पन्त

डडेलधुरा — सुदूरका पहाडी जिल्लामा केही समययता स्क्रबटाइफसका बिरामीको चाप बढ्दै गएको छ । एक सातासम्म उपचार नपाए बिरामीको ज्यानै जोखिममा पर्ने स्वस्थ्यकर्मीहरू बताउँछन् ।

सुदूर पहाडी जिल्लाको एकमात्र सुविधा सम्पन्न डडेलधुरा अस्पताल । यहाँ भदौ सुरुदेखि स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । तस्बिर : डीआर/कान्तिपुर

‘१० दिनमा चेकजाँच गरिएका १ सय २० मध्ये २७ जनामा स्क्रब टाइफसको संक्रमणका बिरामी भेटिएका छन्,’ डडेलधुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसालले भने, ‘यति ठूलो संख्यामा बिरामी भेटिएको यो पहिलोपटक हो ।’


डडेलधुरा, बैतडी, दार्चुला र डोटीबाट उपचारका लागि आएका बिरामी चेकजांँच गर्दा स्क्रब टाइफसको संक्रमणले गम्भीर रुप लिन थालेको उनको भनाइ छ । भुसालले भने, ‘गत वर्ष असोज पहिलो सातासम्म ३३ जना यो रोगका बिरामी भेटिएका थिए ।’ गत वर्षको तुलनामा यो वर्ष भदौ पहिलो सातामै यति ठूलो संख्यामा बिरामी भेटिनु चिन्ताको विषय भएको उनले बताए ।


‘५ देखि ७ मिटर उचाइको झाडीमा वस्ने किर्नाको टोकाइबाट यो रोगको संक्रमण फैलिने गरेको पाइएको छ,’ ३ दशकदेखि सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा कार्यरत डा. शुभेषराज कायस्थले भने, ‘तराईमा डेंगु फैलिए जस्तै पहाडी जिल्लामा यो प्राणघातक रोग फैलिन थालेको हो ।’


घरनजिक, खेतबारी र जंगलमा हुने झाडीमा भएका किर्नाले मुसालगायत अन्य जीवजन्तु टोकेपछि मान्छेलाई टोक्यो भने रोगको संक्रमण फैलिने गरेको डा. कायस्थले जनाए । उनले भने, ‘साता दिनसम्म पनि उपचार सुरु हुन सकेन भने स्क्रबटाइफसका बिरामीको ज्यान जान सक्छ ।’ उनका अनुसार कलेजो, फोक्सो र मिर्गौलामा संक्रमण सुरु हुनुआगावै उपचार पाउन नसक्ने विरामीलाइ वचाउन सकिदैन । ‘एक सातासम्म उपचार पाउन नसके रक्त प्रणाली नै अवरुद्ध हुने गरि संक्रमण फैलिने गरेकाले यो प्राणघातक रोग मानिन्छ,’ उनले भने ।


स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांसपेसी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्ने जस्ता लक्षण देखापर्ने गरेको डडेलधुरा अस्पतालका प्रमुख डा. जितेन्द्र कंँडेलले वताए । उनले भने, ‘स्क्रब टाइफसको प्रमुख लक्षण छालामा घाउ देखिने भए पनि बढीजसो उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लामो समयदेखि टाउको दुख्ने, आंँखाको नानी दुख्ने सुख्खा खोकी लाग्ने ज्वरो आउने लक्षणका बिरामी वढी भेटिने गरेका छन् ।’


व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँंदा यो रोगको संक्रमण बढ्ने भएकाले शरिर ढाक्ने गरी लुगा लगाउने, खुला ठाउंँमा शौच नगर्ने र स्क्रब टाइफसका उल्लेखित लक्षणहरूमध्ये कुनै पनि देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा चिकित्सकसँंग परामर्श लिनुपर्ने उनले बताए ।


डडेलधुरा अस्पतालमा उपचार गराउन आएका बिरामीबाहेक दुर्गम क्षेत्रमा यस रोगवाट प्रभाबित निकै ठूलो संख्या हुन सक्ने अनुमान स्वास्थ्यकर्मीहरूको छ । बर्खाको मौसममा घर नजिकका खेतवारीमा समेत ठूल ठूला झाडी हुने भएकाले दुर्गम गाउंँकास्वास्थ्य संस्थालाइ यस बिषयमा आवश्यक सल्लाह र जानकारी दिन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले वताएका छन् ।


अधिकांश बिरामी उपचारका लागि भारतका सिमावर्ती क्षेत्रमा जाने गरेकाले पनि तथ्यांकमा यस रोगका बिरामी कम देखिएका हुन । स्वास्थ्यकर्मी प्रेमवहादुर महर भन्छन्, ‘समयमै रोगको प्रकोप कम गर्ने उपायको खोजी नगरिए महामारीको रुप लिन सक्छ ।’ दुर्गमका बिरामीले ज्वरोको सामान्य औषधि खाने, लामो समयसम्म पनि ठीक नभएपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिले पनि रोगको संक्रमण फैलिन थालेको उनले बताए ।


पहाडी क्षेत्रमा यो रोग प्रकोपको रुपमा फैलिन नदिन क्षेत्रिय स्वास्थ्य निर्देशनालयले आवश्यक पहल गरिरहेको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी बताउँछन् । प्राणघातक स्क्रवटाइफस प्रकोपका रूपमा फैलिन नदिन स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूलाईआवश्यक निर्देशन दिइएको पनि उनले वताए । प्रकाशित : भाद्र १८, २०७६ ०९:३९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्थानीय तहमै बिजुली उत्पादन तयारी

महाकाली किनारका जाख, बलडा, तोली, पत्रम, चुँडी, सायल, बलकाँडेलगायत गाउँमा सातामा मुस्किलले २ दिन मात्र बिजुली आउँछ
डीआर पन्त

डडेलधुरा — विद्युत् उत्पादनको सम्भावना रहेका नदी र खोला आफूसँग पनि रहेको भन्दै भागेश्वर गाउँपालिकाले प्रदेशशभाको क्षेत्र १ लाई अँध्यारोमुक्त बनाउने तयारी गरेको छ । त्यसका लागि उसले विभिन्न योजनामार्फ विद्युत उत्पादनको योजना पनि अघि सारेको छ ।

‘अबका ३ वर्षमा गाउँपालिका भित्र बग्ने नदी र खोलामा विद्युत् उत्पादन गर्ने तयारी गरिरहेका छौं,’ गाउँपालिका प्रमुख कौशिला भट्टले भनिन्, ‘तत्काल विद्युत लाइन पुर्‍याउन नसकिने ठाउँमा सोलार र वैकल्पिक ऊर्जा प्रयोग गरि अध्यारो मुक्त बनाउने योजनामा काम भइरहेको छ ।’ राष्ट्रिय प्रशारण लाइनमार्फत गाउँगाउँमा विद्युतिकरण गर्ने योजना रहेको उनले बताइन् ।

गाउँपालिका प्रमुख भट्ट भन्छिन्, ‘हाम्रो बजेटले मात्र सम्भव नभएका कारण थोरै लगानीमा धेरै ठाउँमा विद्युत उत्पादन हुनसक्ने प्रचुर सम्भावना भएकाले लगानीकर्ताको खोजीसमेत सुरु गरिएको छ ।’ यस विषयमा गाउँपालिकाले विभिन्न निकायसँग सहकार्य र समन्वयसमेत गरिरहेको उनले बताइन् ।

हुन पनि सदरमुकामपछि जिल्लामा पहिलोपटक आफ्नै गाउँमा उत्पादन गरी बिजुली बलेको भागेश्वर गाउँपालिकामै हो । साबिक रुपालको रुद्रावती रुपालीगाडबाट साना जलविद्युत् आयोजना निर्माणगरि पहिलोपटक जिल्लामा विद्युत् उत्पादन सुरु भएको हो । तर ४ वर्षयता रुपालका बासिन्दा विद्युत् उपभोग गर्नबाट वञ्चित छन् । कुनै समय आफ्नै गाउँमा निर्माण भएको साना जलविद्युत् आयोजनावाट विद्युत उपभोग गरिरेहका स्थानीय राष्ट्रिय प्रशारण जोडिएपछि उपभोग गर्न स्थानीय वञ्चित थिए ।

विद्युतको राष्ट्रिय प्रशारण लाइन जोडिएपछि साना जलविद्युत पनि बन्द भएको थियो । राष्ट्रिय प्रशारण लाइन बिग्रेको बिग्रियै हुन थालेपछि सर्वसाधारणले वषौंदेखि उपभोग गर्दै आएको सेवाबाट पनि वञ्चित हुनुपरेको हो । महाकाली किनाराका जाख, बलडा, तोली, पत्रम, चुँडी, सायल, बलकाँडेलगायत दुर्गम गाउँमा सातामा मुस्किलले २ दिन बिजुली आउँछ । सदरमुकामदेखि अजयमेरु गाउँपालिका हुँदै भागेश्वर गाउँपालिकाको बगरकोट भएर झन्डै डेढ सय किमि लामो विद्युत लाइन रुपाल पुग्दासम्म ठाउँठाउँमा समस्या उत्पन्न भएर विद्युत उपभोग गर्नबाट वञ्चित हुनुपरेको हो ।

रुपालका बासिन्दा मात्र होइन कुनै समय आफ्नै गाउँमा उत्पादन भएको विद्युत् उपभोग गरिरहेका साविक बगरकोटको लेक क्षेत्रका बासिन्दाको अवस्था पनि उस्तै छ । राष्ट्रिय प्रशारण लाइन विस्तार भएसँगै गाउँमा उत्पादन हुने लघु जलविद्युत बन्द भएपछि यस क्षेत्रका बासिन्दाले पनि निकै सास्ती भोग्नुपरेको छ । विज्ञहरूका अनुसार भागेश्वर गाउँपालिकाकामा बग्ने आधा दर्जन बढी नदी र खोलामा थोरै लगानीमा धेरै विद्युत् उत्पादन गर्न सक्ने प्रचुर सम्भावना नभएका होइनन् ।

यसबारे पटकपटक अनुसन्धान र अध्ययन पनि भए । भागेश्वर गाउँपालिकाभित्र बग्ने सतमूला तथा गणिका नदी, चुल्लगाड, सिराडी गाड, रुपालीगाडसहितका आधा दर्जन खोला र नदीमा विद्युत उत्पादनका लागि पटकपटक धेरै सम्भाव्यता अध्ययन भए । कुनै समय विद्युत् उत्पादन गर्ने भन्दै सबै नदी र खोला व्यक्तिका नाममा दर्ता पनि भए तर अहिलेसम्म विद्युत उत्पादन त परै जाओस अध्ययनपछि कसैलै फर्केर पनि हेरेन । गाउँपालिकाका अधिकांश दुर्गम क्षेत्रका बासिन्दा अहिले पनि टुकी र सल्लाको दियालोले उज्यालो बनाउन बाध्य छन् ।

‘विगतमा सम्भाव्यता अध्ययन भएका ठाउँमा मात्र नभइ थप सम्भाब्यता अध्ययन गरी साना तथा लघु जलविद्युत योजना निर्माण गर्ने तयारीमा गाउँपालिका रहेको छ’ गाउँपालिका प्रमुख भट्टले भनिन् ‘विगतमा अध्ययन भएका गणिका र सतमूला नदीको संगम, सतमूला नदीको खुल्लाखेत क्षेत्र, गणिका नदीको दोगाड क्षेत्र, रुपालीगाडबाट पहिले विद्युत उत्पादन भइरहेको क्षेत्र र साविक बगरकोटको चुल्ल गाडलगायतका विद्युत उत्पादन हुनसक्ने सम्भावना भएका क्षेत्रमा पुन अध्ययन सुरु गरिने छ ।’ यस अघि भएका अध्ययनले पनि यस क्षेत्रमा सस्तो मूल्यमा विद्युत उत्पादन हुन सक्ने सम्भावना देखाएको छ ।

‘भागेश्वर गाउँपालिकामा बग्ने नदी र खोलामा उत्पादन हुनसक्ने विद्युतले पुरै क्षेत्रलाई सस्तोमा अँध्यारोमुक्त क्षेत्र बनाउन सकिने धेरै सम्भावना छन्’ जल विद्युतका क्षेत्रमा २ दशकदेखि कार्यरत एकजना इन्जिनियर रामएकवाल सिंहले भने ‘गाउँपालिकामा बग्ने ३ वटा प्रमुख नदीका ४ ठाउँबाट एकएक मेगावाट विद्युत उत्पादन सहज उत्पादन हुन सक्छ ।’

साना जलाशय निर्माण गरेर थप ३ ठाउँबाट १.५० डेढ मेगावाट विद्युत् उत्पादन हुन सक्ने सम्भावना रहेको पनि उनले जानकारी दिए । सिंहले भने, ‘१२ करोडदेखि १८करोडसम्मको लागतमा यी नदीहरूमा विद्युत् उत्पादन हुनसक्ने सम्भावना छ ।’ यसमा थपअध्ययन र अनुसन्धान गर्न बाकी रहेको उनले बताए ।

जलविद्युत् क्षेत्रका वरिष्ठ इन्जिनियर मणि दहाल पनि भौगोलिक अवस्था, नदीको वहाव र हिउँदमा हुने पानी हेरेर यस क्षेत्रमा विद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको बताउँछन् । बरिष्ट इन्जिनियर दहालले भने ‘स्थानीय तहले जनतासँग मिलेर पब्लिक साझेदारीमा यस्ता लघु जलविद्युत आयोजनाहरू सुरु गर्नसके पुरै जिल्लालाई आवश्यक पर्ने विद्युत उत्पादन हुनसक्ने सम्भावना देखिएको छ ।’

प्रकाशित : भाद्र १०, २०७६ ०८:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×