सुदूरका पहाडमा स्क्रब टाइफस फैलिँदै

डीआर पन्त

डडेलधुरा — सुदूरका पहाडी जिल्लामा केही समययता स्क्रबटाइफसका बिरामीको चाप बढ्दै गएको छ । एक सातासम्म उपचार नपाए बिरामीको ज्यानै जोखिममा पर्ने स्वस्थ्यकर्मीहरू बताउँछन् ।

सुदूरका पहाडमा स्क्रब टाइफस फैलिँदै

‘१० दिनमा चेकजाँच गरिएका १ सय २० मध्ये २७ जनामा स्क्रब टाइफसको संक्रमणका बिरामी भेटिएका छन्,’ डडेलधुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसालले भने, ‘यति ठूलो संख्यामा बिरामी भेटिएको यो पहिलोपटक हो ।’


डडेलधुरा, बैतडी, दार्चुला र डोटीबाट उपचारका लागि आएका बिरामी चेकजांँच गर्दा स्क्रब टाइफसको संक्रमणले गम्भीर रुप लिन थालेको उनको भनाइ छ । भुसालले भने, ‘गत वर्ष असोज पहिलो सातासम्म ३३ जना यो रोगका बिरामी भेटिएका थिए ।’ गत वर्षको तुलनामा यो वर्ष भदौ पहिलो सातामै यति ठूलो संख्यामा बिरामी भेटिनु चिन्ताको विषय भएको उनले बताए ।


‘५ देखि ७ मिटर उचाइको झाडीमा वस्ने किर्नाको टोकाइबाट यो रोगको संक्रमण फैलिने गरेको पाइएको छ,’ ३ दशकदेखि सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा कार्यरत डा. शुभेषराज कायस्थले भने, ‘तराईमा डेंगु फैलिए जस्तै पहाडी जिल्लामा यो प्राणघातक रोग फैलिन थालेको हो ।’


घरनजिक, खेतबारी र जंगलमा हुने झाडीमा भएका किर्नाले मुसालगायत अन्य जीवजन्तु टोकेपछि मान्छेलाई टोक्यो भने रोगको संक्रमण फैलिने गरेको डा. कायस्थले जनाए । उनले भने, ‘साता दिनसम्म पनि उपचार सुरु हुन सकेन भने स्क्रबटाइफसका बिरामीको ज्यान जान सक्छ ।’ उनका अनुसार कलेजो, फोक्सो र मिर्गौलामा संक्रमण सुरु हुनुआगावै उपचार पाउन नसक्ने विरामीलाइ वचाउन सकिदैन । ‘एक सातासम्म उपचार पाउन नसके रक्त प्रणाली नै अवरुद्ध हुने गरि संक्रमण फैलिने गरेकाले यो प्राणघातक रोग मानिन्छ,’ उनले भने ।


स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांसपेसी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्ने जस्ता लक्षण देखापर्ने गरेको डडेलधुरा अस्पतालका प्रमुख डा. जितेन्द्र कंँडेलले वताए । उनले भने, ‘स्क्रब टाइफसको प्रमुख लक्षण छालामा घाउ देखिने भए पनि बढीजसो उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लामो समयदेखि टाउको दुख्ने, आंँखाको नानी दुख्ने सुख्खा खोकी लाग्ने ज्वरो आउने लक्षणका बिरामी वढी भेटिने गरेका छन् ।’


व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँंदा यो रोगको संक्रमण बढ्ने भएकाले शरिर ढाक्ने गरी लुगा लगाउने, खुला ठाउंँमा शौच नगर्ने र स्क्रब टाइफसका उल्लेखित लक्षणहरूमध्ये कुनै पनि देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा चिकित्सकसँंग परामर्श लिनुपर्ने उनले बताए ।


डडेलधुरा अस्पतालमा उपचार गराउन आएका बिरामीबाहेक दुर्गम क्षेत्रमा यस रोगवाट प्रभाबित निकै ठूलो संख्या हुन सक्ने अनुमान स्वास्थ्यकर्मीहरूको छ । बर्खाको मौसममा घर नजिकका खेतवारीमा समेत ठूल ठूला झाडी हुने भएकाले दुर्गम गाउंँका स्वास्थ्य संस्थालाइ यस बिषयमा आवश्यक सल्लाह र जानकारी दिन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले वताएका छन् ।


अधिकांश बिरामी उपचारका लागि भारतका सिमावर्ती क्षेत्रमा जाने गरेकाले पनि तथ्यांकमा यस रोगका बिरामी कम देखिएका हुन । स्वास्थ्यकर्मी प्रेमवहादुर महर भन्छन्, ‘समयमै रोगको प्रकोप कम गर्ने उपायको खोजी नगरिए महामारीको रुप लिन सक्छ ।’ दुर्गमका बिरामीले ज्वरोको सामान्य औषधि खाने, लामो समयसम्म पनि ठीक नभएपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिले पनि रोगको संक्रमण फैलिन थालेको उनले बताए ।


पहाडी क्षेत्रमा यो रोग प्रकोपको रुपमा फैलिन नदिन क्षेत्रिय स्वास्थ्य निर्देशनालयले आवश्यक पहल गरिरहेको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी बताउँछन् । प्राणघातक स्क्रवटाइफस प्रकोपका रूपमा फैलिन नदिन स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूलाई आवश्यक निर्देशन दिइएको पनि उनले वताए ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?