कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सुदूरका स्थानीय तहमा कर्मचारी अभाव

अछाम र बैतडी — सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराले स्थानीय बासिन्दादेखि जनप्रतिनिधिसम्म सबै हर्षित भएका थिए । तर गठन भएका २ वर्ष पूरा हुँदासमेत स्थानीय तहमा छिटोछरितो काम हुन सकेको छैन ।

सुदूरका स्थानीय तहमा कर्मचारी अभाव

कर्मचारी अभावले अछाम र बैतडीका जनप्रतिनिधिहरूले काम गर्न अप्ठ्यारो भएको बताउँदै आएका छन् ।


कर्मचारी समायोजनले अछामका स्थानीय तहहरूमा कर्मचारी अभाव छ । जसले गर्दा दैनिक कामकाज ठप्प भएको जनप्रतिनिधिहरूले बताएका छन् । अछामका १० स्थानीय तहमध्ये अहिले कतिपय स्थानीय तहमा कर्मचारी अभावका कारण दैनिक कार्यालय सञ्चालनमासमेत समस्या देखिएको छ ।


कतिपय स्थानीय तहमा हाल प्रशासकीय प्रमुखसमेत छैनन् । यस्ता ठाउँमा झन् समस्या भएको जनप्रतिनिधिहरूले बताए । १० स्थानीय तह रहेको अछामका पञ्चदेवल विनायक नगरपालिकाका १० वडामा एकजना पनि वडासचिव नहुँदा कामकाज प्रभावित बनेको नगर प्रमुख देवराज देवकोटाले बताए ।


दुई वर्षसम्म कर्मचारीकै व्यवस्थापन भएन

‘कर्मचारी नहुँदा काम गर्न अप्ठ्यारो छ,’ नगर प्रमुख देवकोटाले भने, ‘नगरपालिकामा भएका कर्मचारी अन्य ठाउँमा समायोजन भएर गए । तर यहाँ दुर्गम भनेर कोही आउन चाहदैनन् ।’ अहिले जनप्रतिनिधिहरूले नै कर्मचारीको काम गरिरहेको उनको भनाइ छ ।


ढकारी गाउँपालिकाभर जम्मा २ वडा सचिव मात्रै छन् । कर्मचारी अभावकै कारण कुन क्षेत्रमा कस्ता कार्यक्रम र योजना बनाउने, बजेट विनियोजन कसरी गर्ने भन्ने समस्याकाबीच गाउँसभा भएको हो । ‘वडामा सचिव छैनन् । महिला तथा बालबालिका शाखा, लेखा फाँट कर्मचारीविहीन छन् । कृषि शाखाको जिम्मेवारी स्थानीयलाई दिएका छौं,’ गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउँदले भनिन्, ‘तोकिएको समयमा गाउँसभा गर्न सकिँदैन । जनप्रतिनिधिले मात्रै केही गर्न सक्दैनन् ।’


तुर्माखाँद गाउँपालिकाले भने वडा–सचिव नहुँदा अन्य शाखाका कर्मचारीलाई वडा कार्यालयको जिम्मा दिएको छ । गाउँपालिका उपाध्यक्ष अमृता बुढाका अनुसार कर्मचारी समायोजनपछि कार्यसम्पादन गर्न चुनौती थपिएको छ । ‘दुई/तीन कर्मचारी भएको शाखाबाट कर्मचारी झिकेर खाली रहेका वडाको जिम्मा दिएका छौं,’ उनले भने ।


कर्मचारी भेटिनै मुस्किल

बैतडीको पुरचौडी नगरपालिका ३ का लक्ष्मण धामी स्थानीय सरकार आइसकेपछि जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य हुने आशामा थिए । घर नजिकैबाट काम हुने भन्दै खुसी भएका उनले सोचेजस्तो अवस्था भने हालसम्म आएन । उनी वडा वा पालिकामा जाँदा कामको लागि साता दिन कुर्नुपर्ने अवस्था रहेको सुनाउँछन् । धेरैदिन रित्तै फर्किएको सुनाउँदै भने, ‘नजिकको सरकार भएर के गर्नु ? समयमै काम हुँदैन । सेवाग्राहीहरू गएको बेला कर्मचारीहरू भेटिन मुस्किलै पर्छ ।’


पुर्चौडी नगरपालिका ५ का वासुदेव भट्टले पनि कर्मचारीहरू नभेटेर हैरान हुनुपरेको सुनाए । उनले भने, ‘पालिकामा कर्मचारीहरू नै कम छन् । कसरी हामीले सेवा पाउछौं त ?’


जिल्लाका सबै स्थानीय तहमा कर्मचारी अभाव छ । १० स्थानीय तह रहेको जिल्लाका सबै पालिकामा कर्मचारीहरू छैनन् । ६ वडा भएको शिवनाथ गाउँपालिका सचिवविहीन छन् । प्राविधिक सहायकको भरमा वडा चलाइरहेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।


सदरमुकामका दशरथचन्द नगरपालिका पनि कर्मचारीहरूको अभाव झेलिरहेको छ । ११ वडा भएको पालिकामा ४ वडा वडा सचिवविहीन छन् । ५ नम्बरका सचिवको पनि समायोजन अन्तै भएकाले उनी पनि केही दिनमै जाने अवस्थामा छन् । कुनै सचिव २ वटा वडा हेर्न बाध्य भएका छन् । यस्तै कुनै वडामा पालिकाका कर्मचारीहरू खटाएको पालिकाले जनाएको छ ।


सिगास गाउँपालिकाका अधिकांश वडामा पनि सचिव छैनन् । प्राविधिक सहायकको भरमा काम चलाइरहेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । प्रमुख प्रसाशकीय अधिकृत र १ लेखापालका भरमा पालिका चलिरहेको उनले बताए । अन्य काम करारका कर्मचारी राखेर गराइरहेको उनको भनाइ थियो । पाटन नगरपालिकाका वडाहरूमा पनि सचिव छैनन् । १० वडा भएको पालिकाका ४ वडा सचिवविहीन छन् । पालिकामा पनि कृषि शाखामा कार्यरत कर्मचारीहरू छैनन् ।


सुर्नया, दोगडाकेदार, पञ्चेश्वर, डिलाशैनी गाउँपालिका, मेलौली र पुरचौडी नगरपालिकामा पनि अधिकांश दरबन्दीका कर्मचारी छैनन् । सबैभन्दा धेरै अभाव वडा सचिवहरूको रहेको जनप्रतिनिधिहरू बताउँछन् । कर्मचारीहरूको अभावले धेरै असजिलो बनाएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताउँछिन् ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?