३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भूत जात्राको तयारी पूरा 

डडेलधुरा — अनौठो जात्राका रूपमा प्रसिद्ध डडेलधुराको रुपालमा हरेक तेस्रो वर्षमा हुने भूत जात्रा यसपटक भने महोत्सवका रूपमा मनाइने भएको छ । भदौ १९ मा हुने जात्राको तयारीका पूरा भएको छ ।

सदरमुकाम देखि ५० किमि टाढा रहेको जात्रा स्थलसम्म जाने मोटर बाटो सफा गर्ने, जात्रा स्थलमा सरसफाइदेखि पुरै रुपाल गाउँ सजाइएको छ । भागेश्वर गाउँपालिका केन्द्र वगरकोट देखि रुपालसम्मको नयाँ ट्रयाक खुलेको सडक मर्मत गर्न गाउँपालिकाले साताअघि देखि काम सुरु गरेको छ ।


‘३ वर्षअघिको जात्रामा सहभागी दर्शनार्थी आधारमा यस वर्ष ७० हजार बढी सहभागी हुने अनुमान गरिएको छ,’ जात्रा आयोजक मूल समिति सदस्य रमेश जोशीले भने, ‘यस वर्ष जात्रास्थलसम्मै मोटरवाटो पुगेको हुँदा दर्शनार्थीको सहभागीता धेरै हुन सक्ने अनुमान गरिएको छ ।’ हरेक तेस्रो वर्ष हुने जात्रामा तराईका कैलाली र कञ्चनपुर, भारतको उत्तराखण्ड राज्यको चम्पावत, पिथौरागढ, तामली, लोहाघाट तथा सीमावर्ती बैतडीको तल्लो स्वराड र डोटीबाट समेत हजारौंको सहभागिता हुने गरेको छ ।


‘राजा नागी मल्लको समयमा ७ सय वर्षअघि सुरु भएको जात्रामा ६४ वटा भूतको पूजा हुने गरेको छ,’ स्थानीय समाजसेवी टंकप्रसाद जोशीले भने, ‘नजिकै रहेको महाकाली नदीमा माछा मार्ने क्रममा जालमा परेका ६४ भूत रोकिएको ठाउँमा जात्रा हुने गरेको छ ।’ सुनी जातका दलित समुदायले अनौठा जीव फेला पारेपछि तत्कालीन राजा नागी मल्ल कहाँ लैजाँदै गर्दा जात्रा स्थलमा पुग्दा उज्यालो भएकाले भूतहरू त्यही बसेको किंबदन्तीअनुसार जात्रा हुने गरेको जोशीले बताए ।


महाकाली नदीमा रहेको महासमसानबाट ल्याएको माटोले पूजा लाग्ने परम्परा रहेको जात्रामा विशेष गरि बिभिन्न देवी देउताका चैत र धुमारी खेल्ने परम्परासमेत छ । ‘बिहान ११ बजेदेखि साँझ अँध्यारो नहुँदासम्म हजारौं मान्छे जोगेनी डाँडामा दौडिरहेको दृश्य नै अद्भूत र आश्चर्यजनक हुन्छ,’ रुपाल गाविसका पूर्वअध्यक्ष नरबहादुर ठकुराठीले भने, ‘हजारौं पुरुष महिला, वृद्ध र बालबालिका दिनभर दौडिरहँदा पनि कसैलाइ चोटपटक लागेको अहिलेसम्म सुन्नमा आएको छैन ।’ दौडिने सबैमा अद्भूत शक्ति प्रदान हुने र त्यसैले कुनै दुर्घटना नहुने गरेको धार्मिक बिश्वास रहेको पनि ठकुराठीले बताए ।


तराई र सीमावर्ती भारतीय क्षेत्रबाट जात्रामा आउने दर्शनार्थीका लागि यस वर्ष विशेष व्यवस्थासमेत मिलाइएको छ । यातायातको सुविधा भएका कारण अधिकांश दर्शनार्थी साँझ जात्रा सकेर फर्किने भए पनि टाढाबाट आएकालाई आवासको व्यवस्था पनि मिलाइएको आयोजक समितिले जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?