कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लोप हुँदै कला र सीप

डीआर पन्त

डडेलधुरा — उनी आरनमा बस्न थालेको ९० वर्ष हुन थाल्यो । ८ वर्षको उमेरमा पहिलोपटक उनले आरन चलाउन सुरु गरेका हुन् । ‘बुबा घरमा नभएको मौका पारी पहिलोपटक हँसिया बनाउन सुरु गरेको हुँ,’ कालु टमटाले झन्डै शताब्दीअघिको कुरा सम्झँदै भने, ‘मैले बनाएको हँसिया देखेपछि कसैले विश्वासै गरेनन् ।’

लोप हुँदै कला र सीप

डडेलधुरा डुगरीका टमटाहरूले बनाएका तामा पित्तलका सामान भारतको टनकपुरसम्म प्रख्यात रहेको उनले बताए । ‘दार्चुला, बैतडी, बझाङ हुँदै बाजुरा, अछाम र डोटीसम्म हामीले बनाएका सामान बिक्री हुन्थ्यो,’ उनी भन्छन्, ‘अब त सम्झनामा मात्र रहे त्यो सीप, हाम्रै पुस्तासम्म सीमित भयो । समयसँगै हाम्रो पेसा पनि विस्तारै लोप हुन थालेको छ ।’


डेढ दशकदेखि राजमार्गछेउ टिनको छाप्रो बनाएर महादेवले आरन चलाउन सुरु गरेका हुन् । यसअघि उनी गाउँमै आरन चलाउँथे । तामा पित्तलका मूर्ति र देवीदेउतामा चढाउने सामान बनाउने उनी कलाकार पनि हुन् । उनका बुबा वीरभान कुनै समय तामा पित्तलको कामका लागि प्रख्यात थिए । ‘पुर्ख्यौंली पेसा धान्न निकै कठिन भइसकेको छ,’ महादेवले भने, ‘हामीले बनाउने सामानभन्दा कम्पनीबाट बनेर आएका सामान सस्तोमा पाउन थालेपछि बिस्तारै यो पेसावाट धेरै पलायन हुन थाले ।’


देवी देउताका लागि चाहिने भाँडाकुँडा, मूर्ति, जात्रामा प्रयोग हुने बाजा, मन्दिरमा चढाउने सामानसमेत कम्पनीबाटै बनेर आउन थालेपछि पछिल्लो पुस्ता पेसाबाट टाढिँदै जान थालेको उनले बताए ।


आफ्नो समयका यी दुवै डडेलधुरामा तामा पित्तल, काँस र फलामका सामान बनाउने दुर्लभ सीप भएका ३ हजार बढी परिवारमध्येका हुन् । जसमा अधिकांश यो पेसाबाट पलायन भइसकेका छन् । हुन पनि कुनै समय सुदूर र मध्यपश्चिम मात्र नभई कुमाउँसम्म डडेलुधरामा उत्पादन भएका तामा, पित्तल र काँसका भाँडाकुडाको ठूलो व्यापार हुन्थ्यो ।


‘विभिन्न ठाउँमा हुने जात्रामा वर्षभर हामीले बनाएका सामान पुग्थे,’ कालु भन्छन्, ‘गिलास, लोहोटा, थाल, करुवा, गाग्री, कराही, हुक्का, हँसिया, बन्चरो, तरबार, खाना पकाउने भाँडाकुँडा र देवी–देउतालाई चढाउन चाहिने सामान ठूलो मात्रामा बाहिर जान्थ्यो ।’ कैलाली र कञ्चनपुर सडक यातायातसँग नजोडिँदासम्म डडेलधुरामा उत्पादन हुने यी सबै सामान भारतको कुमाउँसम्म निर्यात हुन्थे ।


‘डडेलधुराबाट जोगबुढा हुँदै टनकपुरमा सामान भण्डारण हुन्थ्यो,’ ४० वर्ष अघिसम्म तामा पित्तलको कारोबार गर्ने नवदुर्गाका नारायण टमटा भन्छन्, ‘कुमाउँतिर जाने सामान टनकपुरसम्म र बैतडी दार्चुला बझाङ जाने सामान बैतडीको पाटनसम्म पुर्‍याउने काम गर्थें ।’


उनले त्यतिबेला सय किलो सामान टनकपुर पुगाएको ९ रुपैयाँसम्म बुझेको बताउँछन् । उनले भने, ‘३०/४० भरियासहित धेरैपटक टनकपुर पुगेको छु ।’ उनका अनुसार ०४२ सम्म उनले यही काम गरेका हुन् ।’ त्यसपछि ब्यबसाय पनि कम हुदै गयो बुढो पनि हुँदै गए अब त सय पुग्न ८/१० वर्ष वाँकी होला,’ उनले भने ।


बैतडीको मेलौली, डडेलधुराको उग्रतारा, दार्चुला गोकुलेको शिवरात्रि, अछामको वैद्यनाथमा हुने जात्रा र भारतको धार्चुलाको जौलजीवी मेलामा ठूलो मात्रामा डडेलधुरामा बनेका सामान बिक्री हुने मुख्य केन्द्र थिए । जात्रा सुरु हुन साताअघि देखि नै सामान बोकाएर व्यापारी जात्रा स्थलमा पुगिसक्थे । दर्जनौंपटक जात्रामा पुगेका नारायण सम्झिन्छन्, ‘अहिलेको जस्तो भए हिसाब–किताब राख्थे हुंँला त्यतिवेला कति व्यवसाय भयो अनुमान छैन ।’


नेपाल एकीकरण गर्दै आएको गोर्खाली फौजसँग लड्न डोटेली फौजका लागि बन्दुक बनाउने आफ्नै पुर्खा रहेको शिक्षक धनबहादुर टमटा बताउँछन् । ‘दैनिक उपभोग्य भाँडाकुँडा मात्र होइन हाम्रो समुदायभित्र अजयमेरु, डुगरी, हाट, दमडा, वेलापुर खुनी, कोटेली र सतीगाउँमा आज पनि दुर्लभ सीप भएका व्यक्ति जीवित छन्,’ उनले भने । आफ्नै देशमा भएको सीप आधुनिकीकरण गरि निर्माणमा लगाउनु भन्दा वाहिरको सामान आयातमा प्रोत्साहन हुन थालेपछि दलित समुदायसँग भएको सीप लोप हुन थालेको उनले बताए ।


पछिल्लो समय ९० प्रतिशत भन्दा वढी घरमा स्टील र गिलटका भाँडाले ठाउँ लिएको छ । कहिं कतै मात्र काँसका थाल, तामाका गाग्री, फलामका खाना पकाउने भाँडा र पित्तलका सामान देख्न पाइन्छ । टोलमा टोलमा भारतीय मूलका व्यवसायीहरू सस्तो मूल्य पर्ने गिलटका भाँडा पुगाउन थालेपछि स्थानीय उत्पादन बन्द जस्तै भएको छ ।


चाड पर्व र धार्मिक कार्यमा मात्र तामा पित्तल र काँस प्रयोग हुन थालेको छ । कबाडीको ब्यबसाय गर्नेहरू गाउं–गाउं पुगेर भएका तामा पित्तल र काँसका भाँडाकुँडासमेत खरिद गरि कच्चा पदार्थका रुपमा भारत निकासी गर्न थालेका छन । ‘बजारमा स्थानीय उत्पादन नाम मात्रको आउँछ,’ डडेलधुराका व्यवसायी राजेन्द्र जोशीले भने, ‘पुस्ता हस्तान्तरणसँगै स्थानीय उत्पादन पनि लोप हुने अवस्थामा पुगेको छ ।’


पहिले तामा पित्तलका भाँडासँगै जुत्ता पनि भारत निर्यात

तामा पित्तल र फलामको सीप भएका समुदाय मात्र होइन डडेलधुरामा बनेका जुत्ताको पनि कुनै समय ठूलो ब्यापार थियो । ‘हाटको पाउलो भन्ने उखान नै छ,’ दलित अगुवा धनी सार्कीले भने, ‘अजयमेरु गाउँपालिकाको हाट गाउँका सार्कीले बनाएको जुत्ता पनि ठूलो मात्रामा वाहिर जान्थ्यो ।’


उनकाअनुसार घरपालुवा जनावरको छालाले वनाएका जुत्ता सस्ता हुन्थे भने वन्यजन्तुका छालावाट वन्ने जुत्ता सर्वसाधारणले लगाउन सक्दैनथे । ‘ठूला, धनीमानीले मृग र दुर्लभ वन्यजन्तुको छालाको जुत्ता वनाउन टाढा–टाढाबाट छाला लिएर मान्छे पठाउँथे’।


‘जात्रा मेलामा बिक्री हुने जुत्ताका लागि वर्ष दिन अगाडी नै माग हुने उनले बताए । वर्षका ८ महिना जुत्ता वनाउने र ४ महिना डोटी गौंडाका बडाहाकिम एकजना राणाले काठमाडौं फर्केपछि पनि धेरै वर्षसम्म जुत्ता बनाउन साबरको छाला पठाउने गरेको उनले सम्झना गरे ।


‘कुनै समय आफुले वनाएका सामान विक्री गर्न भारत जाने दलितका सन्तान पछिल्लो समय दुइछाक टार्न रोजगारीका लागि भारत छिर्न बाध्य भएका छन्,’ स्थानीय दलित नेता सन्तोष जैरु भन्छन्, ‘सामानको सहज उपलब्धताले मात्र दलितहरूमा रहेको परम्परागत सीप लोप हुन थालेको होइन,राज्यको नीति र नेतृत्वको अदुरदर्शीताले गर्दा दलितहरू सर्जकबाट चौकीदार वन्न वाध्य भएका हुन ।’


दलितको परम्परागत सीपका विषयमा अनुसन्धान गरेका प्राध्यापक भरतराज पन्त दलितमा रहेको सीप र कलालाई आधुनिकीकरण गरि उत्पादनमा लगाउने हो भने आधाभन्दा वढी आवश्यक वस्तुमा मुलुक आत्मनिर्भर हुन सक्ने दावी गर्छन ।


‘कुनै समय दलितले वनाएका सामानको निर्यात हुन्थ्यो,’ उनी भन्छन्, ‘राज्यले नीति वनाएर दलितका सीपको उपयोग गर्ने हो भने निर्यात गर्न नसके पनि देश चाँडै यस्ता वस्तुमा आत्मनिर्भर हुन सक्छ ।’ आर्थिक कारणले समाजको मूलधारमा अझै पनि समेटिन नसकिएका दलितहरूको विकास र उत्थानका लागि उनीहरूको सीपको आधुनीकीकरणबाहेक अर्को विकल्प नभएको पनि उनले बताए ।


डडेलधुराको कुल जनसंख्यामध्ये २१ प्रतिशत दलित छन् । त्यसमध्ये पनि फलाम तामा पित्तलको परम्परागत काम गर्ने समुदायको ८ प्रतिशत जनसंख्या रहेको छ । ग्राम्य विकास तथा अनुसन्धान केन्द्रका अनुसार परम्परागत सीप नभएका दलित नै छैनन् । केन्द्रका अनुसन्धानकर्ता खेम उपाध्यायले भने, ‘सुदूरका दलित वस्तीमा अहिले पनि अद्भूत कला र सीप भएकाहरू प्रशस्त भेटिन्छन् ।’


अद्भुत कला र सीपका धनी दलितका सन्तानले जुन रुपमा आफ्नो पुर्ख्यौर्ली सीप छोड्दै जान थालेका छन यसले केही वर्षमै परम्परागत सीप, कला लोप भएर जाने उनले वताए ।


डडेलधुरा, बैतडी, दार्चुला, अछाम र बझाङका १७ ठूला दलित बस्तीमा गरिएको एक सर्भेक्षणमा ६१ प्रतिशत युवा घरबाहिर छन् । उपाध्यायले भने, ‘१७ प्रतिशत युवा अन्य पेसामा संलग्न छन भने वाँकी गाउंघरमा सामान्य पेसा गर्दै आएका छन् ।’


घरबाहिर रहेका ६१ प्रतिशत युवामध्ये ९५ प्रतिशतभन्दा बढी रोजगारीका लागि छिमेकी भारतका विभिन्न सहरमा कार्यरत छन् । बाँकी तेस्रो मुलुकमा छन् । ‘परम्परागत सीपलाई व्यावसायिक रुपमा प्रयोग गरिरहेका दलित युवाको संख्या नगन्य जस्तै छ,’ उपाध्यायले भने, ‘डडेलधुराका महादेव टमटा जस्ता व्यावसायिक काम गरिरहेका युवाको संख्या सर्भे गरिएका दलित बस्तीमा एक दर्जन पनि छैन ।’


परम्परागत सीप र कलाका धनी दलितहरूका विषयमा सरकारसँग भने कुनै तथ्यांकसमेत छैन । प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी यस विषयमा सरकारसँग कुनै तथ्यांक नभएको बताउँछन् । उनी भन्छन्, ‘दलितको विकासका लागि थुप्रै कार्यक्रम मन्त्रालयले बनाइरहेको छ । तथ्यांक लिने काम पनि भइरहेको छ, मन्त्रालयसँग अहिलेसम्म कुनै तथ्यांक छैन ।’

प्रकाशित : भाद्र १७, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?