अट्वारीको अग्रासन 

गणेश चौधरी

टीकापुर — दिदीबहिनी र दाजुभाइबीच मायाप्रेम हुन्छ नै । यसलाई अझ प्रगाढ बनाउन सहयोगी बनेको छ थारु समुदायले मनाउने ‘अटवारी’ पर्वको अग्रासन ।

अट्वारीको अग्रासन 

माइतीमा रहेका दाजुभाइले पराई घर गएका आफ्ना दिदीबहिनीलाई दिने ‘अटवारी’ को ‘अग्रासन’ (कोसेली) माया, ममता र स्नेहको प्रतीक मानिन्छ । आइतबारको व्रतपछि त्यही कोसेली पुर्‍याएर पश्चिम तराइका थारु समुदाय दाजुभाइ दिदबिहिनीमा मायाप्रेम साटासाट गरे ।


अटवारीका व्रतालुहरू रोटीका विभिन्न परिकार एवं फलफूल बोकेर आफ्ना दिदी–बहिनीलाई कोसेली दिन जान्छन् । जसलाई थारु भाषामा ‘अग्रासन’ भनिन्छ । जानकी गाउँपालिका ३ की सोनकेशरी थारुले भनिन्, ‘माइतीको अग्रासन आउदा मन खुसी हुन्छ ।’

थारुहरूका अनुसार दिदीबहिनीका लागि छुट्याएको अग्रासन पर्वको दोस्रो दिन (सोमबार) दिन जान्छन् । दिदीबहिनीले पनि आफ्ना दाजुभाइलाई मीठो–मसिनो खुवाएर पठाउने गर्छन् ।


दाजुभाइ पनि जतिसक्यो चाँडो दिदीबहिनीको घरमा अग्रासन पुर्‍याउन आतुर रहन्छन् । यो पर्वमा दिनभरी ब्रत बसेर साँझ भान्साभन्दा फरक कोठा ‘बहरी’ मा कमेरो, गाईको गोबरले लिपेर पवित्र तरिकाबाट रोटी पकाएर व्रत पूरा गर्ने परम्परा छ । पूजाका लागि पकाइने रोटी नफर्काएरै पकाउने चलन छ । जसलाई थारुहरू रोट भन्ने गर्छन् । यो रोटी पूजाका लागि अलग्गै राख्नुपर्छ । रोटी पकाउँदा व्रत बसेकाबाहेक अरुहरू त्यो ठाउँ जान वा छुन पाउँदैनन् ।


यस्तो रोटी पकाउनलाई चोखो आगोको जरुरी हुन्छ । यसका लागि गन्यारी भन्ने काठबाट निकालिएको आगोले रोटी पकाउने र त्यही आगोलाई घिउ, रोट, दही, काँक्रा, केरा, अम्बालगायत फलफूलले अग्नि देवतालाई अर्पण गरी आफ्ना दिदी बहिनीहरूका नाममा ‘अग्रासन’ छुट्टाएर यो पर्व मनाइन्छ । टीकापुर १ का बडघर जितबहादुर चौधरी भन्छन्, ‘थारु समुदायले यो पर्वमा अग्निलाई देवता मानेर पुजा गर्ने र भ्यावाँ (भीम) को पजा गर्छौं । आगो पनि शक्ति हो र भीम पनि बलियो मानिएकाले उनको पूजा गरिएको हो । यसको पुजाले शक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ ।’


अटवारी पर्वको भोलिपल्ट बिहान भात तरकारी पनि अग्नि देउतालाई चढाउने र पकाएको खाना पनि अग्रासनका रुपमा छुट्याइसकेपछि खाने चलन छ । यो पर्वमा सुकाइएको माछा (सिद्रा), गेडागुडी र साग अनिवार्य हुनुपर्ने थारु समुदायका मानिसहरू बताउछन् ।


कृष्ण जन्माष्टमी मनाइसकेपछि दोस्रो आइतबारका दिन यो पर्व मनाउने चलन रही आएको छ । सुदुरपश्चिम प्रदेश सरकारले यो पर्वको अवसरमा आइतबार सुदुरपश्चिमभरी सार्वजनिक बिदा घोषणा गरिएको थियो ।

प्रकाशित : भाद्र १६, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?