अट्वारीको अग्रासन 

गणेश चौधरी

टीकापुर — दिदीबहिनी र दाजुभाइबीच मायाप्रेम हुन्छ नै । यसलाई अझ प्रगाढ बनाउन सहयोगी बनेको छ थारु समुदायले मनाउने ‘अटवारी’ पर्वको अग्रासन ।

माइतीमा रहेका दाजुभाइले पराई घर गएका आफ्ना दिदीबहिनीलाई दिने ‘अटवारी’ को ‘अग्रासन’ (कोसेली) माया, ममता र स्नेहको प्रतीक मानिन्छ । आइतबारको व्रतपछि त्यही कोसेली पुर्‍याएर पश्चिम तराइका थारु समुदाय दाजुभाइ दिदबिहिनीमा मायाप्रेम साटासाट गरे ।

अटवारीका व्रतालुहरू रोटीका विभिन्न परिकार एवं फलफूल बोकेर आफ्ना दिदी–बहिनीलाई कोसेली दिन जान्छन् । जसलाई थारु भाषामा ‘अग्रासन’ भनिन्छ । जानकी गाउँपालिका ३ की सोनकेशरी थारुले भनिन्, ‘माइतीको अग्रासन आउदा मन खुसी हुन्छ ।’
थारुहरूका अनुसार दिदीबहिनीका लागि छुट्याएको अग्रासन पर्वको दोस्रो दिन (सोमबार) दिन जान्छन् । दिदीबहिनीले पनि आफ्ना दाजुभाइलाई मीठो–मसिनो खुवाएर पठाउने गर्छन् ।

दाजुभाइ पनि जतिसक्यो चाँडो दिदीबहिनीको घरमा अग्रासन पुर्‍याउन आतुर रहन्छन् । यो पर्वमा दिनभरी ब्रत बसेर साँझ भान्साभन्दा फरक कोठा ‘बहरी’ मा कमेरो, गाईको गोबरले लिपेर पवित्र तरिकाबाट रोटी पकाएर व्रत पूरा गर्ने परम्परा छ । पूजाका लागि पकाइने रोटी नफर्काएरै पकाउने चलन छ । जसलाई थारुहरू रोट भन्ने गर्छन् । यो रोटी पूजाका लागि अलग्गै राख्नुपर्छ । रोटी पकाउँदा व्रत बसेकाबाहेक अरुहरू त्यो ठाउँ जान वा छुन पाउँदैनन् ।

यस्तो रोटी पकाउनलाई चोखो आगोको जरुरी हुन्छ । यसका लागि गन्यारी भन्ने काठबाट निकालिएको आगोले रोटी पकाउने र त्यही आगोलाई घिउ, रोट, दही, काँक्रा, केरा, अम्बालगायत फलफूलले अग्नि देवतालाई अर्पण गरी आफ्ना दिदी बहिनीहरूका नाममा ‘अग्रासन’ छुट्टाएर यो पर्व मनाइन्छ । टीकापुर १ का बडघर जितबहादुर चौधरी भन्छन्, ‘थारु समुदायले यो पर्वमा अग्निलाई देवता मानेर पुजा गर्ने र भ्यावाँ (भीम) को पजा गर्छौं । आगो पनि शक्ति हो र भीम पनि बलियो मानिएकाले उनको पूजा गरिएको हो । यसको पुजाले शक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ ।’

अटवारी पर्वको भोलिपल्ट बिहान भात तरकारी पनि अग्नि देउतालाई चढाउने र पकाएको खाना पनि अग्रासनका रुपमा छुट्याइसकेपछि खाने चलन छ । यो पर्वमा सुकाइएको माछा (सिद्रा), गेडागुडी र साग अनिवार्य हुनुपर्ने थारु समुदायका मानिसहरू बताउछन् ।

कृष्ण जन्माष्टमी मनाइसकेपछि दोस्रो आइतबारका दिन यो पर्व मनाउने चलन रही आएको छ । सुदुरपश्चिम प्रदेश सरकारले यो पर्वको अवसरमा आइतबार सुदुरपश्चिमभरी सार्वजनिक बिदा घोषणा गरिएको थियो ।

प्रकाशित : भाद्र १६, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तीजमा स्थानीय तहको साथ

गीतमार्फत महिलाले भोगिरहेका समस्या, पीडा, हिंसा, छाउपडी कुप्रथा, मदिरा, बालविवाहलगायत सामाजिक कुपरम्पराबारे प्रस्तुति देखाइयो
मेनुका ढुंगाना, संगीता तिमिल्सेना 

अछाम र बाजुरा — सहर–बजारमा मात्र होइन, गाउँगाउँमा तीजको रौनक छ । केहि वर्षयता धुमधाम साथ मनाउन थालिएको तीजमा अछाम र बाजुरामा स्थानीय सरकारले आर्थिक सहयोग गरी थप उमंग बनाइदिएका छन् । 

अछामका १० स्थानीय तहमध्ये सबैमा महिलालाई दर खुवाउनेदेखि तीज प्रतियोगितासम्म गरिएका छन् । बाजुरामा पनि त्यस्तै छ । टोलदेखि वडा हुँदै गाउँ तथा नगर स्तरीय प्रतियोगिता हुन थालेपछि महिलाहरू पनि खुसी देखिन्छन् ।

मंगलसैनमा शनिबार नगपालिकाले आयोजना गरेको तीज विशेष प्रतियोगितामा १३ समूह सहभागी भए । कसैले गीत गाए । कसैले नृत्य देखाए भने कसैले देउडामार्फत नै प्रतियोगितामा सहभागिता जनाए । ती सबैका लय र भाकामा महिलाले भोगिरहेका समस्या, पीडा, हिंसा, छाउपडी कुप्रथा, मदिरा, बालविवाहलगायत सामाजिक कुपरम्पराले महिलालाई पारेको समस्याबारे प्रस्तुति देखाएका थिए ।

केही वर्षअघिसम्म सदरमकाुम क्षेत्रका महिलाहरूले मात्रै तीजमा रमाइलो गर्थे । ‘गाउँतिर तीजबारे खासै थाहा थिएन,’ प्रतियोगितामा सहभागी मंगलसैन नगरपालिका २ की खन्टी विकले भनिन्, ‘योपटक मंगलसैनमै आएर आफ्ना दुःख समस्यालाई गीत र नाचबाट देखाउन पाउँदा खुसी छौं । योपटक त हामीलाई पनि तीज लाग्यो ।’ प्रतिस्पर्धा गर्न नगरका विभिन्न गाउँबाट आएका महिलाहरूलाई जमघट र भेटघाट गर्ने मौका मिलेको उनको भनाइ छ ।

‘जनप्रतिनिधि आएपछि महिलाका कुरा सुन्नुपर्‍यो । हाम्राबारेमा पनि बोल्नुपर्‍यो भनेर गीतमार्फत पनि सुनायौं,’ मंगलसैन ६ की नामसरा भण्डारीले भनिन्, ‘सबै महिलाको प्रस्तुतिमा दुःख, पीडा, हिंसाका कुरा मात्रै आएका छन् । यसले पनि महिलाको अवस्थाबारे थाहा हुन्छ । यी कुराबाट नगरले पनि केही बुझोस् भन्ने चाहन्छौं ।’

कार्यक्रमका सहभागी मंगलसैन ७ की पार्वती ढुंगानाले हराउँदै गएको मौलिकतालाई यस्तै कार्यक्रम गरी संरक्षण गर्नुपर्ने बताइन् । ‘३ महिनाअघि नै तीजका गीत आउन थालेपछि धेरैले आफ्नो मौलिकता बिर्सिएका छन् । दिदीहिनी एकै ठाउँमा बसेर गाउने, आफ्नै गीत सिर्जना गर्न बिर्सएका छन् । वेशभूषा, कला संस्कृतिको संरक्षण गर्नलाई पनि यस्ता प्रतियोगिता हुनुपर्छ,’ उनले भनिन्, ‘एक दिन बजार आउन नपाउने महिलाका लागि यो अवसर पनि हो ।’

नगरभित्रका महिलालाई बोलाएर तीजका अवसरमा प्रतियोगिता गर्दा महिलालाई हौसला मिलेको मंगलसैन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले बताइन् । ‘महिलालाई बोलाएर दर नै खुवाउन सक्ने अवस्था थिएन । त्यसैले तीज विषेश प्रतियोगिता गरेका हौं,’ उनले भनिन् । उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत चालु आवको पहिलो कार्यक्रम तीजकै अवसर पारेर सुरु गरेको उनले बताइन् । मंगलसैन नगरपालिकाले तीज प्रतियोगिताको लागि ५० हजार खर्च गरेको छ ।

यस्तै चौरपाटी गाउँपालिकाले पनि तीज विषेश प्रतियोगिताको लागि १ लाख २० हजार खर्च गरेको प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद ढुंगानाले बताए । यस्तै साँफेबगर नगरपालिकाले अन्तरपार्टी महिला सञ्जाललाई तीज प्रतियोगिता गर्न ५० हजार दिएको र १४ वटा वडालाई जनसंख्याको आधारमा रकम दिएको नगरउपप्रमुख बिर्मला बुड्थापाले बताइन् ।

उता बाजुराका स्थानीय तहहरूले पनि तीजका कार्यक्रमहरूलाई आर्थिक रुपमै सघाएका छन् । बडिमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाले पनि तीज विशेष कार्यक्रमको आयोजना गरेका छन् । त्रिवेणी नगरपालिकाले तीज विशेष कार्यक्रममा ९ वटै वडालाई रकम उपलब्ध गराएको छ । प्रत्येक वडामा १० हजारका दरले नगर प्रवक्ता प्रेम थापाले बताएका छन् । उनले भने, ‘सबै मग्र रुपमा तीज विशेष कार्यक्रमका लागि १ लाख १५ हजार खर्च भएको छ ।’

बुढीगंगा नगरपालिकाले पनि तीज विशेष कार्यक्रमको आयोजना गरी ५० हजार खर्च गरेको उपप्रमुख तारा खातीले बताइन् । ‘सम्पूर्ण नगरपलिकाका महिलाहरूलाई शुक्रबार बोलाएर तीज मनाएका छौं,’ उपप्रमुख खातीले भनिन् । बडिमालिका नगरपालिकाले तीज विशेष कार्यक्रमको आयोजना गरी प्रसाद ग्रहण मात्र गरेको जनाएको छ ।

बुढीनन्दा, जगन्नाथ, स्वामिकार्तिक, र हिमालीले तीज विशेष कार्यक्रममा सघाएका छन् । बुढीनन्दा नगरपालिका ३ का धनबहादुर बोहराले भने, ‘पहिला पहिला तीज अलि ठीकै हुन्थ्यो, अहिले स्थानीय तहले रकम विनियोजन गर्न थालेपछि धेरै भड्किलो भयो । आर्थिक अवस्था कमजोर भएका महिलाहरूका लागि समस्या हुने गरेको देखिन्छ ।’

प्रकाशित : भाद्र १६, २०७६ १०:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT