पारिश्रमिक नपाएको उजुरी 

निर्मला खडायत

(धनगढी) — काम लगाएर ज्याला नदिनेविरुद्ध श्रम कार्यालयमा उजुरी दिने क्रम बढेको छ । काममा लगाउने तर पारिश्रमिक दिन आलटाल गर्ने प्रवृत्तिमा वृद्धि भएको कार्यालयले जनाएको छ । यहाँका उद्योग तथा होटलमा काम गर्ने कामदारले कामअनुसारको पारिश्रमिक पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।


श्रम कार्यालय धनगढीमा ३ वर्षको अवधिमा २२ जना कामदारले कामअनुसारको पारिश्रमिक नपाएको भन्दै उजुरी दिएका छन् । ‘चालु आर्थिक वर्षको पहिलो एक महिना साउनमा पारिश्रमिक नपाएको भन्दै ७ जना कामदारको उजुरी परेको छ,’ कार्यालयका सूचना अधिकारी जयदेव विष्टले भने । श्रम कार्यालयमा दर्ता भएका अधिकांश उजुरीको फछर्योट भइसकेको उनले बताए । चालु आर्थिक वर्ष प्राप्तमध्ये एउटा उजुरी फछर्योट भइसकेको छ भने अन्य उजुरीका आधारमा सम्बन्धित उद्योग तथा प्रतिष्ठानलाई परिपत्र गरिसकेको उनले बताए ।


‘पारिश्रमिक नपाएको भन्दै उजुरी दिने अधिकांश श्रमिकसँग न नियुक्तिपत्र हुन्छ, न त पारिश्रमिक तोकिएको कागजपत्र नै,’ उनले भने, ‘यसले गर्दा सम्बन्धित कम्पनीबाट असुलउपर गराउन पनि असहज हुने गरेको छ ।’ उनले श्रमिकले नियुक्तिपत्र र सरकारले तोकेको ज्यालाका आधारमा काम गर्नुपर्ने सुझाव दिए । बिष्टका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका १५ उजुरीमध्ये ३ वटा उजुरी फछर्यौट हुन सकेका छैनन् । आवश्यक प्रमाण नलिएर उजुरी दिँदा त्यस्ता श्रमिकहरूलाई पारिश्रमिक दिलाउन समस्या हुने गरेको छ । ‘कतिपय अवस्थामा पारिश्रमिक नपाएको भन्दै उजुरी दिने र पछि पारिश्रमिक पाइसकेपछि पनि कार्यालयलाई जानकारी दिने गरिएको हुँदैन,’ उनले भने, ‘यसले गर्दा उजुरीकर्ताले पारिश्रमिक पायो या पाएन भन्ने लगत पनि राख्न समस्या हुने गरेको छ ।’


श्रमिकहरूको पारिश्रमिक पाएको नपाएको विषयमा उजुरी लिँदै आएको श्रम कार्यालयमा पछिल्लो समय लेनदेनका पनि उजुरी आउन लागेको छ । यस्ता मुद्दा श्रम कार्यालयको क्षेत्राधिकारभित्र नपर्ने भए पनि श्रमिक थाहा नपाएर अलमलिने गरेका हुन् । अदालतले हेर्ने विषयका उजुरी आएपछि आवश्यक सल्लाह दिएर पठाउने गरेको उनले बताए ।


सुदूरपश्चिम प्रदेशमा नियुक्तिपत्र लिएर काम गर्ने र बैंकमार्फत पारिश्रमिक वितरण गर्ने प्रणालीको विकास हुन नसकेको उनको भनाइ छ । ‘आर्थिक वर्ष ०७५/७६ मा प्रदेशका ५३ वटा उद्योग प्रतिष्ठानमा हामीले अनुगमन तथा निरीक्षण गरेका थियौं,’ उनले भने, ‘कतिपय ठूला उद्योगले श्रमसम्बन्धी नियम पालना गरेको पाइए पनि अधिकांशले त्यो व्यवस्था लागू गरेको पाइएन ।’


प्रकाशित : भाद्र १५, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?