२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मानसिक रोगीलाई सहारा घर 

घोडाघोडी — मानसिक सन्तुलन गुमाएर बिचल्ली परेकाहरूका लागि कैलालीको बर्दगोरिया –२ मा एउटा आश्रय स्थल छ । नाम हो सहारा घर । सडक जीवन बिताइरहेकाहरूलाई यहाँ आश्रय दिइएको छ । 
स्थानीयवासी बलबहादुर विष्टले आफ्नै प्रयासमा सञ्चालन गरेको सहारा घरमा अहिले ४४ जना मानसिक रोगी छन् ।

‘मानसिक सन्तुलन गुमेकाहरू राम्रोसँग खान र बस्न पाएपछि छोटो समयमै स्वास्थ्य हुँदै गएका छन्,’ उनले भने, ‘सुरुका केही दिन बानी पार्न निकै कठिनाइ हुन्छ, केही दिनमा स्वस्थ हुँदै गएपछि सबैले आफ्नो काम आफै गर्छन् ।’ सडक जीवन बिताउादै आएका एक वृद्धको कीरा परेको घाउको उपचार गरेपछि त्यस्ता बेवारिसेको स्याहार गर्ने सोच आएको उनले बताए ।


वर्षदिन अघि कैलालीको लम्की सडकमा मानसिक सन्तुलन गुमाएको अवस्थामा भेट्टाएर सहारा घरमा ३५ वर्षीय महेश कुँवरलाई लगिएको थियो । बैतडीको पुचौडी–८ का उनी घर झगडापछि मानसिक सन्तुलन गुमाएर सडकमा भौतारिदै लम्की पुगेका थिए । विष्टले सडकमा भौतारिने गरेको देखेर आश्रय दिए । समय बित्दै गयो र केशव पनि सहारा घरको माया, ममताले गर्दा पहिले जस्तै सामान्य अवस्थामा नै फर्किए । उही केशव अहिले मानसिक सन्तुलन गुमाएर सहारा घरमा बस्दै आएकाहरूको सहारा बनेका छन् । सबैको स्याहार सुसार गर्न पाउँदा आफूलाई छुट्टै आनन्द आउने उनी बताउँछन् । ‘म पनि पहिला यस्तै अवस्थामा गुज्रिएर आएको हुँ, सहारा घरको माया स्नेहले बिना उपचार म निको भएँ,’ उनले भने, ‘अब म पनि यही बसेर बलबहादुर दाइ जस्तै अरूको सेवा गर्छु ।’ अहिले केशव यहाँ आश्रितका लागि भरपर्दा सेवक छन् । मानसिक सन्तुलन गुमाएर भौतारिएको अवस्थामा भेटेर यहाँ ल्याइएकाको लागि उनले नुहाइदिनेदेखि खाना पकाएर खुवाउने कामसमेत गर्छन् ।


सहारा घरमा बस्ने लम्कीको चुहा–१ थकालीपुरकी सुनिताको भोगाइ कहालीलाग्दो छ । मानसिक सन्तुलन गुमाएर सडकमा हिड्दै गर्दा बौनिया प्रहरीले उनलाई सहारा घरमा पुर्‍याए । उनका दुई छोरा र दुई छोरी थिए । करिब १२ वर्षदेखि मानसिक रोगको सिकार भइन । अहिले उनी निको भएकी छन् । उनी पनि यही रहेर आश्रितको सेवा गर्छिन् ।

प्रकाशित : भाद्र १५, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?